Wednesday, September 26, 2018

हाम्रो युद्ध र हतियार

March 29, 2015 6:12 pm by: Category: Sermons A+ / A-

काम, कर्मले होइन मुक्ति पाउने । विश्वासले हो । विश्वास गरेपछि हात बाँधेर बस्ने, मस्त निदाउने पनि होइन । तिनीहरूको फलबाट चिन्छौ भन्नुभएको छ प्रभुले । कामहरू अह्राउनु भएको छ – सुन्ने काम होइन, गर्ने काम । जस्तै, “माग, खोज, ढकढकाऊ – साँघुरो ढोकाबाट भित्र पस – जसले सुन्छ र गर्छ – पिताको इच्छा ‘पालन गर्ने’ मानिस – दिनहुँ आफ्नो क्रूस बोकर मेरो पछि लाग इत्यादि” विश्वास गरेर आफ्नो मुक्तिको बारेमा ढुक्क हुनुपर्छ अनि परिश्रमी काम गरेर आज्ञा पालन र फल देखाउनुपर्छ । विश्वासद्वारा धर्मी (ठिक) ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ (रोमी ५ः१) ।

“विश्वास गरें”, “ग्रहण गरें”, “बप्तिस्मा भयो”, “फलानो चर्च जान्छु”, “तपाई पनि विश्वासी ? ए, हो र ? तपाई कुन चर्च ?” यति भनेपछि कुरा समाप्त । “म पनि त त्यै थरी” भनेजस्तै मात्र भो । अरू केही बाँकी रहेन । यो चिटिक्क परेको चिनारीले विश्वासीको काम, कर्तव्य, जिम्मावारी, आदिलाई ठप्प पार्दैछ । विश्वास यात्राको वर्णन – मिशन, भिजनको आदानप्रदान, वचनको चिरफार जरूरी छ ।

‘विश्वास’ र ‘ग्रहण’ मात्रको अचम्मको हल्लाले भ्रम पैदा गरेको छ । विश्वासीको परिभाषा खुम्चाएको छ । दिनहुँ क्रूस उठाउने प्रकरणसँग विश्वास र ग्रहण शब्द जोडिएका छन् । तपाई र मेरो जीवन र पहिचानलाई आर्मीको सिपाहीसँग तुलना गरिएको छ । एफिसीमा सरसरी हेरौं ।

प्रथम कुरो । आफ्नो कमर सत्यले कसेर (एफिसी ६ः१४) । सत्यचाहिँ लत्रक परेको, खुकुलो, लापर्वाही तरिकाको होइन । कस्नु पर्ने । पैन्ट, धोती, लुँगी आदि कसिएन भने फुस्कन्छ । कसियो भने हात फ्रि हुन्छ । नत्र घरीघरी माथि तान्नु पर्छ । झूट र झूटको पितासँगको युद्ध हो हाम्रो । सत्यताको छाप भित्रदेखि बाहिरसम्म कसिलो होस् । नक्कली, चाप्लुसी, मान्छेको अघि र पछि फरक होइन । कसिलो, चकिलो, पक्का । घरभित्र मान्छे जे हो खास मान्छे उही हो । दाउदको भनाइले हामीलाई गालै पार्छ, “म आफ्नो घरभित्र शुद्ध आचारणको जीवन बिताउने छु (भजन १०१ः२) । ख्रीष्ट, असल गोठालासँग निर्धक्क हिँड्ने चेलाचेलीको प्रथम चिन्ह – सत्यता ।

धार्मीकताको छाती–पाता (एफिसी ६ः१४) । यो धार्मिकता कमाउन सकिने, पैसो तिरेर किन्ने, तीर्थवर्तबाट, पुजारीसँग दाम, दस्तुर छिनोफानो गर्ने धार्मिकता होइन । हुँदै होइन । ख्रीष्टले नै सजाइदिनुभएको कवच हो । माथि भनेको कमरको सत्यताको नजिक र त्यै कमरको बलियो छिमेकी हो यो छातीको पाता । येशूको मृत्यबाट प्राप्त भएको धार्मिकता । धार्मिकता, जसको अर्थ हुन्छ परमेश्वरको नजरमा सफा, सटीक र ग्रहणयोग्य । कर्मको फल होइन । प्रतीकात्मक रूपमा भन्दा, हाम्रो आत्मिक मुटु, फोक्सो, धड्कन बचाउने, प्राणको रक्षा गर्ने उहाँले प्रदान गर्नुभएको छाती पाता । धार्मिकताको छाती पाता ।

खुट्टामा मिलापको, सुसमाचारको जुत्ता (एफिसी ६ः१५) । सुसमाचार । प्रभु आउनु भएको खुशीको खबर चारैतिर सबैलाई हो, नेपाललाई अनि सारा संसारलाई । हाम्रो लडाइँ मान्छेसँग होइन, अन्धकारका राजा, दुष्ट शैतानसँग हो । येशू महान मुक्तिदाताले हासिल गर्नुभएको जितबाट हामीले पाएको मुक्ति,  कमाएको प्रभुले अनि पाएको हामीले । दियाबलसले भोग्नुपरेको पराजयमा जन्माइएको मुक्ति । अब सबले सबलाई उद्घोष गर्ने ख्रीष्टको सुसमाचार । येशूले बचाउँछन्, उद्धार गर्छन् भनी दोहो¥याएर भन्ने स्वर्गको सन्देश र आदेश । सुसमाचार प्रचार गर्नेहरूका पाउँ डाँडाहरू हुँदो कति सुन्दर, जसले शान्तिको घोषणा गर्दछन् …(यशैया ५२ः७) । हेरक विश्वासीको खुट्टामा मिलापको, सुसमाचारको जुत्ता । जुनसुकै परिस्थितिमा ।  ‘जसो गर, जे भन, जतासुकै लैजाऊ हामीलाई’ त्यो पाउँको जुत्ता कसेकै होस् । खुशीको सुन्दर, शानदार समाचार ।

विश्वासको ढाल (एफिसी ६ः१६) । सबले उचालिरैछन् । म पनि विश्वासी, तिमी पनि विश्वासी, हामी सबै विश्वासी, अरू सबै अविश्वासी । होसियार । सबले उचालिरैछन् भनेर हामीले पनि विश्वास, विश्वास भन्दै यो ढाल उठाउने होइन । सोच पुराउनुपर्छ । तलतिर पैन्ट, सुराल सुल्किसकेको होला । सत्यतासहितको विश्वास भन्दैछ एफिसी । छातीको तक्मा होइन । बलियो बाहुलीको पकडमा आएको ढाल हो । परिआउँदा शैतानको अग्निवाणलाई मुकाबिला गर्ने ढाल । वाण भनेको इसपिडमा उडी आई चोट लाउने, खुत्रुक्कै पार्ने, ज्यान लिने हतियारको तीखो टुक्रो हो । आगो बोकेको वाण । जिउमा, जीवनमा आगो लगाइदिने काँड ।

ढाल भनेको सक्रिय प्रकारले देब्रे, दाहिने, माथि तल चनाखो, सतर्क बनी फुर्तीका साथ प्रयोग गर्ने रक्षात्मक हतियार हो । ताल से ताल लाखे नाचको नक्कली ढाल होइन । फेरि त्यसमाथि आइलाग्ने तिर पनि सिकारु सिपाहीले हानेको तिर होइन । ख्रीष्टमाथि समेत जाइलाग्न नडराउने निपुण, ऐतिहासिक, जीवित योद्धा दियाबलसले हाम्लाई हानिपठाको तिर हो । खतरनाक लडाइँ मैदानमा हाम्रो अवतरण भएको छ । हाम्रो विश्वास, सफा, सरल, सबल रहोस् । जीवनको हलुकापनहरू बन्द होस् । हतियार समाल्न, उचाल्न सर्वप्रथम गम्भीर प्रतिबद्धता जरूरी हुन्छ । एक दुईटा कसम खानु जरूरी छ । बाइबल पाठ सहितको आत्मसमीक्षा दिनरातको माग हो ।

नेपालका राज नेताहरू कहिल्यै फर्केर आउन नसक्ने बाटामा लर्को लागिसक्या छन् । पहिले इतिहास बोकेकाहरू अहिले उपहास ओडिरहेछन् । उनीहरूको विश्वास के हो, मत के हो, बाटो कुन प्रतिबद्धता कहाँ छ ? सब पोलीखाए । घरी कतातिर, घरी कतातिर कुदिरैछन् । हामीले हाम्रो बाटो, हाम्रो सत्य र हाम्रो जीवन दरिलो पक्रेर तिनलाई आम छलफल, अध्ययन र समीक्षाको जटिल विषय बनाइरहनुपर्छ । होहोरीमा यताउता कुद्ने मेरो र तपाईको दिन ठप्प बनोस् ।

मुक्तिको टोप (एफिसी ६ः१७) । ख्रीष्टमा पाएको मुक्तिले हामीलाई नयाँ जीवन, नयाँ बुद्धि, नयाँ विचार र दिमाग दिएको छ । हामी नयाँ सृष्टि भएका छौं । नयाँ दृष्टि पाएका छौं । संसारको हेराइ र हाम्रो हेराइ अब मिल्दैन । समाज जुन जुन कुराको लागि दौडिरहेको छ, हामी दौडिनुपर्दैन । विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूतिर हेर्ने स्वर्गीय अभिभारा हामीले पाएका छौं (हिब्रू १२ः२) । पृथ्वीभन्दा माथितिर हेर्ने सौभाग्य पाएका छौं । एफिसी कराइरहेछ, भित्री वर्तावमा नयाँ होओ, एफिसी चिच्याइरहेछ नयाँ स्वाभावलाई धारण गर । ख्रीष्ट मेरा मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको भन्ने मुक्तिको गाना पनि हाम्रो ओठमा फरफराइरहेछ । अझ मूल कुरो – मुक्तिको ज्ञान, मुक्तिको काम र मुक्तिको वास हामीमा जोगाउन मुक्तिको टोप लाउने कर्तव्य भुल्नु हुँदैन ।

मुक्तिमाथि प्रहार गरेर शंका पैदा गर्न सकियो अथवा विश्वासीलाई अधमरो सोचविचारमा रन्थनाउन सकियो भने शैतानले काम भ्याइहाल्यो नि । सक्सेस । विश्वासी ढल्यो, काम फत्ते । शैतानका युक्तिहरूको बारेमा हामी अन्जान, अनभिज्ञ रहनु खतरनाक कुरो हो (२ कोरिन्थी २ः११) यसकारण यो टोप, यो निशानी हामी नभुलौं । शिरमा मेरो सधैँ मुक्तिको टोप, सिंहासनमा बस्नेलाई सधैं मेरो ढोग, जीवनको पुस्तकमा मेरो नाम, एक दिन स्वर्ग राज्यमा मेरो प्रवेश । हाल्लेलूयाह । त्यही मुक्तिलाई मैले मलजल गरिरहनुपर्छ । “मुक्तिमा बढ्दैजान सक्नेछौ – मुक्तिको काम पूरा गर्न परिश्रम गर्नेछौं” (फिलिप्पी २ः१२, १ पत्रुस २ः१)

                आत्माको तरवार (एफिसी ६ः१७) । बाइबल झिकिनुपर्छ, खुलिनुपर्छ र पाना पल्टिनुपर्छ । आत्माको कुरो हो यो । आकृति र मूर्ति मात्र भए, त्यसैलाई जुम्ल्याह हात जोरेर हेरिरहँदा पुग्नेथियो । तर अक्षरहरू छन् पढ्नु पर्ने, वाक्यहरू छन् दिमागमा खोप्नु पर्ने । आज्ञाहरू छन् व्यवहारमा दर्शाउनु पर्ने । समाजमा छर्न, रोप्न, र बाँडनपर्ने यो बिउ, यही रोटी र दूध भनिने वचनले युद्धको बेला भयंकर तरवारको रूप धारण गर्नेछ । सबैमा त्यो अनुशासन छैन । पठन, अध्ययन अनि क्विज कन्टेस्ट बेलाको घम्साघम्सी बाहेक वचनको काम अंधकारको शक्तिलाई आक्रमण पनि हो । उचालेर हान्ने, ठोक्ने तरवार । शिरमा हेल्मेट अनि हातमा तरवार । उहाँको विरुद्ध पाप नगरूँ भनी वचन हृदयमा अनि दुश्मनको हमलामा नढलूँ भनेर त्यै वचनको धारिलो तरवार हातमा ।

विश्वासको ढाल त सबैले उचालेकै छन् । हामी सबै विश्वासी । तर वचनको तरवारै उज्जाउने, उचाल्ने र प्रहार गरी दुश्मनलाई ठिक पार्ने विश्वासी हो कि झोलाभित्रको बाइबल छामछुम गरी आत्तेर निकाल्दै “कता पो हो त्यो भर्स ?” भन्दै पल्याक र पुलुक, अक्क न बक्क पर्ने विश्वासी ?

तरवार त ढालको साथी हो । विश्वास भनिने ढाल वचन भनिने तरवारको साथी । अभिन्न साथी । एक हातले स्वरक्षा, अर्को हातले प्रहार । यो दुईधारे तरवारमा शान लगाइरहनुपर्छ । यसको पाठ, अध्ययन र विश्लेषण हरदम जरूरी छ । जीवनलाई चिन्न जीवनको वचनरूपी तरवारसँग परिचित बन्नुपर्छ । खेल मैदान र लडाइँको मैदानमा फरक छ । जीवनलाई तपाई कसरी लिनु हुँदैछ ?

                सब समय पवित्र आत्मामा प्रार्थना…(एफिसी ६ः१८) । यसलाई अन्तिम हतियारको रूपमा बुझ्नुपर्छ । प्रार्थना, परमेश्वर पितासँगको संवाद हो, कुराकानी, दुखेसो, गुनासो, जे भन्नुहोस्, सबै उहाँलाई बताउने हो । सब समय पवित्र आत्मामा भएर – कति राम्रो अनुभव । “सब समय” । कमर, छाती, पाउँ, शिर सबलाई आत्मामा समर्पण । हातहातमा ढाल र तरवार । पाउँमा सोझो खडा हुने अनि परमेश्वरको महान पराक्रमलाई अवलोकन गर्ने र जयजयकार चढाउने । “नडराओ, यस ठूलो सैन्य दलदेखि नआत्तिओ । किनभने लडाइँ परमप्रभुको हातमा छ, तिमीहरूका हातमा होइन ।” (२ इतिहास २०ः१५ ।) 

पवित्र आत्मामा भएर, पवित्र आत्मामा भरिएर, पवित्र आत्मामा भिजेर बाँच्न सिक्यांैं, वचनमा डुब्यौं भने यो सब सम्भव छ । खुबै जान्ने प्रचारक बनिस्, आइस् नभन्नुहोला है मित्र । यो वचन मलाई नै चाहिएको वचन हो । स्वर्गको राज्य जोखिमले भरेको खतरनाक खोजी हो, प्राप्ती हो । सबै होसियार । म नि र तपाई नि । आमिन् ।

लोकनाथ मनेन

323 Views

प्रतिक्रियाहरू

हाम्रो युद्ध र हतियार Reviewed by on . काम, कर्मले होइन मुक्ति पाउने । विश्वासले हो । विश्वास गरेपछि हात बाँधेर बस्ने, मस्त निदाउने पनि होइन । तिनीहरूको फलबाट चिन्छौ भन्नुभएको छ प्रभुले । कामहरू अह्र काम, कर्मले होइन मुक्ति पाउने । विश्वासले हो । विश्वास गरेपछि हात बाँधेर बस्ने, मस्त निदाउने पनि होइन । तिनीहरूको फलबाट चिन्छौ भन्नुभएको छ प्रभुले । कामहरू अह्र Rating: 0
scroll to top