Tuesday, January 23, 2018

अन्तिम इच्छा————(आत्मालाप)

April 3, 2015 5:49 pm by: Category: Literatures A+ / A-

10423883_669037486517010_2315697587133844106_nप्रश्न: बाइबल डुबेरै पढ्नुपर्ने किन ?

उत्तर: मृत्युको दिनको लागि |

अर्थ: मुर्दा शरीरलाई बाकसमा राख्दा मृत्यु सभामा बाइबल र स्वर्गका विषयमा मात्र छलफल गरिन्छ, होइन र ? जीवित हुँदा मान्छे वचनमा बाँचेको छ भने, त्यो दिनको बिदाइ सभा सुहाउँदिलो बन्छ |

प्रश्न: त्यसोभए के मर्ने दिनका लागि बाइबलीय जीवन जिउनु ? त्यो दिन त सब शेष हुन्छ नि, होइन ?

उत्तर: हो त्यही दिनको लागि | किनभने त्यो दिनदेखि मर्नेको अनन्त जीवन सुरु हुन्छ, होइन र ? सब शेष होइन, सब आरम्भ भयो | अनन्त जीवनको खास क्रियाकलाप सुरु भयो |

लोकनाथ मनेनद्वारा लिखित ‘साधु गिरिश’ भन्ने पुस्तकको यस अंशले मलाई मृत्योत्सव मनाउन प्रेरित गरेको छ र लेख्न मन लागेको छ आफ्ना अन्तिम इच्छाका केही हरफहरु |

जीवन सुन्दर छ है ? अति सुन्दर…तर भोग्नेहरुलाई थाहा छ कहाँसम्म र कहाँनिर मात्र सुन्दर छ जीवन | यसो भन्दैमा म निराशावादी भने पक्कै होइन | यो संसारमा जन्मियो, हुर्कियो अनि अशक्त भई आजीवन कुँजियो | अशक्त भएकैले जीवनको सुन्दरतालाई सीमांकन गर्न मन लाग्यो र गरियो पनि |

अस्ति भर्खर मेरो तीसौं जन्मदिन आएर गयो | तीन दशकको यो लामो समयमा मैले के गर्न सकें र ? भनी तुलोमा जोख्दा मेरा तीनवटा प्रकाशित पुस्तक हेरेर गर्व गर्न मन लाग्छ | भलै मेरा पुस्तक कसैले नपढेका होउन् तर मर्नुभन्दा अघि कृति राख्न भानुभक्तलाई घाँसीले प्रेरणा दिएझैं मलाई पनि त्यही कथाले प्रेरणा दिएकै हो | यसकारण, अब म केही गर्न सकिनँ भनी रुन्न बरु ‘यति भा’नि गर्न सकें नि’ भनी सन्तुष्टिको सुस्केरा हाल्छु |

मैले मेरी आमा र भाइको मृत्युलाई नजिकबाटै देखें | मेरो भाइ मझैं अशक्त थियो, त्यसमाथि बिरामीले दुई महिना थला पर्यो | एक रात ‘ऐया ! ऐया !’ भन्दै चिच्यायो, हतार-हतार सरकारी अस्पताल पुर्याईयो तर त्यहाँ राख्नु मानेन अनि प्राइभेट अस्पताल लगियो (जसले ढाड सेक्ने गरी शुल्क असुल्यो) | त्यहाँ आइ.सी.यू.मा राखियो, नानाथरिका औषधि सलाइन पानीको माध्यमद्वारा दिइयो, ‘के भा’को’ भन्दा ‘डाइबिटिज’ रे | मलाई त यो रोगबारे थाहा नि थिएन, परमेश्वरमाथि भरोसा राखें | आखिर ‘हुने हार, दैव नटार’ भनेझैं भोलिपल्ट उसले सदाका लागि हामीलाई छोडेर गयो |

भाइ गएको एक वर्षपछि आमाको स्तन क्यान्सर बल्झियो | हामीलाई त्यो रोग खतरनाक भन्ने थाहा त थियो तर प्रभुले निको पार्नुहुन्छ भन्ने कुरामा ढुक्क थियौं तर यो संसारलाई छाड्ने एउटा मेसो रहेछ क्यारे, मेरी प्रिय आमाले अन्तिम ७ महिनासम्म पीडा सहेर सधैंको लागि हामीलाई छाडी जानुभयो |

केही समय त म परमेश्वरसँग रिसाएँ तर उहाँले मेरी आमालाई लग्नुको उद्देश्य मलाई छर्लंग देखाइदिनुभयो | अन्ततः म आज खुशी र सन्तुष्ट छु | अब मेरो अन्तिम इच्छा अर्थात् मेरो मरण यस्तो होस् भन्ने चाहन्छु | मेरो भाइ र आमाले त संसार छाडेर गए-गए, जाँदा-जाँदै बुढो बाबाको थाप्लोमा गह्रुङ्गो ऋणको भारी पनि बोकाएर गए | भाइलाई र आमालाई उपचार गर्दागर्दा लाखौं ऋण लाग्यो | मर्नु नै छ भने उपचार गर्नु नपर्ने गरी मर्नु बेस लाग्यो मलाई | दुर्घटनामा परेर त्यत्तिखेरै ठहरै हुनु जाती वा राति सुतेकै अवस्थामा सुत्या-सुत्यै हुनु जाती |

सबभन्दा उत्तम त मलाई सुतेकै अवस्थामा सधैंलाई निदाउनु श्रेयस्कर लाग्यो | अनि म कल्पन थालें-‘सुती-सुती मर्न पाए हुन्थ्यो बरु…उपचार गर्दा ऋणको भारी त बोक्नुपर्दैन नि परिवारले…| तर मलाई फिटिक्कै थाहा थिएन, अर्को मनले सधैं हकार्थ्यो-‘मूर्ख ! सुती-सुती पनि कोही मर्छ ?’ अनि किन-किन मलाई यसप्रति जिज्ञासा जाग्न थाल्यो | आजसम्म प्रभुले मलाई यत्ति आशिष दिनुभा’छ कि मैले कुनै कुराप्रति जिज्ञासा राखें भने चाँडै त्यसको जवाफ कतै न कतैबाट पाइहाल्छु | त्यस्तै भयो यतिखेर पनि |

सुरुमा इन्टरनेटबाट थाहा भयो, दुई-चारजना मलेसियामा कार्यरत स्वस्थ नेपालीहरु सुतेको सुत्यौ भए रे | मलाई अचम्म लाग्यो, ‘यस्तो नि हुने रै’छ’ भनी बुझें | पछि हाम्रै मण्डलीका एकजना ३२ वर्षे दाजु पनि सुतेको सुत्यै भए | उहाँलाई अलिअलि पेट दुख्ने समस्या थियो रे, औषधी खाँदै थिए रे तर अचानक मृत्युको मुखमा पुगे | उहाँकी श्रीमती र नाबालक छोरीको बिचल्ली भयो |

त्यसको ठीक एक महिनापछि मेरी आफ्नै बुहारीको ठुल्दाई अचानक सुतेको सुत्यै भए | उहाँलाई पहिल्यैदेखि रक्तचापको समस्या थियो रे अनि राति रक्तचाप उच्च भएर सुतेको सुत्यै भएका रे | मलाई दुःख त लाग्यो तर मैले पुरानो जिज्ञासाको जवाफ पाएँ | अनि त्यसैले मेरो अन्तिम इच्छा त्यस्तै गरी मृत्युवरण गर्न पाइयोस् भन्ने छ |

हुन त एउटा विश्वासीले ख्रीष्टको जस्तै कष्टमयी मृत्यु पनि सहन तयार रहनुपर्छ | हो, मलाई स्टिफ्नस, पावल, यूहन्ना वा इराकी ख्रीष्टियानले बेहोरेकोझैं मृत्यु मान्य छ तर ख्रीष्टको खातिर त्यसरी मर्न नेपालमा विरलै पाइन्छ | त्यसैले पनि मलाई त्यो नै सहज मृत्युको लालसा भएको हो |

‘अरे मृत्युमा सहजता खोज्ने तँ त मूर्ख र स्वार्थी होस्’ भनी एउटा आवाजले धिक्कार्यो तर म फेरि भन्छु, ‘प्रभु ! त्यो अविश्वासी (बुहारीको दाइ)ले त सहज मृत्यु पायो भने मैले नि किन नपाउने ? अर्को विश्वासी दाइले पनि त्यस्तै मृत्यु पाए क्यारे !…म मेरो मृत्युअघि कसैको निद्रा हराम नहोस् र बाँचेकालाई ऋणको भार नहोस् भन्ने चाहन्छु | त्यत्ति हो |’

वास्तवमा विश्वासीले त हाँसी-हाँसी आनन्दैले मर्न पाउनुपर्छ, होइन र ? म कुनै प्राणघातक रोगले थलिएर मेरी आमा वा भाइलेजस्तै ‘ऐया ! ऐया !’ को दर्दनाक चित्कार निकाल्दै तड्पिन चाहन्नँ बरु मीठो निदरीमा मेरा दुलाहा मलाई जन्ती लिएर धुमधामले लिन आएका र म परमसुन्दरीझैं सिँगारिएर झ्यालबाट उहाँ आउने बाटो मुस्कुराउँदै हेरिरहेको सपना देख्न पाऊँ अनि साँच्चिकैकोमा पनि मेरो ओंठ कान-कानसम्म फैलिएको होस् | सपनीमै मुस्कुराउँदै दुलाहा आएर मलाई लैजाओस् अनि म चीरनिद्रामा पनि मुस्कुराएकी होउँ | ‘अरुना त खुशीसाथ प्रभुको घरमा गइछ, हेरहेर कस्तरी हाँसेरै सुतेकी’ भनेर कानेखुशी गरियोस् | आखिर मृत्यु त अनन्त जीवनको ढोका पो त जहाँ प्रवेश गर्न पाउनु कस्तो अहोभाग्य हो | अनि त्यो दिनको त उत्सव  मनाउनुपर्ने हो, संसारको मान्छेको आँखामा आँसु भएपनि आफ्नो चाहिं त्यो उत्सवको स्वागतमा ओंठ कान-कानसम्म फैलिरहोस् |

अँ, अर्को कुरा, मैले मातृशोक र भातृशोकको सामना त गरें-गरें, अब मलाई पितृशोकको चाहिं सामना गर्ने इच्छा छैन | मेरो इच्छा छ, म मेरा प्रिय बाबाभन्दा अघि नै जाऊँ | हुन त कतिखेर दुःख लाग्छ, मैले जीवनभर आमाबालाई सुख दिन सकिनँ, बरु उल्टो दुःखै-दुःख दिएकी छु | दुःख मानेर सुख छैन, जे हुनु थियो, त्यो त सहर्ष स्वीकारी भोग्नुको विकल्प छैन | आमाले अन्तिम घडीसम्मै बोकेरै मलाई स्याहार्नुभयो, अचेल बाबाले चाहिं मलाई व्हिल्चियरमा गुडाएरै संसार देखाउनुभा’छ | यस्ता प्रिय पिताको अन्तिम घडीसम्मै म जिउँदो हुन चाहन्नँ | अनि म प्रार्थना गर्छु, ‘प्रभु ! मलाई मेरा बाबाभन्दा अगाडि नै लैजानोस्……..तर…मेरो होइन प्रभु, तपाईकै इच्छा पूर्ण होस् |’

अनि अँ, कहिले त के सारो मलाई नि मात चढ्छ | व्हिल्चियरमै भएपनि स्वावलम्बी जीवनयापन गरिरहेका मेरा साहसी मित्रहरुलाई देख्दा मलाई ईर्ष्याले प्रोत्साहन दिन्छ अनि के सारो, म पनि मनमनै कल्पन्छु, ‘म पनि एकदिन स्वावलम्बी भएर देखाउँछु, मेरो खुट्टा काम नलाग्ने भएपनि हात काम लाग्छ भन्ने सबलाई देखाउँछु’ | इच्छा, भावना वा सपनाको उत्सर्गमा पुगेर म प्रभुलाई प्रार्थना गर्न पुग्छु-‘प्रभु ! यो छोंटो जीवनमा मर्नभन्दा अघि एकदिनको लागि मात्र भएपनि स्वावलम्बी हुन पाऊँ |’ अनि ‘तिमीहरुले मेरो नाउँमा जेसुकै मागेतापनि त्यो पाइसकेको छौ भन्ने कुरामा विश्वास गर र त्यो तिमीहरुको हुनेछ’ भन्ने प्रभुकै वचनका कारण म स्वावलम्बी भइसकेको विश्वास गर्दै खुशीले पुलकित हुन पुग्छु |      

थाहा छैन, यो अन्तिम इच्छा पूरा होला कि नहोला तर आजसम्म मेरा हृदयका तमाम जायज इच्छालाई “आमेन” भनिदिने प्रभुले यसमा पनि “आमेन” नभन्लान् कि भनी उदास म हुन्न बरु मलाई आफ्नै नजिक त्यो जवाफी उदाहरण पाउँदा पो खुशी लाग्या’छ किनकि यसकारण म जिज्ञासामा नाजवाफ भई भौंतारिरहेको प्रभु पक्कै नचाहनु हुँदो रहेछ भनी जानें | कसो मलाई त कान-कानसम्म मुस्कुराउन मन लाग्यो नि ! अनि मलाई कवि बालकृष्ण समले कोरेको “इच्छा’ कविताझैं त्यसको प्यारोडी रच्न मन लाग्यो र यसरी रचें पनि:-

इच्छा यो छ, येशु अन्तिम जसै त्यो, मृत्युशय्या परी,
देही पीडामा अन्यौल भई, नगरूँ म कत्ति छटपटी |

त्यो बेला मनमा उर्लोस, बाइबलकै बचन,
जे-जेमा छ, अनन्त आनन्दको चुम्बन |

मेरो ओंठमा मुस्कान होस्, देखियोस् दिव्य शान्ति,
यो मरी कि ज्युँदै? लोकमा परोस् न भ्रान्ति |

:–) हाहाहा…! मैले यत्ति प्यारोडी रच्दा म त हाँसें-हाँसें, मेरो छेउमा हुनुभएको प्रभु पनि हाँस्नुभएको भान पर्यो मलाई | हल्लेलुयाह !

(समाप्त)

577 Views

प्रतिक्रियाहरू

अन्तिम इच्छा————(आत्मालाप) Reviewed by on . प्रश्न: बाइबल डुबेरै पढ्नुपर्ने किन ? उत्तर: मृत्युको दिनको लागि | अर्थ: मुर्दा शरीरलाई बाकसमा राख्दा मृत्यु सभामा बाइबल र स्वर्गका विषयमा मात्र छलफल गरिन्छ, हो प्रश्न: बाइबल डुबेरै पढ्नुपर्ने किन ? उत्तर: मृत्युको दिनको लागि | अर्थ: मुर्दा शरीरलाई बाकसमा राख्दा मृत्यु सभामा बाइबल र स्वर्गका विषयमा मात्र छलफल गरिन्छ, हो Rating: 0
scroll to top