Tuesday, October 24, 2017

दाइ र चर्चको गितार – कान्तिपुर संवाददाता

August 21, 2015 2:19 pm by: Category: Literatures A+ / A-

15082015024459guitar-ra-baible-600x0नरम स्वभावका हरिचन्द्र गजमेर दाइ कडा कम्युनिस्ट र कडै क्रिस्चियन थिए । उनको झोलामा अक्सर ‘पवित्र बाइबल’ र नेकपा एकता केन्द्रका दस्तावेज हुन्थे । क्रिज हालेका लुगा, सुगन्धी अत्तर, सम्याएर कोरेको कपाल, साथमा सधैं पुस्तक, अर्थात् हरिचन्द्र दाइ ।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको एकता केन्द्रको खुला संगठन तिनताक ‘जनमोर्चा’ नामले परिचित थियो । आफ्नै रुखको हागाबाट भाँचिएर बनेको भूमिगत माओवादी पार्टीसँग जनमोर्चाको तिक्त सम्बन्ध थियो । हरिचन्द्र दाइ माओवादीको कडा विरोध गर्थे ।

बुबासँग हरिचन्द्र दाइको मिल्ती कडै थियो । पठन, चिन्तनको साझा प्यास । घन्टौं अध्ययन र बहस गरेर बसेको मैले देखेको थिएँ । हजुरबा हुन्जेल हरिचन्द्र दाइले घरमा प्रवेश पाएनन् । २०४९ सालमा हामी मूलघरबाट छुट्टियौं । आमा संकोच मान्नुहुन्थ्यो, तर नयाँ घरमा कमरेड हरिचन्द्रलाई रोक्ने कसले !

कुन्नि कसो कसो, हरिचन्द्र दाइ क्रिस्चियन भएछन् । त्यसताका बुबाको शिक्षण घरअपायक थियो । हरिचन्द्र दाइको कायाकल्प सुनेर उहाँ छक्कै पर्नुभएको थियो । बुवा नरम वाम, हरिचन्द्र दाइ क्रान्तिकारी वाम । हरिचन्द्र दाइ क्रिस्चियन भएको बुवालाई मन परेन । उहाँले एकाधपल्ट चर्चा पनि गर्नुभयो ।

तर हरिचन्द्र दाइ क्रिस्चियन भएकामा म भने औधि खुसी थिएँ ।

मेरो खुुसीमा धार्मिक आस्था भने एकरत्ति थिएन । कारण भने अहिले सम्झँदा रोचक लाग्छ । उनीसँग बुबाको कम, मेरो दोस्ती अचाक्ली बढेको थियो ।

हरिचन्द्र दाइले गाउँका गजमेर, विश्वकर्मा, लिम्बू, तामाङ र गुरुङहरूलाई परमेश्वरको पथमा लामबद्ध गराइसकेछन् । उनीहरू मिलेर सप्तमी बजारमा संगति चर्च खोले । प्रार्थना र भजन गर्ने ठाउँ बनाए । केही महिना नबित्दै उनीहरूले गितारसमेत किनेर ल्याए । मेरो मन त्यही गितारका तारहरूमा तरंगित भएको थियो । साथी जंगबहादुर थापा मगरको आत्मा पनि गितार छुने अभिलाषाले भट्किइरहेको हुन्थ्यो ।

घाम र भुईंकुहिरो मिसिदै बतास चलिरहेको वर्षायामको कुनै दिन बजारमा गितार गुन्जियो । तालिम पाएका केही संगीतकर्मी पनि थिए ।

‘लौ दाजु सुन न

लौ दिदी सुन न

येशुको वचन ।’

भजन सटीक थियो, संगीत मनोहारी । हरिचन्द्र दाइले बीचमा प्रभुको सन्देश सञ्चार गरे । ‘हाम्रा सबै पापहरूलाई क्षमा दिने परमप्रभु परमेश्वर’ लाई हतार हतार सामूहिक कृतज्ञता व्यक्त गरियो । हाम्रो ध्यान गितार बजाउन पाइन्छ कि पाइन्न भन्नेमा थियो, प्रभुको कुरो त त्यस्तै हो ।

हाम्रो रुचि बढेको बुझेर होला, जंग र म दुवैलाई कन्भिन्स गर्न हरिचन्द्र दाइ आए । ‘तपाईं यो बाइबल टाउकोमा राखेर बाहुनको गोठसम्म हिँड्नुस् भाइ,’ बजारभन्दा आधा घन्टा परको बाहुनको गोठ नामक टोलतिर देखाउँदै उनी भन्थे, ‘तपाईंको सोचमा अनौठो रिजल्ट आउनेछ । यो संसारै नौलो लाग्नेछ ।’

प्रभुले गर्छन् कि चमत्कार ?

बाइबल पढ्न थालेर पूरै नसकी उठियो भने बहुलाइन्छ भन्ने हल्ला सानैदेखि सुनेका हामीले हरिचन्द्र दाइको प्रस्ताव मान्ने कुरै भएन । तर नमानौं, गितार उम्किने डर । मानौं, कदाचित् बहुलाइयो भने यो जुनी पाउनुको के अर्थ भो र † बडो असमञ्जसमा परियो ।

त्यस्तै आठ–नौ वर्षका थियौं होला जंग र म । बाइबल बोक्न सकिएन, तर हरेक शनिबार मध्याह्न चर्चमा आउन पाउनुपर्ने माग राख्यौं । उनले केहीबेर विचार गरेझैं गरेर स्वीकृति दिन सकिने जनाउ दिए ।

चर्चमा प्रभुको भजन अतिरिक्त ‘मानिस कसरी जन्मन्छ, मरेपछि परमेश्वरकहाँ कसरी प्रवेश गर्छ, पृथ्वीलाई काधमा राख्ने माछो एक दिन मर्छ कि मर्दैन’, जस्ता बहस हुन्थे । जंग खासै बोल्दैनथ्यो, तर हरिचन्द्र दाइसँग मेरा लामा–लामा तर्कवितर्क हुन्थे । पुस्तक पढ्ने व्यसनका कारण म आफूलाई जान्नेसुन्ने ठान्न थालिसक्या थिएँ । हरिचन्द्र दाइ पढैया थिए । उनको विश्वास बाइबल र साम्यवाद दुईतिर बाँडिएको थियो । खासगरी पृथ्वी चेप्टो छ भन्ने उनको तर्कमा मेरो असहमति हुन्थ्यो । उनी प्रश्नले अँठयाउँथे, ‘गोलो भएको भए हामी किन चिप्लिएर लडेनौं ?’

मसँग जवाफ हुन्थेन । बहसमा हारेकोमा उनीसँग रिस उठेको हुन्थ्यो, तर देखाउने कुरै थिएन । गितारमा एक थुंगो मन जो बसेको थियो ।

अब कम्युनिस्टका कुरा कम, बाइबल बेसी छलफलमा आउन थालेको थियो । तर जब कम्युनिस्ट कुरो आउँथ्यो, हरिचन्द्र दाइले क्रान्ति अवश्यम्भावी रहेको, त्यसको आत्मगत परिस्थिति निर्माण भइसके पनि वस्तुगत अवस्था परिपक्व भइनसकेको बताउँथे । माओवादीले बिहान नहँुदै बिस्कुन सुकाइरहेको उनको कथन थियो । हामी नबुझेर पक्क पथ्र्यौं, तर एक मनले हरिचन्द्र दाइको कुुरो हो झैं लाग्थ्यो ।

बीच–बीचमा हरिचन्द्र दाइ कतै हराउँथे । अब चर्चमा उनीभन्दा म नियमित हुन थालेको थिएँ । गितार बजाउने क्रम अविरल चलिरह्यो । नयाँ नयाँ भजन सिक्दै गयौं । गितारको मोहनीले जंग चर्च जान थालेको थाहा पाएर आत्तिएकी फुपुले ‘गिभ्सन्’ ब्रान्डको गितार उपहार दिएकी थिइन् । अब उसले गितारका स्यार्फ र माइनर कर्डहरू सिक्न थालेको थियो । पछि त ‘सेभेन्थ कर्ड’ समेतमा पारंगत भयो । चर्चमा जंगले मलाई ‘रिलेटिभ कर्ड’ हरू सिकायो । हरिचन्द्र दाइ हाम्रो प्रगतिमा मख्ख थिए, किनकि हामी गितारसाथै प्रभुका दुई चार वाणीहरू यस्सै नहेरी खरर्र भट्टयाउन सक्ने भएका थियौं । बाइबल पूरै पढ्नु जरुरी भएन, हामीलाई सारांश थाहा थियो । बाइबल अरूजस्तै पुस्तक हो, यो पूरै नपढे बहुलाइन्न भन्ने विश्वास हरिचन्द्र दाइले दिलाएका थिए । तर पूरै पढी हेर्न उनको अनुरोध भने छँदै थियो ।

हामी पढ्ने सप्तमी बजारको युवा वर्ष प्राविमा गोरेनीहरू परमेश्वरको सुसमाचार सुनाउँदै आए । कक्षाको फस्ट ब्वाई भएकाले मैले कुरो गर्नुपर्ने भयो । केटाहरूले उच्काइहाले, ‘यसले मात्रै गोरेनीसँग इङ्लिस हाँक्न सक्छ ।’ मेरा लागि यो प्रतिष्ठाको विषय हुने भयो । तर गोरेनीहरूको लवज बुझे त मरिजाउँ । उनीहरूको जिब्रोअघिल्तिर मेरो प्राथमिक गोर्खे इङ्लिसले आत्मसमर्पण गर्‍यो । अंग्रेजी शिक्षक रोहित रिजालले उनीहरू आउनुको कारणबारे जिज्ञासाहरू राखे । त्यसैलाई मैले पनि आफ्नो विजय मानें ।

‘आईसीआई युनिभर्सिटी’ नामको संस्थामा चिठी पठाउन गोरेनीहरूको आग्रह थियो । त्यसका लागि उनीहरूले फारम, ठेगाना र हुलाक टिकटसमेत छाडेर गए । हामीले परमेश्वरको सुसमाचार पाउन हुलाकमा खाम के खसाल्यौं, एकाध महिनापछि हाम्रो नाममा भकाभक पार्सल आउन थाले । बजारमा हाम्रो चर्चा हुन थाल्यो । मेरो सहपाठी ठाकुरजंग थापाले त युनिभर्सिटीको प्रमाणपत्रसमेत पायो । हामीले नपाएको प्रमाणपत्र उसले कसरी पायो ? यो प्रश्न तनावको रूपमा हाम्रा अघिल्तिर झुन्डिरह्यो ।

पछि थाहा भयो, ठाकुरले फारमको ‘धर्म’ भन्ने महलमा खाली ठाउँ राखेर पठाउँदो रहेछ । हामी भने ‘हिन्दू’ भर्दा रहेछौं । अनि कहाँबाट हिन्दूलाई मिलोस्, इसाईको प्रमाणपत्र ।

मैले हरिचन्द्र दाइलाई प्रमाणपत्र नपाएको गुनासो गरें । उनले सम्बन्धित ठाउँमा कुरो राखिदिने वचन दिए । हुलाकबाट प्रभुको पार्सल आइरह्यो । मोटो खामभित्र पुस्तक हुन्थ्यो । पछाडिको भागमा कैंचीले काट्न मिल्ने चिह्न राखेर फारम आउँथ्यो । तर मैले धर्म महलमा ‘हिन्दू’ लेख्न भने छाडिनँ । मलाई प्रमाणपत्र पनि कहिल्यै आएन । परमेश्वरको सुसमाचार बाँड्न सहयोग पुगोस् भनेर यथाशक्य भेटी पठाउन अनुरोध चिठीमै समावेश हुन्थ्यो । हामी दुईदेखि पाँच रुपैयाँसम्म रोजै पठाउँथ्यौं । उमेर बढ्दै गयो । कक्षा चढ्दै गइयो । हरिचन्द्र दाइ अधिकांश समय हराउन थाले । चर्चमा शनिबारे भेलाका सहभागि घट्न थालेका थिए ।

एक दिन स्कुलबाट फर्कंदै गर्दा मैले जनमोर्चाका जिल्लास्तरीय नेतासँग बाटोमा भेट्ने मौका पाएँ । हरिचन्द्र दाइ हिजोआज कता हुनुहुन्छ भनी सोधें । उनले पार्टी काममा व्यस्त भएको सुनाए । कुरैकुरामा सोधें, ‘कम्निस्ट भएर धर्मको प्रचार गर्दै हिँड्न मिल्छ ?’

ती नेतालाई हरिचन्द्रकै बारे सोधेको भन्ने परेछ । भूमिका नबाँधी फर्काए, ‘हामीले उहाँलाई दुईमध्ये एक निर्णय गर्न सचेत गराइसकेका छौं । उहाँले पार्टीमा लिखित पत्र बुझाउने हुनुभएको छ ।’

त्यसपछि पनि हरिचन्द्र दाइसँग लामै समय भेट भएन । स्कुलबाट छुट्टीमा घर आएको बेला बुवाले सोधखोज गर्दैरहनुभयो ।

यस्तैमा एक बिहान रेडियोमा समाचार आयो, ‘इलामको इभाङमा सुरक्षाकर्मीसँगको मुठभेडमा माओवादी आतंककारी हरिचन्द्र गजमेरको मृत्यु भएको छ । अन्य आतंककारी पनि हताहत भएको आशंका छ ।’

घर तत्क्षण चकमन्न भयो र एकै छिनमा कोलाहल मच्चियो । बुवाले पत्याउनै सक्नुभएन । बाल्यकालदेखिको मिल्ने साथी मारिएको खबरले उहाँ भित्रैदेखि बिथोलिनुभयो । हरिचन्द्र दाइ माओवादी थिएनन् । उनी किन मारिए ?

देखिजान्नेका अनुसार, हरिचन्द्र दाइको झोलामा जनमोर्चाको वक्तव्य, लेनिनका संकलित रचनाहरू भेटिएका थिए । वक्तव्यमा अवश्यै क्रान्तिकारी आह्वान हुन सक्थ्यो । तर त्यो माओवादी वक्तव्य थिएन । सेनाले हरिचन्द्र दाइलाई खाल्डो खन्न लगाएर त्यसैमा पुरेको रहेछ । माओवादीलाई मन नपराउने हरिचन्द्र दाइ माओवादीको आरोपमा मारिनु साह्रै अनौठो घटना थियो । त्यसलाई मैले कुनै हालतमा स्विकार्न सकिनँ । तर के गर्नु, नहुनु भइसकेको थियो । गर्न सकिने केही थिएन ।

पार्टीले हरिचन्द्र दाइलाई सहिद घोषणा गर्‍यो । नेताहरूले ‘वीर सहिद जन्माउने आमा’ लाई मणिपुरे मजेत्रो किनेर ओढाइदिए । सप्तमी बजारको चर्च बन्द भयो । पश्चिमी इलाम र दक्षिणपूर्वी पाँचथरको सिमाना बजारको यो चर्चमा पछिल्लो समय आउन थालेका झन्डै ३० क्रिस्चियन धर्मावलम्बी त्यसपछि के गरे थाहा भएन । शनिबार सप्तमी बजार गुन्जाउने गितार, ड्रम र किबोर्ड अब सुनिन छाडेका थिए । समय बित्दै गयो । हामी हुर्कंदै गयौं ।

आईए पढ्दा मैले पनि पकेट मनी जम्मा गरेर ‘सिग्नेचर’ ब्रान्डको गितार किनें । धेरै वर्ष आफूसँगै राखेको त्यो प्यारो सम्पत्ति मास्टर्स सिध्याउने बेला दोमन हुँदै बेचें । खल्तीमा पैसा हुन छाडेको थियो । झन्डै किनेकै दाम आयो, तर मन भारी भएको थियो । आँखा धमिलिएका थिए ।

केही दिनअघि । एल्बम पल्टाउँदै जाँदा उही गितार बजाउँदै गरेको पुरानो तस्बिर भेटियो । स्मृतिको सरकारी फाइलभित्र कतै चेपिइरहेको चर्चको गितार र हरिचन्द्र दाइको सम्झना अनायासै आँखा अघिल्तिर आयो ।

कान्तिपुर संवाददाता, काठमाडौं
प्रकाशित: श्रावण ३२, २०७२

1158 Views

मलाई मनपर्यो l (14)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

दाइ र चर्चको गितार – कान्तिपुर संवाददाता Reviewed by on . नरम स्वभावका हरिचन्द्र गजमेर दाइ कडा कम्युनिस्ट र कडै क्रिस्चियन थिए । उनको झोलामा अक्सर ‘पवित्र बाइबल’ र नेकपा एकता केन्द्रका दस्तावेज हुन्थे । क्रिज हालेका लु नरम स्वभावका हरिचन्द्र गजमेर दाइ कडा कम्युनिस्ट र कडै क्रिस्चियन थिए । उनको झोलामा अक्सर ‘पवित्र बाइबल’ र नेकपा एकता केन्द्रका दस्तावेज हुन्थे । क्रिज हालेका लु Rating: 0
scroll to top