Tuesday, October 24, 2017

मेरो सम्पूर्ण जीवन गवाही-(संस्मरण)

March 18, 2015 8:43 pm by: Category: Testimonials A+ / A-

(विगतमा छिटफुट संस्मरण लेखेर आफ्नो गवाहीको पाटो कोरेकै हुँ तर आज यहाँ सविस्तार म कसरी प्रभुमा डोर्याईएँ भन्ने कुरा व्यक्त गर्दैछु, त्यसैले प्रस्तुत छ ‘मेरो सम्पूर्ण जीवन गवाही’ |)

‘चाहे दाखको बोटमा कुनै फूल नफूलोस्,
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्,

मैले निश्चय गरेको छु रमाउन येशुमा,
मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा |’

५०४ नं.को उक्त भजन गाउँदा सुरुसुरुमा मलाई खल्लो लाग्थ्यो | ‘म प्रभुमा भौतिक अवस्थामा सुधारको निम्ति नै आएकी थिएँ, तब मेरो भौतिक अवस्थामा सुधार नभएपनि म कसरी उहाँमा रमाउन सक्छु र ? म उहाँमा विश्वास त गर्छु तर म मेरो वर्तमान अवस्थाका कारण रमाउन सक्दिनँ, अहँ कदापी सक्दिनँ |’ यसरी म एउटा स्वार्थी तर्क पेश गर्थें | मेरो इच्छा हुन्थ्यो आम मानिसझैं हिंड्ने वा दगुर्ने, हिंड्न सके टुटेका मेरा सांसारिक सपनाहरु पुन:तन्ग्रिने थिए अनि मैले पनि केही गरी देखाउने थिएँ तर मेरो इच्छा प्रभुको इच्छासित कहिल्यै मेल खाएन | मेरा इच्छा, प्रभुका इच्छा हुन सकेनन्, त्यसैले म छटपटाइरहें | मैले कस्तो मज्जाले भुलें कि येशुले क्रुशमा टाँगिनुभन्दा अघि विचलित भएर के भन्नुभएको थियो, ‘प्रभु ! हुनसक्छ भने यो कचौरा मदेखि हटाइदिनोस् तर मेरो होइन प्रभु ! तपाईकै इच्छा पूरा होस् |’

साँच्ची भन्दा मैले प्रभुको इच्छालाई कहिल्यै बुझ्न चाहिनँ अथवा बुझ्न त चाहें तर मेरो आफ्नै स्वार्थमय रहर पूरा नहुने देखेर म अत्तालिएँ | म प्रभुसित यसरी गन्गनाइरहन्थें, ‘म अरुजस्तो हिंड्न पाउनु तपाईको इच्छा नभए म कसरी रमाउँ ? त्यो समय अझै आएको छैन भने कहिले आउँछ त ? बुढी भएपछि ? त्यतिबेला बल्ल चंगाई भए म त तपाईप्रति धन्यवादी हुन्न जा लौजा ! अहिले पढ्ने, काम गर्ने, कमाउने बेलामा चंगाई नमिले गाला चाउरी परेको बेलामा चंगाई पाएर के काम ? भो ! बरु मेरो प्राण अहिल्यै नै लैजानुस् तर मलाई यसरी शारीरिक रुपमा अशक्त भएर उमेर पाकुन्जेल बाँच्नु छैन | मलाई त अचेल आत्महत्या गर्न पनि डर लाग्छ प्रभु ! किनकि बल्ल-तल्ल तपाईलाई चिनियो तर जीवन जिउने कला चिनिएन, हिजो पनि यो हृदय व्याकुल थियो र आज पनि त्यस्तै छ, कहिले यो व्याकुलताबाट छुटकारा पाउने प्रभु……….?’

हरेक कुराको समय छ भनेर हितोपदेशमा बताइएझैं मेरा यी व्याकुलताको पनि समय रहेछ जसलाई आज फर्केर हेर्दा मैले त कत्रो पहाड छिचोलेर आइछुजस्तो लाग्छ | आज म प्रभुप्रति हृदयमा सम्पूर्ण श्रद्धा र समर्पण लिएर यो गवाही लेख्दैछु जुन पहिल्यै लेख्न वा भन्न मेरो कलममा मसी नै थिएन भन्दा हुन्छ | कसैले मलाई ‘आफ्नो गवाही सुनाऊ न’ भन्दा मलाई कताकता अप्ठ्यारो लाग्थ्यो र भित्र कतै दुखेजस्तो हुन्थ्यो | कारण त्यतिबेला म मेरो गवाही अपूर्ण रहेको मान्थे र म मेरो शारीरिक चंगाई भएपछि मात्र यो गवाही पूर्ण होला र लेख्न सकूँलाजस्तो लाग्थ्यो | तर परमेश्वरलाई प्रशंसा होस्, आज मैले यही अवस्थामै आफ्नो गवाही पूर्ण भएको अनुभव गरेकी छु र जसलाई लेख्न मेरो कलममा प्रशस्त मसी भेटेकी छु |

म सानैदेखि पढाइ-लेखाइमा अब्बल थिएँ | मेरो पढाइ एकदम राम्रो भएकोले मेरा बाबा मेरो प्रशंसा गर्नुहुन्थ्यो र मलाई राम्ररी पढेर डाक्टर बन्न हौसला दिनुहुन्थ्यो | म मेरा ममीबालाई आदर गर्थें र उहाँहरुको सपना पूरा गर्नु मेरो कर्तव्य ठान्थें | त्यसैले पढाइलाई नै मैले मेरो जीवनको लक्ष्य बनाएकी थिएँ | म धेरै समय खेल्न डुल्नमा भन्दा पढ्नमा नै बिताउँथें | मलाई सानैदेखि किताबसितै माया बस्यो भन्दा हुन्छ | म समयको महत्वलाई बुझ्थें, अहिलेको समय पढ्ने समय हो, त्यसैले यसलाई खेर फाल्नुहुन्न भन्ने मेरो विचार थियो, त्यसैले म साथीभाइसित त्यति खेल्दा पनि खेल्दिनथें अनि रमाइलो गर्नु त परै जाओस्, मेरो हातमा जतिखेर पनि कापी र कलम नै हुन्थ्यो | म कक्षामा सधै दोस्रो हुन्थें र मेरो उद्देस्य प्रथम हुनु हुन्थ्यो | म कसैसित झगडा गर्दिनथें बरु कसैले गाली गरेपनि चुपचाप सहेर बस्थें र क्लासमा सबैसित मिल्थें | तर विधिको विडम्बना भनूँ, ‘जो होंचो, उसकै मुखमा घोंचो’ भन्ने उखान मेरो जीवनमा पनि लागु भयो |

म कक्षा-५ मा पढ्दादेखि बिस्तारै मेरो आँखा कम्जोर भयो जसले गर्दा मैले पावरवाला चस्मा लगाउनुपर्ने भयो | चस्मा त सबैले लगाउने हुनाले आँखाको कमजोरी मेरो चिन्ताको विषय भएन | तर कक्षा-७ देखि मेरो कान पनि कम्जोर हुन थाल्यो, साथीभाईले गिजाउन थाले अनि पछाडिको बेन्चमा बसे सरले बोलेको पनि नबुझिने हुन थाल्यो | मलाई झट्टै सरहरुलाई मेरो मर्का भन्न पनि मन लागेन | कानको कमजोरीले गर्दा १३ वर्षको त्यो कलिलो उमेरदेखि एक्ला-एक्लै रुना थालें | ‘मलाई किन यस्तो हुँदैछ हे भगवान !’ भन्दै रुन्थें तर समय घर्किदै गएपछि मैले आफैलाई सम्हालें, म पढाइमा पुन:समर्पित भएँ | दुनियाँ डाक्टरलाई देखाएपछि मेरो कानको भित्रि नशा सुकेछ र यसको उपचार कतै पनि छैन भन्ने जवाफ आयो | तर म दुःखी भइन किनकि मैले पढाइमा प्रगति गर्न कानले छेक्न सक्दैन भन्ने कूरा बुझिसकेथें | त्यसपछि चाहिं सरहरूलाई पनि आफ्नो मर्का भनेर सधै क्लासमा अघिल्लो बेन्चमा नै बस्न थालें र मलाई कानको कमजोरीले पढाइमा बाधा हाल्न सकेन |

फेरी कक्षा-८ टेकेपछि बिस्तारै मेरा दुवै खुट्टा लुला हुन थाले | स्कूल जाँदा-हिंड्दा खुट्टामा सन्तुलन हराउन थाल्यो | ‘हैन, के भा’छ म मोरीलाई ?’ भन्दै एक्ला-एक्लै पिरोलिन थालें | एकपल्ट झन् स्कूल जाँदा बाटोमा एउटा मोटरसाइकलले ठक्कर दियो, त्यस घटनाले मलाई खासै चोट त लागेन तर मेरो मनमा गहिरो चोट पर्यो | घर आएर आफ्नो पीर पोखेर ममीबाको अघि रोएँ | उहाँहरुले राम्रो अस्पताल लाने भनेर मेरो चित्त बुझाउनुभयो | मलाई अचम्म लाग्न थाल्यो, मैले पढाइमा प्रगति गरेको देख्न नचाहने एउटा अदृश्य चिज छ जस्तो लाग्थ्यो कहिलेकाहीं र म ममीले भनेर धामी-झाँक्रीकहाँ नि गएँ | झाँक्रीले पढाइमा ईर्ष्या लागेर साथीले नै टुना लगाएको भन्थ्यो अनि मलाई कताकता हो कि झैं लाग्थ्यो तापनि म अन्धविश्वासीझैं साथीलाई बोक्सी आरोप लगाउन चाहदिन थिएँ | त्यस टुनाबाट मुक्ति झाँक्रीबाटै खोजें तर जति जे गरेनी समस्या ज्युँका त्यूँ रह्यो अनि त मलाई झाँक्रीदेखि पनि रीस उठ्न थाल्यो | काश ! त्यतिबेलै मैले शैतानको बन्धनबाट मुक्ति दिने प्रभु येशुलाई चिनेकी भए…कठै ! त्यतिबेला मलाई मुक्तिदाताबारे कसले भन्थ्यो र थाहा हुन्थ्यो !

तर त्यो अदृश्य चिजले बाधा हाल्न खोजेपनि मैले पढाइलाई असर पर्न दिईन | मैले त ‘तैंले मलाई जति बाधा दिएपनि हराउन सक्दैनस् बुझिस्’ भनेर त्यो अदृश्य चिजलाई लल्कारथें र पढाइमा नै ध्यान दिन्थें |

सुरुमा मैले सुसमाचार कताबाट सुनें भन्दाखेरि मलाई मेरी साथीको याद आउँछ | त्यतिबेला म कक्षा-९ मा पढ्थें | म अलि-अलि कमजोर हुँदै थिएँ र मलाई चिन्ता लाग्न थालिसकेको थियो | त्यस्तै क्रममा आफ्नी मिल्ने साथी ‘माला’लाई मैले आफ्नो पीर पोखें | एकछिन सोंचेर उनले भनिन्, ‘तिम्रो समस्या समाधान गर्ने उपाय एउटा छ तर…|’ मैले ‘के तर..?’ भनी सोधिहालें अनि जवाफमा उनले भनिन्, ‘तर तिमी रिसाउँछौ के’ | मलाई अचम्म लाग्यो, मैले ‘म रिसाउन्न, मलाई भनन के उपाय हो र ?’ भनें | उनले अन्कनाउँदै भनिन्, ‘तिमीले येशु ख्रीष्टलाई मान्यौ भने तिमी निको हुनेछौ |’ उनी क्रिश्चियन थिईन् र उनको यस्तो जवाफ सुन्दा मलाई रीस त होइन तर हाँसो उठ्यो | ‘हाहाहा के भन्या होला, तिम्रो येशुमा मात्र शक्ति छ र ? हाम्रै हिन्दु देवी-देउता पनि शक्तिशाली छन् भो हाहाहा |’ (कस्ती अज्ञानी म त्यतिबेला, जुन परमेश्वर मेरा साख्खै पिता हुन्, तिनलाई म पराइ ठानिरहेकी थिएँ अनि जो पराइ हो, त्यसैलाई आफ्नो ठानिरहेकी थिएँ |)

मेरो कुरामा उनले केही विमति जनाइनन्, न त आफ्नो तर्कलाई अझै अगाडि बढाइन् |(सायद म हाँसेकीले आफ्नो तर्क पनि काम नलाग्ने सोंचेर होला, उनी चुप रहिन् |) पछि मैले नै प्रश्न गरें, ‘के कारणले तिमीलाई येशुले निको पार्छ, पुकार सुन्छजस्तो लाग्छ ? तिम्रो परिवारमा साँच्चै घटेको कुनै घटना भए सुनाऊ न |’ अनि उनले भन्न थालिन्, ‘एक रात हामी सबै सुतेको बेलामा आधि रातमा अचानक हाम्री कान्छी बहिनी बेस्सरी रोई, रुँदै “मेरो कानमा किरा पस्यो..ऐया..ऐया..” भन्न थाली | अब झट्ट हामीलाई के गरौँ-कसो गरौँ भयो, बाबाले त “सबैले प्रार्थना गरौँ” भन्नुभयो अनि हामी सबले “नानीको कानबाट किरा आफैं निस्कोस्” भनी प्रार्थना गर्यौं, नभन्दै प्रार्थनापछि नानुको कानबाट किरा आफैं बाहिर निस्क्यो |’

उनका कुरा सुनेर मलाई जीवनमै पहिलोपल्ट कुनै अनौठो कुरा सुनेझैं भयो | मैले पत्याउन त पत्याइन तर ‘ए हो र ?’ भनें अनि ‘बाइबल हामीले नि पढ्न पाइन्छ ? चर्च हामी नि जान पाइन्छ ?’ भनेर सोधें | उनले ‘जसले पढे नि हुन्छ अनि जो चर्च आए नि हुन्छ’ भनिन् अनि मलाई कुन्नि किन चर्च जान मन लाग्यो (भित्र-भित्र चाहिं चर्च गएर ईश्वरप्रतिका आफ्ना जिज्ञासा त्यहाँका अगुवालाई सोधेर मेट्ने अभिलाषा थियो) अनि ‘आउँदो शनिवार मलाई नि तिम्रो चर्च लग है ?’ भनें | उनले झन् खुशी हुँदै ‘हुन्छ स्योर’ भनिन् |           

आउँदो शनिवार बिहान साढे नौ बजे उनी साइकल लिएर मलाई लिन आइन् | म जान तयार भइसकेकी थिएँ, ममीलाई त्यत्ति नै बेला ‘मालासित चर्च गएर यसो हेरेर आउँछु, हेर्न मात्र त केही पनि हुन्न केरे है ?’ भनें तर ममीले नाक खुम्चाउनुभयो, ‘आ ! उनीहरु अर्कै धर्म गर्नेहरुसँग हामी किन जाने ? भो पर्दैन’ अनि ममीले नाइँ-नास्ती गरेपछि मलाई पनि जान मन लागेन किनकि म ममीले भनेको कुरा मान्थें अनि त्यसैले मालालाई ‘भो म जान्न है, सरी, तिमी मात्र जाऊ’ भनें | माला ‘म कति रमाउँदै तिमीलाई लिन आथें, अहिले जान्न भन्छौ बाई, ल ठीकै छ, म गएँ’ भनी निन्याउरो मुख लाएर गइन् | अनि त्यसपछि मालासित कहिल्यै प्रभुको कुरा नि गरिएन, चर्च नि गइएन, मुक्तिको मार्ग त्यसपछि बन्द नै भयो भन्दा हुन्छ |   

अचेल त्यो दिन सम्झंदा पछुतो लाग्छ, म त्यति नै बेला प्रभुको  शरणमा आएकी भए शैतानले मलाई अहिलेकोजस्तो जकड्न सक्ने थिएन | ममीले पनि ‘मैले मालाले तँलाई चर्च लान लाग्दा किन रोकेछु ?’ भन्नुहुन्थ्यो | तर खैर, म चुनिएकी रहेछु र त जीवनमा अनेक हण्डर र ठक्कर खाएपछि आखिरमा उहाँकै शरणमा परिछाडें | अँ, मालासित १५ वर्षको उमेरमा सुनेको सुसमाचार एकैचोटी ७ वर्षपछि काठमाण्डौ बसाइ सरिसकेपछि सुनें | (यी साथीलाई मैले विश्वासी भएपछि एकदिन भेट्न पाए हुन्थ्यो भन्ने इच्छा पालेकी थिएँ र प्रभुलाई धन्यवाद होस्, अस्ति भर्खर एघार वर्षपछि हाम्रो औपचारिक भेट भयो र विगतका सारा कुरा दुवैले साट्यौं |)

हुँदा-हुँदा मेरो एस.एल.सी. परीक्षा नजिकिने बेलामा झन् मेरो लेख्ने हात पनि लुला हुन थाल्यो | एक घण्टासम्म राम्रै लेख्ने त्यसपछि चाहिं हात बाउँडिन थाल्यो | अचम्मै भयो, अब मलाई तीन घन्टाको परिक्षा चिटिक्क अक्षरमा लेख्न नसक्ने भएँ भनेर पीर पर्न थाल्यो | तापनि मलाई पढाइमा तगारो दिन खोज्ने त्यो अदृस्य चिजलाई ललकार्न छोडिन | मैले त्यसलाई आफैं कोशिश गरी हराउँछु भन्ने प्रण लिएँ | लेखन अभ्यास पनि बढ्तै गर्न थालें | मेरो अभ्यासले हात बाउँडिन कम भयो अनि म विजयमा मुस्कुराएँ |

तर विडम्बना भनूँ, शैतान छली जो हुन्छ, मैले अभ्यास गरेर लेखनमा सुधार गरेको भएपनि एस.एल.सी.कै समयमा चाहिं मेरो हात पुन: बाउँडियो जसले गर्दा मैले तीन घन्टाको परीक्षा राम्ररी भ्याउन सकिनँ | सोधिएका प्रश्नको उत्तर सबका सब आउंथ्यो मलाई तर लेख्ने हात नै लुला भएपछी के गर्नु ? कुनै विषय अक्षर बिगारेर भएपनि पूरै गरें भने कुनै पूरा गर्ने सकिनँ |

एस.एल.सी.सकिएपछि कस्तो नरमाइलो लाग्यो | मैले सधैं ७०% कटाउँथें र एस.एल.सी.मा चाहिं विशिष्ट श्रेणी ल्याउने धोको थियो ताकी उच्च शिक्षामा मैले छात्रवृत्ति पाउन सकूँ | तर मेरा लुला हातले दिएको परिक्षा मलाई आशाअनुरुपको लागेन | म प्रथम श्रेणीमा पास हुन्छु भन्ने त मलाई पूरा आत्मविश्वास थियो तर मैले विशिष्ट श्रेणी ल्याउन सक्दिनँ भन्ने कुराले मलाई पिरोल्यो | नभन्दै त्यस्तै भयो, प्रथम श्रेणी नै भएपनि मैले ७०% पनि कटाइनँ, विशिष्ट त परै जाओस् अनि त मेरो त त्यस दिन आँसु नै आयो | मैले गरेको त्यत्रो परिश्रम खेर गएझैं लाग्यो | तर म निराशामा पिल्सिने काँतर थिइन, मैले एस.एल.सी.मा राम्रो गर्न नसकेपनि कलेजमा गर्छु भनी मन दह्रो पारें | तर कलेज पढ्दा मेरो अशक्तता झन् बढ्यो | जे भएपनि मैले १२ कक्षा राम्रैसित पूरा गरें | पछि काठमाण्डौमा आई स्नातक पनि सुरु गरें तर झन् साह्रो अशक्त भएर दोस्रो वर्षपछि पढाइमा पूर्णविराम लगाइदिएँ | लामो समयसम्म मलाई पढाइ छोड्नुपरेकोमा पीर पर्यो तर परमेश्वरलाई धन्यवाद होस् मैले पढाइ नै जीवनको सार सोंच्नु मूर्खता रहेछ भन्ने थाहा पाएँ र सांसारिक शिक्षाभन्दा बाइबलीय शिक्षा धेरै महत्वपूर्ण छ भन्ने बुझें |

प्रभुको कृपाले मैले घरमै बसी बाइबल कलेजको शिक्षा आर्जन गर्न सक्ने भएँ | पहिले निराश हुँदा म सोंच्थें, ‘मैले आफू सबल हुँदाको अमूल्य समय पढ्नमै नबिताएको भए हुने किनकि त्यो छोंटो समयमा रमाइलो गरेको भए अहिले यो कुँजिनुपरेको समयमा “त्यत्ति त पाएँ” भनी चित्त बुझाउन सकिन्थ्यो |’ तर होइन, फेरि म भन्छु, मेरो सम्पूर्ण ध्यान त्यतिबेला पढाइमा नभएको भए आज म यतिसम्मकी शब्दकी धनी हुन सक्ने थिइन, न मैले यो समाजको हरेक पाटोलाई बुझेर शब्दमा उतार्न सक्ने थिएँ | ठीकै हो, मैले जति पढें, प्रभुकै निम्ति परिपक्व लेखक हुन पढें नत्र के थाहा म पनि अरुझैं बरालिएर पापमा फसिसकने थिएँ | अचेल म यही कारण आफू अशक्त हुनुमा परमेश्वरप्रति धन्यवादी हुन्छु किनकि म अशक्त भएकैले जवानीका तमाम अभिलाषालाई त्याग्न सकेकी छु अथवा तीदेखि जोगिन सकेकी छु नत्र म पढाइको शिखरमा पुगेर संसारकै पछी लाग्ने थिएँ अनि नि:सन्देह म प्रभुदेखी धेरै टाढा भागीसकने थिएँ |

मलाई कोठाको पर्खालभित्र बसिरहनुपर्दा त्यसरी जिउनुभन्दा मर्नु बेस लाग्थ्यो | नकारात्मक सोचाइले जरा गाडेपछि जे सोंच्दा पनि नकारात्मक नै सोंचिने रहेछ | मैले दुःखको त्यो पहाड नछिचोल्दासम्म म प्रभुमा आइसकेर पनि लामो समय त्यही नकारात्मक सोंचकी प्रतिमूर्ति भइथें | तर प्रभुलाई धन्यवाद होस्, उहाँले कष्टका ती घडीमा कहिल्यै मेरो साथ छोड्नुभएन बरु सँगसँगै मेरो हात समातेर त्यो पहाड छिचोलेर ल्याइदिनुभयो | हल्लेलुयाह ! अनि अचेल कस्तो बदलाव ममा कि म हरेक कुरामा सकारात्मक सोंच्छु, म पहिलेजस्तो आफूलाई परमेश्वरबाट नै तिरस्कृत सोंच्दिन बरु हरेक क्षण उहाँकै प्रेमको अनुभूति गर्छु | पहिले-पहिले म सोंच्थें, ‘जिन्दगीमा यसरी हुर्किसकेर अशक्त भएर सारा सपना चकनाचुर हुनुभन्दा बरु जन्मजात नै अशक्त-अपांग भएको भए जाती हुन्थ्यो किनकि कुनैपनि सपना त साँचीने थिएन नि अनि ती चकनाचुर हुँदा पीर मान्नुपर्दैनथ्यो |’ ओहो ! कस्तो नकारात्मक सोंच मेरो, आज प्रभुले मलाई आँखा उठाएर पर्खाल बाहिर देखाइसक्नुभायो कि जन्मजात अशक्त अपांग हुनु भनेको त झन् दुःखमा बढ्नु हो | यदि म जन्मजात अशक्त भएकी भए नि:सन्देह मेरा आमाबाले मलाई मेरो रहर पुग्नेसम्म औपचारिक शिक्षा दिनुहुँदैन थियो अनि मैले पनि कति कष्ट सहेर झमक घिमिरेलेझैं संघर्ष गर्नुपर्थ्यो होला | जन्मेको डेढ महिनामै मेरुदण्ड पक्षघातबाट पिडित बहिनी अमृता ज्ञवालीलाई देख्दा म झनै प्रभुप्रति धन्यवादी भएँ किनकि मेरो त माया गर्ने परिवार छ अनि मैले त अशक्त नहुन्जेलसम्म नाचेकी छु, खेलेकी छु तर अमृता ! ताती गर्ने समयदेखि अहिलेसम्म कहिल्यै आफ्ना खुट्टाले भुँइ टेकेकी छैन, न उसलाई खुट्टाले भुँई छुँदा कस्तो हुन्छ भन्ने नै थाहा छ | तै ऊ कति साहसी छे | उसको साहस देखेर म त नतमस्तक भएँ | त्यसैले म अब नकारात्मक सोंच्दिन, सोंच्ने भए ‘बरु अमृताझैं भुँईमा टेक्नै नपाएको भए जाती हुन्थ्यो, कमसेकम विगतमा आफू नाचेको-खेलेको झल्झली सम्झेर दुःखी त भइन्न’ भन्ने सोंच्थें | यो मैले त्यागिसकेको नकारात्मक सोंच हो जसमा आज मेरो दिमाग भुलेर पनि ढल्किन्न र म यसको श्रेय सकारात्मक सोंचका प्रभुलाई दिन्छु |

दोस्रोचोटी चाहिं मैले सुसमाचार त्यो दिन सुनें जुन दिन मेरो स्नातक पहिलो वर्षको वार्षिक परिक्षा थियो | म अशक्त भएकीले मलाई कलेजको भुइँतलाको अफिसमा परिक्षा दिन मिल्ने व्यवस्था गरिएको थियो | मलाई बाबाले एउटा हातमा समात्दै कलेज ल्याउने देखेर होला त्यस कलेजकी पियन आन्टीले एकदिन परिक्षा सकिएपछि मैले बाबालाई कुरिबसेको मौकामा सुसमाचार सुनाइन् | मलाई के भएको ? किन भएको ? भनी सोध्ने सिलसिलामा उनले भनिन् कि ‘येशुले निको पार्नुहुन्छ, चर्चमा आऊ’ | मलाई कस्तो-कस्तो लाग्यो, झट्ट चर्च जान मन लाग्यो किनकि त्यतिन्जेल मलाई अशक्तताले रुवाउनुसम्म रुवाइसकेको थियो, अनेक डाक्टरी, धामी-झाँक्रीको उपचारबाट म वाक्क परिसकेकी थिएँ र मलाई निको पार्न सक्ने कुनै अलौकिक ईश्वर छन् कि ? भन्दै म खोजिरहेकी थिएँ | ती आन्टीले त्यसो भन्दा मलाई खोजेको कुरो भेटेजस्तो भयो | तर ख्रीष्टियान धर्मप्रति त्यति नकारात्मक विचार सुनेको नभएपनि यो धर्म मान्यो भने हिन्दु संस्कार छोड्नुपर्छ भन्ने कुरा थाहा थियो अनि म परें, त्यतिबेलाकी कथित संस्कृतिप्रेमी | मलाई हिन्दु संस्कार छाड्नुमा धकधक लाग्थ्यो अनि आन्टीलाई भनें, ‘हुन त म सबै धर्मलाई उत्तिकै आदर गर्छ, मलाई पनि कहाँ गएर निको होउँला भइराख्छ, म चर्च आउन त चाहन्छु तर कहाँ हो चर्च ? थाहा छैन’ भनें | त्यसपछि ती आन्टीले मलाई आफ्नो फोन नं. दिईन्, ‘मलाई फोन गर, म तिमीलाई लिन आउँछु अनि चर्च लान्छु’ भनिन् | उनले मलाई फोन नं को साथै सँगसँगै सुसमाचारिय पम्फ्लेट पनि दिईन् | मैले यस्तो पनि सोधें, ‘चर्च आएर पछि निको भएन भने छोड्न हुन्छ ?’ ती आन्टीले हाँस्दै ‘कहाँ छोड्न हुनु’ भनिन् | मलाई आफू निको नभए त्यस्तो धर्म अँगालिराख्नुको के फाइदा भन्ने स्वार्थी सोंचले गाँज्यो |

घर आएर मैले ममीलाई पनि भनें, ‘ममी हामी पनि ख्रिष्टियन बनम् है ?’ अनि ममीले ‘तँ निको भए त हुन्थ्यो नि’ भन्नुभयो | त्यसपछि ती आन्टीले दिएको पम्फ्लेट पढ्नु थालें | त्यसअघि पनि फाट्ट-फुट्ट नपढेकी होइन तर मैले पढेको कुनै पनि पम्फ्लेटमा रोगी-बिरामीलाई येशुले चंगाई दिएको कुरा पढ़िन | आफूले खोजेको कुरा त्यहाँ नपाएकैले मलाई ख्रीष्टियानप्रति आकर्षण भएन | ती आन्टीको मुखबाट येशुले निको पार्ने कुरा सुनेपनि उनले दिएको पम्फ्लेटमा त्यस्तो केही भेटिन बरु त्यहाँ अजिब-गरिब लाग्ने उद्गार र अंकहरु दिइएका हुन्थे अनि ‘पापबाट मुक्ति पाउने उपाय’ भनी शिर्षकमा लेखिएको हुन्थ्यो र ‘हामी सबै पापी छौ र हामीलाई मुक्तिको खाँचो छ’ भनी लेखिएको हुन्थ्यो जुन मलाई पटकक चित्त बुझ्दैन थियो | म त भन्थें, ‘म पापी नै छैन, मैले कहिले कसको चोरें र ? कहिले कसलाई मारें र ? कसको कुभलो चिताएँ र ? अनि त म कसरी पापी ? किन चाहियो मुक्ति ?’ अनि मलाई रीस उठ्थ्यो, ती पम्फ्लेटमा लेखिएका कुरा वाहियात लाग्थे | सायद बरु ‘रोग-बिमारबाट मुक्ति पाउने उपाय’ लेखिएको भए म चाख मानेर पढ्ने थिएँ होला तर अरु-अरु नै कुरा देख्दा मलाई झिजो लाग्यो | सोंची बस्दा ‘किन होला यो ख्रीष्टियानहरुले खालि धर्म प्रचार गर्ने ? के पाउँछ होला ?’ भनी म प्रश्न गर्थें र अहिले बुझेकी छु, ‘सारा संसारमा गएर मबारे सबलाई सुनाऊ’ भन्ने त स्वयम् प्रभुकै महान आज्ञा रहेछ नि अनि आज म स्वयम् पनि प्रचारिका भएकी छु र धेरैले मैले गर्ने प्रचारको कारण बुझ्दैनन् | तिनीहरुले पनि एकदिन ‘ए ! यही भएर पो रैछ अरुनाले हामीलाई येशुको कुरा सुनाउने’ भनेर बुझून भन्ने मेरो कामना छ |

त्यसपछि लामो समय त्यत्तिकै बित्यो, मलाई चर्च जान पनि मन लागेन, ती आन्टीलाई फोन सम्पर्क गर्न पनि मन लागेन | बीच-बीचमा व्यक्तिहरुका मुखबाट ‘ख्रीष्टले निको पार्नुहुन्छ’ भन्ने नसुनेको होइन तर म त ‘आ म त मरे मर्छु बरु, आफ्नो संस्कार धर्म-कर्म कहिल्यै छोड्दिन’ भन्थें |    

ममी र बाबालाई काठमाण्डौ आएदेखि नै एकजना विश्वासी बज्यैले सुसमाचार सुनाएकी रहिछन् र ‘छोराछोरीको लागि भएपनि प्रभुमा आउनू’ भनिराख्ने रहिछन् | ममीबालाई प्रभुकहाँ आउन मन भएपनि आफ्नो पुर्ख्यौली संस्कारक कारण झट्ट आउन सकिरहेका थिएनन् | त्यतिन्जेल मेरो कान्छो भाइ पनि मझैं अशक्त भइसकेको थियो र उसको र मेरो डाक्टरी र धामी उपचार गर्दागर्दा हामी दिक्क भइसकेका थियौं | भएन भनेर एकपल्ट झन् मेरा बाबा नै सडक दुर्घटनामा परे अनि उहाँको एउटा खुट्टा भाँच्चियो | कान्छो भाइले मानसिक सन्तुलन पनि गुमायो, म त्यस्तै अशक्त अनि भएन भनेर अर्को ठूलो भाइ पनि जन्डिसले च्यापेर थला पर्यो | परिवार सबै बिरामी भएपछि मेरो ममीलाई पर्नुसम्मको दुःख पर्यो | राति हामी सबलाई सुताएर एक्लै छतमा गएर ईश्वरलाई पुकार्दै धुरुधुरु रुनुहुन्थ्यो | हाम्रो गाउँतिर सबैले ‘हे परमासरी (परमेश्वर) !’ भन्छन्, परमेश्वर को हो भन्ने कुरा थाहा नभएपनि सबका मुखमा ‘परमासरी’ शब्द हुने हुँदा मेरी ममी पनि हिन्दु देउताको नामभन्दा ‘हे परमासरी’ भनेर नै पुकार्नुहुन्थ्यो | विश्वासी भएपछि बल्ल उहाँले बुझ्नुभयो, आफूले दुःखमा रुँदै पुकार्ने परमासरी त येशु ख्रीष्ट पो रहेछन् |

जुन धामी आए पनि ‘फलानो देउता रिसाछ, पूजा गर्नुपर्छ’ भन्ने अनि ममीलाई हामी निको हुने आशमा पूजा गर्न मन लाग्ने तर जति गरे पनि बीसको उन्नाइस नहुने, मेरी ममी पनि धामीप्रति दिक्कै हुनुभयो | अनि घरमा जहिल्यै रक्सि बनाइ पाहुनालाई रक्सि खुवाउनुपर्ने, मेरी ममी यो रक्सि बनाउनुपर्ने बध्यताबाट पनि छुटकारा चाहनुहुन्थ्यो | परिवार सारा बिरामी भएपछि ममीलाई जीवनदेखि नै निराशा भयो तापनि हाम्रैलागि उहाँ कसैलाई खोज्दै हुनुहुन्थ्यो | त्यसैबेला एकदिन तिनै पहिला सुसमाचार सुनाउने बज्यै फेरी हाम्रो घरमा आइन् | अमेरिकाबाट प्रचारक आएको र उनको सुसमाचार समारोहमा एकपल्ट आउन भन्नुभयो | हामीलाई चारैतिर ढोका बन्द भएजस्तो भैरहेको थियो तर बज्यैको कुराले अलिकति ढोका खुलेको आभाष भयो | अनि हामी सपरिवार ‘भर्सेला परोस्’ भन्दै त्यस समारोहमा गयौं |

मलाई ज्यादै अनौठो लाग्यो | मैले सोंचेथें ख्रिष्टियान धर्ममा धेरै मान्छे छैन होला तर होइन त्यस समारोहस्थलको ठूलो चौर मान्छेहरुले खचाखच भरिएको थियो | सबले उल्लाससित ताली बजाउने, नाच्ने, गाउने देख्दा मलाई अर्कै लोकमा पुगेजस्तो भयो | त्यहाँ प्रचारकको प्रवचन सुनेर मेरा ममी र बाबा प्रभावित हुनुभयो | अनि हामीले सपरिवार त्यसै दिन नै ग्रहण गर्यौं | भोलिपल्ट मलाई बज्यैले गुरुबासित भेट गराइदिनुभयो | त्यसैबेला गुरुबाले मलाई बाइबल खोलेर प्रेरितको पुस्तकमा एउटा पक्षघाती निको भएको वचन पढ्न दिनुभयो, बल्ल मलाई मैले खोजेको कुरो भेटेको अनुभव भयो | त्यो वि.सँ.२०६३ साल असोज १२ गते थियो अनि हामी बिस्तारै प्रभुमा अगाडि बढ्न थाल्यौं | प्रभुलाई ग्रहण गरेपछि मैले नयाँ आशा र नयाँ सपना देख्न थालें, मेरो हृदय आनन्दले रमाउन थाल्यो अनि मलाई जताततै सुन्दर लाग्न थाल्यो |

 

पहिलोपल्ट मेरो हातमा गुरुबाले ‘लौ पहिले यो पढ अनि  पछि म अर्को बाइबल दिन्छु’ भनी एउटा नयाँ करार बाइबल ठम्याइदिनुभयो | म त पहिल्यैदेखि किताब भनेपछि हुरुक्कै हुने मान्छे, मलाई देख्नेबित्तिकै त्यो पढ्न मन लाग्यो | गुरुबा गएपछि पढ्न सुरु गरें | सुरु गर्नुभन्दा अगाडि मेरो त्यतिबेलाको दिमागले यस्तो सोंच्यो, ‘के लेखिएछ होला बाइबलमा ? नराम्रो कुरा पो सिकाएको छ कि ?’ (मैले धेरथोर पश्चिमा जीवन-शैलीबारे टि.भी पत्र-पत्रिका आदिबाट थाहा पाएकी थिएँ, मेरो संकुचित सोंचाई के थियो भने पश्चिमाहरु सबै ख्रीष्टियान हुन् र तिनीहरुको जीवन-शैलीमा बढ्तै उच्छृंखलता वा अश्लिलता देखिएकोले म सायद बाइबलले यस्तै सिकाउँछ होला भन्ने सोंच्थें | तिनीहरुमा प्राय समर्पित साँचो प्रेमको कमी देखिएको र पारपाचुके र पुनर्विवाह्लाई पटक-पटक दोहोर्याउने हुनाले मलाई यस्तो चाला ठीक लाग्दैन थियो तर मेरो उल्लू दिमागले के सोंच्यो भने ‘बाइबलमा नै पारपाचुके र पुनर्विवाह्लाई मान्यता दिइएको छ होला’ किनकि प्राय: पटक-पटक विवाह चर्चमै गरेझैं लाग्थ्यो |) तर होइन रहेछ, मेरो सोंचाई नै अधकल्चो रहेछ | अलिक हास्यास्पद कुरा भनौं, मेरो यही संकुचित मानसिकताको कारण बाइबल पढ्न सुरु गर्नुभन्दा अघि ‘के लेखिएको होला बाइबलमा ? नराम्रो कुरा पो लेखिएको छ कि ?’ मात्र भनिनँ बरु ‘…नराम्रो कुरा भएपनि म कुनैपनि हालतमा त्यसलाई ठीक मानेर स्वीकार्ने छैन’ भनेर दृढ अठोट गरी पढ्न सुरु गरें |

सरसर्ती पढ्दै गएँ-पढ्दै गएँ, थुप्रै कुरा नबुझेपनि सारमा बुझें कि बाइबल त घोर अश्लिलताविरोधी पो रहेछ अनि पारपाचुकेविरोधी पनि | पश्चिमाहरु त्यस्ता छाडा भएका बाइबल नापढ़नाले रहेछ भन्ने बुझें | मैले ‘जोसित जतिचोटी बिहे गरेपनि हुन्छ’ भन्ने लेखिएछ होला भनी हिच्किचाउँदै पढेथें तर मेरो अनुमानविपरित बाइबल त मैले अन्तस्करणमा कोरेको आदर्शको प्रतिरुप नै रहेछ भन्ने थाहा पाएँ अनि त खुशीले मुस्कुराउँदै बाइबल थप पढ्न र बुझ्नमा हौसिएँ |

परमेश्वरले आदिमा नै मानव-जातिलाई आफ्नै स्वरुपमा बनाउनुभएकोले हामीमा उहाँको केही न केही गुण पहिल्यैदेखि नै छ | त्यसैले त मैले बाइबल नपढेको भएपनि ती कुरालाई पहिल्यैदेखि नराम्रो मान्थें | त्यसैले नै अन्यजातिसित व्यवस्था छैन तर व्यवस्था तिनीहरुको हृदयमै लेखिएको छ’ भनिएको हो | मेरा एकजना मित्रले मेरो जांच गर्ने मनसायले सोधे, ‘व्यवस्था त धेरै पछि मोशाको पालामा बल्ल आयो तर युसुफले आफ्नो मालिकको श्रीमतीले तान्दा पनि किन व्यभिचार गरेन ?’ मैले जवाफ दिएँ, ‘किनकि परमेश्वरले हामी प्रत्येकको हृदयमा पहिल्यैदेखि नै व्यवस्था हालिदिनुभएको छ, चाहे लिखित व्यवस्था आएको होस् कि नहोस्, आफूलाई विश्वास गर्ने मालिकप्रति विश्वासघात गर्नु पाप हो भन्ने कुरा युसुफको हृदयले पहिल्यै भन्थ्यो, त्यसैले ऊ व्यभिचारमा फसेन |’ त्यसैले म भन्छु, जो व्यक्ति अन्याय-अत्याचार, व्यभिचार वा भ्रष्टाचारदेखि दूर रहन्छ, उसले परमेश्वरलाई नचिने पनि, उहाँको राज्यको धेरै नजिक ऊ हुन्छ | बस् उनीहरुले पनि साँचो परमेश्वरलाई चिन्न सकून् भन्ने हाम्रो निरन्तर प्रार्थना हुनुपर्छ |

प्रभुलाई ग्रहण गरेपछि अचम्म भयो, कुरा के भने मेरो घरमा आउने एकजना आफन्त ठूलीआमा (अविश्वासी) ले त मलाई एकदिन घोरिएर
हेर्नुभयो अनि मेरी ममीलाई सोध्नुभयो, ‘हैन साइँली, छोरीलाई कता दबाई-पानी गर्न लाछौ र ?’

‘नाइँ दिदी कतै पनि लगेछैन पो, किन र ?’ मेरी ममीले छक्क पर्दै सोध्नुभयो । 

‘हैन, हेर न तिम्रो छोरीको मुहार कस्तो उज्यालो भा’छ, पैला त यस्तो थिएन, छोरीलाई त सन्चो भएजस्तो पो देख्छु म त…आ ! भनन कहाँ लगेको ?’ ठूलीआमाले अचम्मको कुरा व्यक्त गर्नुभयो | मेरो मुहार उज्यालो भएको हामीले त पत्ता पाएनौं तर ती ठूलीआमाले पाउनुभएछ | उहाँको यस्तो प्रतिक्रिया सुनेपछि ममी खुशी हुनुभयो अनि भन्नुभयो । 

‘दबाई-पानी त होइन दिदी, हामी त सबै ख्रीष्टियान भयौं | सबैले छोरीलाई राम्रो हुन्छ भन्थे केरे, त्यसैले हामी सबै यही धर्ममा लाग्यौं….पूजा-पाठ गरेर देउता रिझाउँदा रिझाउँदै म त दिक्कै भइसकें नि दिदी, मेरी छोरी सन्चो भएसी मलाई अरु के चाइयो ?’

‘हो हो, जाती नै गर्यौ । ’

ती ठूलीआमाले हामी ख्रीष्टियान भएकोमा राम्रो नै भन्नुभयो | मेरो मुहारको ज्योति देख्ने उहाँ चाहिं क्यान्सरले थला परेर अहिले अस्पतालमा हुनुहुन्छ तर अफसोस भनौं, उहाँलाई सुसमाचार सुनाउने हालतमा म छैन | बस्, उहाँको निम्ति दुई शब्द भएपनि परमेश्वरसामु प्रार्थना चढाउँछु । 

प्रभुलाई ग्रहण गरेको एक वर्षपछि हामीले सपरिवार बप्तिस्मा लियौं | ए साँच्चै ! एउटा कुरा त मैले भन्ने बिर्सेको ! त्यो के भने, मैले प्रभुलाई ग्रहण गरेको दुई/तीन महिनापछि मेरो ओठको देब्रपट्टि एउटा तिलकोठी आयो जुन म प्रभुले दिनुभएको एउटा चिन्ह मान्छु | तर फेरि साँच्चै भन्नुपर्दा, बिस्तारै मलाई पुन: निराशाले छोप्न थाल्यो किनकि मेरो शारीरिक कमजोरी निको हुनुको साटो झन् बढ्यो | मेरो कान्छो भाइ पनि त्यस्तै रह्यो | मलाई त साह्रै मन दुख्न थाल्यो, विश्वासीहरुले पनि मेरो विश्वासमाथि नै शंका गर्न थाले, ‘तिमीले प्रभुलाई विश्वास गरेको छैनौ, कतै न कतै शंका गर्दैछु, त्यसैले तिमी निको नभएको, तिम्रो शंका गर्ने बानी हटाऊ…’ उफ् ! सधैं यस्ता होंच्याउने सुझाव, म सधैं रुँदै प्रार्थनामा सोध्थें, ‘हे प्रभु ! के कमी भयो मेरो विश्वासमा ? किन म निको नभाकी ? के गरूँ म ? लौ भन्नुस्, तपाईले फू गरे नि म त निको हुन्छु भन्ने विश्वास छ, अरुलाई शंका गर्ने ठाउँ किन दिनुहुन्छ ? तपाईले मलाई किन छुनुहुन्न र ती बाइबलीय आश्चर्यकर्म देखाउनुहुन्न ? कि तपाई पनि मलाई लुरी भनेर हेप्नुहुन्छ हो ? संसारले त हेप्यो-हेप्यो, भएन भनेर तपाईले पनि हेप्नुहुन्छ भने त ममा के आशा रह्यो र ? भो, मेरो प्राण लगिदिनुस्, मलाई यो संसारमा यसरी अरुको हेला-हाँसो भएर मरीमरी बाँच्नु छैन प्रभु ! मेरो सपनाहरु पूरा नहुने भए म अरुको बोझ भएर किन बाँच्नु ? मजस्तीलाई स्वर्गमा राख्ने ठाउँ नभए पनि प्रभु मलाई त ढोकामा बस्ने एउटा भिखारीको दर्जामा राखे नि हुन्छ प्रभु ! तर मलाई यो संसारबाट मुक्ति दिनोस्…| मैले के गर्न सक्छु र ? खानु-पिउनुबाहेक, खाने र पिउने मात्र जिन्दगी होइन, यसरी बाँच्नुभन्दा मरेकै बेस प्रभु !’ आदि । 

यस्तै-यस्तै निराशावादी सोंच राखेर म तड्पिरहन्थें, मलाई प्रभुले अपवाद नै बनाउन चाहनुहुन्छझैं लाग्थ्यो र मैले निस्फिक्री मुस्कान यो जीवनमा कहिल्यै पाउनेछैन भनेर मैले मूर्खपूर्ण निर्णय पनि लिइसकेकी थिएँ | प्रत्येकपल्ट चर्च जाँदा त्यो ५०४ नं.को भजन गायो कि म प्रश्नै प्रश्नमा डुबिहाल्थें | ‘प्रभु ! म तपाईको शरणमा सुधारकै आशा लिएर आएकी हुँ, अब भन्नुस् मेरो जीवनमा सुधार नभए म कसरी रमाउन सक्छु ?’ मलाई ‘चाहे मेरो जीवनमा कुनै सुधार नहोस्…’ भन्ने हरफले गिज्याइरहेको भान हुन्थ्यो । 

प्रभुमा आएपछि सुरुको पहिलो वर्ष त आशामा पुलकित भई बिताएँ तर दोस्रो वर्षपछि मेरो खुट्टा झन् लुलो भयो, पहिले घरको भित्तामा अडेस लगाएर जत्ति पनि हिंडडुल गर्ने मान्छे म पछि त्यति पनि नसक्ने भएँ अनि त मलाई ट्वाइलेट जाँदा पनि अरुले समातेर डोर्याउनुपर्ने भयो | मेरो कान्छो भाइ पनि झन् अशक्त भयो, ऊ त बौलाहा नै भयो | म फेरि निराश हुन थालें | ‘प्रभु ! मेरो भाइलाई निको पारिदेऊ’ भनि रुँदै प्रार्थना गरें, उपवास पनि बसें तर हाम्रो इच्छा उहाँको इच्छा हुन सकेन | अन्ततः मेरो भाइ प्रभुमा सुत्यो | यस घटनाले गर्दा म प्रभुदेखी रिसाएँ तर मैले प्रार्थना छोडिन | म अझै अशक्त हुन थालें, समातेर डोर्याउँदा पनि हिंड्न गाह्रो हुन थाल्यो अनि ममीले बोकेरै ट्वाइलेट लान थाल्नुभयो | मलाई झन् निराशाले छोप्न थाल्यो | तर एकदिन प्रभुले मेरो हातमा निक वुचिकको किताब ‘लाइफ विदाउट लिमिट्स’ जुटाइदिनुभयो जसले मलाई अभावमा पनि प्रभुमा कसरी आशावादी र खुशी हुनुपर्छ भन्ने कुरा सिकायो । 

निकको त्यही किताबले बल्ल मेरो निराशावादी हृदय परिवर्तन भयो अनि बल्ल म ‘चाहे मेरो जीवनमा कुनै सुधार नहोस्..’ भन्दै रमाई-रमाई गाउन सक्ने भएँ | तर फेरि मेरी परमप्रिय ममीलाई ब्रेस्ट क्यान्सर भयो | दिन-रात प्रभुलाई पुकार्द-पुकार्दै, उपवास बस्दाबस्दै अनि विश्वास गर्दागर्दै पनि मेरी परमप्रिय ममी क्यान्सरको पीडामा तड्पिदै आखिर प्रभुमा सुतेरै छाडिन् | हाय ! मेरो जीवन फेरि अन्धकार भयो, मलाई अब प्रभुमा आशा भन्ने कुरा नै हरायो | मैले त्यसै क्षणबाट प्रार्थना गर्न पनि छाडें | आफ्नो इच्छा कहिल्यै प्रभुको इच्छा हुँदैन भने अब किन प्रार्थना गर्नु ? भन्न थालें | मलाई त मैले कुन यस्तो खराब अन्जानमा पाप गरेछुजस्तो लाग्यो जसको क्षमा प्रभुले दिनुहुन्न बरु मलाई तड्पाउनु नै उहाँको इच्छा छ जस्तो लाग्थ्यो । 

तर रिसाउँछु भनेपनि म प्रभुसँग रिसाइरहन सकिनँ | म दुई महिनाको लागि घरदेखि टाढा एउटा अपांग-गृहमा गएँ | त्यहाँ मैले कहिल्यै नदेखेको जिन्दगी देखें अनि प्रभुलाई क्षमा मागी पुन:प्रार्थना गर्न थालें | प्रभुले मलाई देखाउनुभयो कि यो संसारमा मेरो मात्र यो हालत छैन, म मात्र एक्ली छैन अनि म अशक्त भएपनि केही गर्न नसक्ने कमजोर छैन | मैले आफूभन्दा पनि कैयौं अशक्तलाई देखेर जीवनदेखि संघर्ष गर्ने साहस पाएँ | छिन-छिनमा मैले भन्न थालें-‘प्रभु धन्यवाद !’

लामो समय म येशुको ख्रुसको बलिदानलाई कम मूल्यको आँक्थें किनकि मैले त्यो बलिदान आत्माको अनन्त जीवनको लागि हो भन्ने कुरालाई सम्पूर्ण हृदयले शिरोपर गर्न सकिरहेकी थिइनँ | मलाई आत्माभन्दा शरीर ठूलो लाग्थ्यो, त्यसैले म शरीरकै लागि रुन्थें तर हामीले शरीरको निम्ति होइन आत्माको निम्ति रुनुपर्दो रहेछ | म कति स्वार्थी ! मैले हिंड्न पाइनँ भनेर निराशा पालिरहेकी थिएँ तर अब म मुक्तकण्ठले भन्न सक्छु, ‘म हिंड्न नसकेर के भो ? मैले टाढा-टाढासम्म पनि कलमका शब्दले सुसमाचार फैलाउन सक्छु | भलै मेरा शब्दले आत्मा नबाँच्लान् तर विश्वासीको विश्वासमा दम थप्न सक्छु |’ अनि ख्रीष्टको क्रुसको पीडालाई म आफ्नो अंग-प्रत्यंगमा अनुभव गर्छु र अहिले मलाई थाहा छ त्यो पीडा कस्तो हुन्छ भन्ने अनि अब म क्रुसको बलिदानलाई अति उच्च, उच्चभन्दा पनि उच्च मूल्यमा आँक्छु । 

जीवनमा ताडना पाइएन भने त आखिर हामी प्रभुका असल छोराछोरी नै होइनौं ब्यारे | प्रभुले मेरा जीवनका ती तमाम आंधी-बेहरीलाई समाप्त पारिसक्नुभएको छ र म अचेल त हरबखत प्रभुको आशिषको अनुभव गर्छु | मेरो मुहारमा अचेल मुस्कान छाइरहन्छ जुन म आफैंलाई पनि अचम्म लाग्छ | म मात्र एक्ली छैन भनेर मलाई जीवनको उत्तम पाठ सिकाउने प्रभुले मलाई जस्तै आपतसित पनि हाँसी-हाँसी जुध्ने शक्ति दिनुभएको छ | म पहिला दुःख पर्दा ‘प्रभु धन्यवाद !’ भन्न सक्दिन थिएँ तर अब मेरा इच्छा र योजना चकनाचुर भएर सिसाझैँ झर्यामझुरुम भएर फुटिसक्दा पनि म हाँसी-हाँसी भन्न सक्छु, ‘प्रभु धन्यवाद !’ किनकि मलाई पक्का विश्वास छ कि मेरो जीवनमा एउटा ढोका बन्द गर्नुहुने प्रभुले अर्को, त्योभन्दा पनि उत्तम ढोका खोलिदिनुहुनेछ | यही अनन्त आशामा म जिउँछु र मलाई अचेल मुक्तकण्ठले उहाँकै महिमा गाउन मन लाग्छ । 

थाहा थिएन, उनले मलाई, कति माया गर्दा रहेछन् ।
म रुँदा, झर्ने आँसु, पुछिदिन अघि सर्दा रहेछन् । 

 थाहा थिएन, बाटो बिराई, कता-कता अल्झिएछु,
मेरो सट्टामा, उनी नै पो, क्रूश बली मर्दा रहेछन् । 

 थाहा थिएन, उनलाई नचिन्दा, साँचो परमेश्वर को हो ?। 
उनी साथैमा थिए, तर यी आँखा, उनीदेखि तर्दा रहेछन् । 

 जति बाटो बिराएनी, थाहा थिएन उनको माया कति,
त्यही माया, बुझेर अहिले, खुशीको आँसु झर्दा रहेछन् । 

 थाहा थिएन, दुःखबाट मैले, कसरी पार पाउने ?
मेरै भारी बोकी क्रुशमा, मेरै दुःख हर्दा रहेछन् । 

 थाहा थिएन, आशिष मैले, कसरी जीवनमा पाउने ?
तन-मनसाथ उनमा भिजे, आशिषको झरी झर्दा रहेछन् । 

 थाहा थिएन, उनले मलाई, कति माया गर्दा रहेछन् । 
म रुँदा, झर्ने आँसु, पुछिदिन अघि सर्दा रहेछन् । 

 अनि अन्ततः म आज मुक्तकण्ठले भन्न सक्छु, ‘म निको भइसकें, हल्लेलुयाह !!!

(समाप्त)

अरुणा छन्त्याल 

701 Views

मलाई मनपर्यो l (30)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

मेरो सम्पूर्ण जीवन गवाही-(संस्मरण) Reviewed by on . (विगतमा छिटफुट संस्मरण लेखेर आफ्नो गवाहीको पाटो कोरेकै हुँ तर आज यहाँ सविस्तार म कसरी प्रभुमा डोर्याईएँ भन्ने कुरा व्यक्त गर्दैछु, त्यसैले प्रस्तुत छ ‘मेरो सम्प (विगतमा छिटफुट संस्मरण लेखेर आफ्नो गवाहीको पाटो कोरेकै हुँ तर आज यहाँ सविस्तार म कसरी प्रभुमा डोर्याईएँ भन्ने कुरा व्यक्त गर्दैछु, त्यसैले प्रस्तुत छ ‘मेरो सम्प Rating: 0
scroll to top