Tuesday, October 24, 2017

नेपाल धुलोमा लडेको भए पनि फेरी उठ्नेछ, अघि बढ्नेछ- नारायण शर्मा (अन्तर्वार्ता)

June 11, 2015 10:14 pm by: Category: Gallery, Interviews A+ / A-

बैसाख १२ को महाभूकम्प र त्यसपछि नेपाली मण्डलीले गरेका उद्धार तथा राहत वितरणका सवालमा विलिभर्स चर्च नेपालका प्रमुख विशप डा. नारायण शर्मासँग श्रवन बोम्जनले गर्नुभएको कुराकानी:

१. जयमसिह विशप ज्यु ! नेपाली ख्रीष्टियन डट कममा यहाँलाई स्वागत छ ।

Bishop Dr. Narayan Sharma

Bishop Dr. Narayan Sharma

तपाईंलाई पनि धन्यवाद ! ढोका खोलिदिनुभएकोमा । क्षमा चाहन्छु, धेरै ढिलो गरी जवाफ पठाउँदै छु ।

२. आजकाल केमा व्यस्त हुनुहुन्छ ?

व्यस्त छैन, म सामान्य अवस्थामा नै छु । तर राहतको कार्य र अन्य गतिविधितिर लागेको छु ।

३. बैशाख १२ को भूकम्पमा तपाईं कहाँ हुनुहुन्थ्यो ?

त्यस दिन र समयमा म स्थानीय मण्डली जावलाखेलको सेवामा नै संलग्न थिएँ । नेपाली बाइबलको सय  वर्षको इतिहासको वर्णन गरिरहेको थिएँ ।

४. बिलिभर्स चर्च नेपालको छोटो परिचय दिनुहोस् न ।

बिलिभर्स चर्च नेपालका अन्य चर्च समुदायहरूजस्तै आफ्नो मौलिकता बोकेको नेपाली नेतृत्वमा रहेको चर्च मण्डली हो । यो आफैमा विशिष्ट यसकारण छ कि, यो एक एपीसकोपल एक्लेसिलया संरचनामा संचालित मण्डली हो । यस मण्डली सम्बन्धी सम्पूर्ण जानकारी “ बिलिभर्स चर्च मार्गनिर्देशनका सिद्धान्तहरु”  नामक (२१८ पृष्ठ) पुस्तकमा उल्लेखित छ । यो पुस्तक जिएफए बुकस्टोर बाट रू. १०० मा प्राप्त गर्न सक्नुहुनेछ ।

५. तपाईंहरूले ठुलो परिमाणमा राहत वितरण गर्नुभएको सुन्नमा आएको छ, के यो सत्य हो ?

राहत भन्ने कुरा ठुलो वा सानो हुँदैन । तर भूकम्प गएको भोलिपल्ट देखि नै हाम्रो चर्चले यस परिस्थितिलाई काम र सेवाद्वारा सुसमाचार प्रचारको माध्यमको रुपमा लियो । हाम्रा पास्टर र सहकर्मीहरूले अस्पताल र टुंडीखेल मैदानमा पीडितहरुको माझमा पिउने पानी बाँड्ने काम सुरु गर्नुभयो ।

६. राहत वितरणको काम कहिलेदेखि सुरु गर्नुभयो ? कुन-कुन जिल्लामा पुग्नुभयो ?

राहतको सेवा तुरुन्तै सुरु भयो । रकमको अभावले गर्दा यो सेवा केही हदसम्म अस्पतालमा स्वयंसेवक तथा पिउने पानी वितरणसम्म मात्र सीमित थियो भने केही दिनभित्र नै मण्डली कोष र अन्य मित्रहरुको सहयोगमा राहतको सेवाले निरन्तरता पायो । सबै जिल्लामा पुगिएको छैन ।

७. काठमाडौं र बाहिरी जिल्लाका पीडितहरूको अवस्थामा कुनै अन्तर देख्नुभयो ?

काठमाडौं र ललितपुरमा धेरै अन्तर्राष्ट्रिय र टुरिस्ट टाइपका राहतकार्य व्यापक पाइयो भने धरै दुर्गम ठाऊँहरुमा राम्ररी राहत नै नपुगेको अवस्था पनि छ । कतिपय ठाऊँमा राहतभन्दा पनि प्रेम र सरोकारको आवश्यकता महसुस गरियो । मैले नेपालीहरू हृदयमा बलिया हुँदारहेछन् भन्ने थाहा गरें । कतिपय दुर्गम ठाऊँमा हामी पुग्दासम्म त आफ्नो घर आधासम्म पुनर्निर्माण गरिसकेका थिए । स्वाभिमानीहरूका स्वाभिमानलाई महाभूकम्पले पनि ढाल्न नसक्दोरहेछ ।

८. तपाईंहरूको नजरमा सबैभन्दा दयनिय अवस्थामा रहेका केही ठाउँहरू कुन-कुन हुन् ?

घर ढलेको र आफ्ना मान्छेको मृत्युको पीड़ा खप्दै गरेको पीडितको अवस्था जहाँ पनि एउटै जस्तो लाग्यो । उहाँहरूको पीडाले सीमा नाघेको जस्तो लाग्यो । धादिङ कपूरगाऊँमा एकजना दिदी जसले आफ्नो श्रीमान यस महाभूकपमा गुमाउनुभयो, हामीसँगको कुराकानीको क्रममा भन्दैहुनुहुन्थ्यो: त्यस दिन देखि आजसम्म रात र दिनको थाहा छैन ! जति पीड़ा भए पनि राहत लिन आएका बेलामा उहाँहरुको अनुहारमा मुस्कान देख्दा हामीलाई नै अप्ठयारो लाग्दथ्यो । पीडाको अवस्थामा पनि प्रशन्नता प्रकट गर्नु एउटा ठुलो साहस नै हो ।

९. कति परिमाणमा राहत वितरण गर्नुभयो ? दाल, चामल, चिउरा, त्रिपाल, केही विवरण छ ?

बाँडेको राहतको सामाग्रीहरुको अहिलेसम्म कुल संख्या गणना गरेका छैनौं । पछि कुनै दिन आवश्यक परेमा गर्नेछौं । हामीले प्राथमिक राहतको रूपमा यस्तै सामाग्रीहरू वितरण गरेका छौं ।

१०. राहतका वितरणको निम्ति कति जति रकम खर्चनुभयो ?

टाकन-टुकन गर्दा त एक करोड नाग्ला कि ? अझ पनि लामो यात्रा छ, राहत र सहयोगको । हामीले ह्रदय खोलेकोले गर्दा हाम्रो पटुका भर्ने गरी परमेश्वरले हालिदिनु भयो । काठमाडौंमा आठवटा मण्डली तर कुनै जग्गाजमीन र आफ्नो मण्डली भवन नै समेत नभएको बिलिभर्स मण्डली समुदायले यति गर्न सकेकोमा हामी आफै आश्चर्यचकित छौं । हामीले यो विषम परिस्थितिलाई सेवाको सुसमाचार बाँड्ने ठुलो अवशरको रुपमा लिएका छौं ।

११. यति ठुलो रकमको व्यवस्थापन कसरी गर्नुभयो ?

हामीसँग छैन, तर ख्रीष्टप्रभुको मण्डलीसँग प्रशस्त छ ! पोका मात्र खोल्नु पर्यो ! हामीलाई धरैले प्रार्थना र सहयोग गरेका छन्, त्यसर्थ राहतको सेवामा अघि बढ्न सकेका छौं । खाँचो परेको बेलामा मित्रहरुको पहिचान पनि हुन्छ ।

१२. राहत वितरणमा बिलिभर्स चर्च समुदायबाहेक अरू चर्चहरूको भूमिका कस्तो पाउनुभयो ?

हामीलाई लाग्छ, सक्ने र जान्नेले भ्याएको गरेका छन् । राहत र सहयोगका पाटाहरू धेरै छन् – कति  देखिन्छन्, कति देखिदैनन् । कतिपय चर्चका निम्ति आफ्नो कार्यक्रम, आफ्नो जग्गा र आफ्नो भवन महत्वपूर्ण पनि हुन सक्छ; र यस्ता कुराले मण्डलीको पर्खाल बाहिर आएर सेवा गर्न अलिक गाह्रो हुन्छ । नेपाली मण्डलीको निम्ति नुन र ज्योति बन्ने यो एउटा अवसर हो भन्ने हामीलाई लागेको छ । राहतका धरै त्यस्ता सेवाहरु पनि छन्, जुन गर्दा पैसा पर्दैन, हृदय मात्र चाहिन्छ ।

१३. भूकम्प पीडितलाई राहत बाड्न जाँदा बाइबल पनि बाँडियो, धर्मपरिवर्तन गर्नेहरूलाई पक्की घर बनाइदिने अफर पनि केही आयो भन्ने सुनिन्छ नि ?

नेपालमा मैले देखेको कुरा के छ भने यहाँ ‘भुसुना’ पत्रकारिताले ब्यापकता पाएको छ । पार्टीले चलाएको मिडीया ग्रुपहरू पनि छन् । आवश्यकताभन्दा बढी मिडियाका माध्यम (छापा र ई-मिडिया, टेलिभिजन, रेडियो) उपलब्ध छन् । तात्तातो समाचारको आवश्यकताले यस्ता बकमफुसे झुटा खवरहरूले मलजल पाएका हुन् । यस्ता समाचार स्वाभिमानी नेपालीको अपमान हो । नेपाली संघर्ष गर्छन् तर आफैलाई बेच्दैनन् । यस्ता समाचार आउनु भनेको मानवअधिकार र प्रजातान्त्रिका मूल्य र मान्यताको ठाडै विरोध गर्नु पनि हो ! प्रत्येक ख्रीष्टियनले आफ्नो झोलामा परमेश्वरको वचन तथा पर्चापुस्तिका पनि राख्छ र कसैलाई दियो होला पढ्नलाई; त्यो कामलाई कुनै अपराधको रुपमा म लिन्नँ । सरकारले धार्मिक आयोग वा मन्त्रालय नबनाएसम्म यस्ता खबरले निरन्तरता पाइररहनेछन् । रह्यो कुरा घरको – यो अति नै मनगढ़ंते कुरा हो ।

१४. बिलिभर्स चर्चले प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि कान्तिपुर मिडिया समूहमार्फत १० लाख प्रदान गरेको छ, यो विचार कसरी आयो ?

हामीलाई बाइबलले शासकहरूलाई प्रार्थना गर्न र उनीहरूप्रति सकारात्मक दृष्टीकोण राख्न सिकाएको छ । सरकारमा रहेकाहरू पनि हाम्रै मान्छे हुन्- उनीहरूले हाम्रो विरोध र खेदो गरे तापनि यसले वास्तवमै केही फरक पार्दैन । महाभूकम्पजस्तो अति अप्ठयारो समयमा सरकारलाई चर्चले सहयोग गर्नु एउटा उदाहारण हुनेछ भन्ने हामीलाई लाग्यो र सबैले देख्ने गरि सरकारलाई सहयोग गर्यौं ।

१५. बिपतको यो समयमा नेपालका इसाई मण्डली तथा संघसंस्थाहरूले गरेको कामहरूको उचित मूल्यांकन नेपाल सरकारले गर्ला ?

मण्डली चर्च र ख्रीष्टियन संघसंस्थाले गर्ने काम र सेवा परमेश्वरप्रति गरिएको आराधना र आज्ञापलानको एकरूप भएकोले सायद सरकारले थाहा नपाउला । सरकार त के कतिपय कामहरू मिडियाले समेत थाहा पाउँदैनन् । हाम्रा इनाम र तक्माहरू माथि स्वर्गमा राखिएका छन् । तर पनि हामी विश्वस्त छौं – नेपाल सरकारले उपयुक्त समयमा नेपाली इसाई समुदायको प्रार्थना र राहत सहयोगको मूल्याङ्कन अवश्य गर्नेछ ।

१६. वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिको नेपालको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

नेपाल धुलोमा लडेको भए पनि फेरी उठ्नेछ । अघि बढ्नेछ । नेपाली जनता मिहिनेती छन् । आशा बोकेका छन् । रात्री पछि बिहानी आउनेछ । भूकम्पको दुई हप्तापछि म एउटा दुर्गम गाउँमा पुग्दा त्यहाँका धेरैले आआफ्नो घरको पुनर्निर्माण गरिराखेको देखें । तिनलाई कसैको राहत र ऋण चाहिएन– आफ्नो शिर ठाडो पार्न आफै सक्षम छन् नेपाली । वीरताको नाम कमाएका नेपाली लडेर पनि उठ्न जानेका छन् । यो देश उठ्छ, विचार माथि उठ्छ । परिस्थिति परिवर्तन हुनेछ ।

१७. अब आउने दिनको योजना के छ ?

अरु सॅंगसॅंगै भई अघि बढ्ने । आफ्नो बोलावटप्रति समर्पित रहने ।

१८. यहाँहरूलाई जानकारी नै होला, अहिले नेपालमा सयौंको संख्यामा चर्च भवनहरू पनि भत्किएका छन्, तिनका पुनर्निर्माणका निम्ति यहाँहरूका योजना के के न् ?

बिलिभर्स चर्चका १७ वटा चर्च भवन भत्किएका छन् – यो आफैमा हाम्रा निम्ति धेरै ठुलो भार हो । हाम्रो सोच भन्दा बाहिरको कुरा हो । तर यिनै टुटेफुटेका जीवन र अवस्थाहरूको माझ परमेश्वरले आश्चर्यकर्म गर्नुहुन्छ । नेपालभरि झन्डै ३०० वटा मण्डली भवन भत्किएको भन्ने खबर पाएको छु । धरै मण्डली पालमा चलिरहेका छन् । मलाई लाग्छ अब नेपाली मण्डलीहरुले नयाँ रूप पाउनेछन् ।

१९. सरकारले भत्किएका चर्च भवनहरूलाई पुनर्निर्माणमा सघाउँछ जस्तो लाग्छ कि लाग्दैन ?

सरकारलाई गाह्रो छ । गल्ती भएको छ, मन्दिर, मस्जिद र गुम्बाको पुनर्निर्माणका निम्ति संरचना र खाका बनेको छ । तर चर्चलाई बिर्सेका छन् । यो अवस्थामा धेरै अप्रजान्त्रिक र अन्यायपूर्ण विभेदको काम सरकारले चर्चप्रति गरेको छ । हाम्रो निवेदन प्रधानमन्त्री समक्ष पुगिसकेकाले म आशा गर्छु, केही सकारात्मक विचार र सहयोग प्राप्त हुनेछ ।

२०. सरकारले सहयोग नगरेको अवस्थामा सबै चर्चहरू पुनर्निर्माण हुन सक्दछन् ?

चर्च मण्डली भवन सरकारले बनाएको होइन । बिगतमा त कतिपटक सरकारले चर्च भत्काउने कामसमेत गरेको छ । भत्केका मण्डली बनाउने काममा सरकारको सहयोग केही मात्रामा भए पनि हुनुपर्छ, यो नै  इसाईहरूप्रति सरकारको ठुलो सद्भाव र सम्मान हुनेछ । त्यति मात्रै होइन अन्तर्राष्ट्रिय रूपले नेपालले एक पूर्णप्रजातान्त्रिक राष्ट्रको रूपमा पहिचान पाउनेछ । मण्डली भवन उठ्नेछन्, पुनर्निर्माण हुनेछन्, मलाई यसमा शंका छैन । तर यसैक्रममा कतै चर्चहरूका साइनबोर्ड फेरिन्छन् कि भन्ने शंकाचाहिॅं लागेको छ । कोही विदेशी दाताहरूले आफ्नो स्वार्थअनुरुप फेरी चर्चका नयाँ नामाकरण गर्छन् कि भन्ने लागेको छ ।

२१. अन्तमा केही भन्नुहुन्छ ?

मलाई यो अवस्था नेपाली मण्डलीलाई एउटा “ सेवाको अवसरको स्वर्णीम समय”  जस्तो लाग्यो । भोलि यो समय हुंदैन । मैले धेरैले सेवा गरेको र रमाएको देखें, खुशी लाग्यो सेवाको निम्ति सधैं धन नै चाहिन्छ भन्ने छैन, मन भए पनि पुग्छ । धेरैले प्रार्थना पनि गरिरहेका छन् । तर यहि अवस्थाको माझ कोही यस्ता पनि छन्: जो सन्दर्भ नबुझीकन “एउटा हातले दिएको अर्को हातले थाहा नपाओस्”  भन्दै शिक्षा बाँडीरहेका छन् । ती व्यक्तिहरूले मत्ति ५:१६ मा येशूले भन्नुभएको कुरा सायद पढ्न भ्याएनन होला: “त्यसरी नै सबैले तिम्रो असल काम देखून् र स्वर्गमा हुनुहुने तिम्रो पिताको प्रशंसा गरुन् ।” हामीले कुनै प्रकारको व्यक्तिगत चर्चा परिचर्चा नखोजिकन मण्डली/चर्चको सेवालाई पहिचान गराउने प्रयास गरेका छौं ।

पुनर्निर्माण तथा पुर्नस्थापना बाइबलीय परमेश्वरको सन्देश हो र यो परिस्थितिमा हाम्रो राष्ट्रले चर्च/मण्डली र प्रभुका जनहरुबाट भरपूर सहयोग र सहारा पाउनुपर्छ । हामीलाई पनि हाम्रो कर्तव्यवोध र मूल्याङ्कनको समिक्षा आवश्यक छ ।

EQNPL-2_RTA9140_RTA6271-2DSCN9913

637 Views

मलाई मनपर्यो l (31)मलाई मन परेन l (1)

प्रतिक्रियाहरू

नेपाल धुलोमा लडेको भए पनि फेरी उठ्नेछ, अघि बढ्नेछ- नारायण शर्मा (अन्तर्वार्ता) Reviewed by on . बैसाख १२ को महाभूकम्प र त्यसपछि नेपाली मण्डलीले गरेका उद्धार तथा राहत वितरणका सवालमा विलिभर्स चर्च नेपालका प्रमुख विशप डा. नारायण शर्मासँग श्रवन बोम्जनले गर्नुभ बैसाख १२ को महाभूकम्प र त्यसपछि नेपाली मण्डलीले गरेका उद्धार तथा राहत वितरणका सवालमा विलिभर्स चर्च नेपालका प्रमुख विशप डा. नारायण शर्मासँग श्रवन बोम्जनले गर्नुभ Rating: 0
scroll to top