Thursday, May 24, 2018

स्वतन्त्रता आशिष कि श्राप ?

February 22, 2016 2:49 pm by: Category: Articles A+ / A-

“कहाँ पोखिन्छ आशू, जब सम्म दुख्दैन घाऊँ, कहाँ चस्किन्छ मन, जब सम्म जल्दैन छाँती” स्वंयम व्यक्ति आफैले कुनै दुःख, कष्ट र पिडा नभोगीकन आँखाबाट आशू झार्न सक्दैन । हृदयले चोटको अनुभव नगरे सम्म र हृदय भीत्र अशान्ति नभए सम्म कोहि मानिस छटपटाउदैन् । आशु तब मात्र झर्छ जब हृदयले चोटको महसुस गर्छ । पिडा तबमात्र हुन्छ जब मन भित्र दुःखेको अनुभव हुन्छ । दुःख, कष्ट र पिडाको अनुभव नगरेका मानिसलाई यस बारेमा अवगत गराउनु भनेको “एका देशमा” भनेर कथा सुनाए जस्तो मात्र हुन्छ । त्यसरी नै स्वतन्त्रता चाहाने व्यक्तिहरु पनि अनुभव नै नगरेका कुराहरुमा लागेका हुन्छन् । परिवारबाट अलग भएर, अर्ती, उपदेश, शिक्षाबाट अलग भएर कसैले केहि गर्न सक्दैन । कुनै एकको अधिनमा रहेन भने जीवनमा सफल्ता पाईन्दैन । स्वतन्त्र पाए पछिको अवस्था र आई पर्ने समस्याहरु, चुनौतीहरुको बारे सायद धेर थोरले मात्र बुझेका होलान् । तर धेरै जसो जवान जवानीहरु अनबिग्य छन् । आफ्नो बिचार, ईच्छालाई प्राथमिकता दिदा यो कुरा भुलि पठाउछन् कि फल फलाउँने हाँगा पनि बोटबाट अलग भयो भने त्यो हाँगा मर्छ । प्रभु येशूले पनि भन्नु भएको छ “दाखको बोट म हुँ, तिमीहरुचाहिँ हाँगाहरु हौ । यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल पलाउँछ, किनकी मबाट अलग रहेर तिमीहरु केही गर्न सक्दैनौ ।” (यूहन्ना १५:५) मानिसहरु स्वतन्त्र खोज्छन्, परिवार, समाज र धार्मीक रुपमा पनि तर त्यो स्वतन्त्रता जीवनका हरेक कदममा बिजाउने खील नबनोस् ।

    “स्वतन्त्र” कसैको नियन्त्रण, बन्धन वा दबाबमा नपरेको, आफ्नै अधीनमा रहेको, आफ्नै सोच अनुसार चलेको, अरुको आड नलिने, अरुको भर नपर्ने आफूखुसी  गर्नेलाई स्वतन्त्र भनिन्छ । धेरै जवान–जवानी भाई बहिनीहरु स्वतन्त्रता चाहान्छन् । प्राय उनीहरुले भन्ने गर्छन् “म स्वतन्त्र हुन चाहान्छु” त्यस कारण कसैको अगुवाईमा जिउन चाहादैनन् । मण्डली, अगुवा त परै जावोस् आफ्नै बुबा–आमाको अधीनमा बस्न पनि रुचाउदैनन् । असल र राम्रो शिक्षाहरु सुनाउदा अल्छी, झीझो मान्छ । भविश्यमा आउने कुराहरु र आईपर्न सक्ने कुराहरुको बारेमा जानकारी गराउदा दिक्क मान्छन् । कारण जवान–जवानीहरुले ती आई पर्ने समस्याहरुको बारेमा बुझेका हुँदैनन् । जब उनीहरुले बुझ्छन् तब सम्म समय नीक्कै पर पुगी सकेका हुन्छन् । त्यस कारण नेपालीमा एउटा भनाई छ “आगो ताप्नु मुढ़ाको कुरा सुन्नु बुढ़ाको” मुढ़ाको आगो ताप्यो भने धेरै बेर सम्म आगो रहन्छ र बुढ़ा–पाकाहरुको कुरा सुन्यो भने शिक्षा पाईन्छ किनकी उनीहरुले घटना, अवस्था र समयका कुराहरु प्रत्येक्ष स्वंयम आफैले भोगेर आएका हुन्छन् । हामीले पाका मानिसहरुको शिक्षालाई सुन्न पर्छ । बाईबलले भन्छ “सुझाव सुन्, र अर्ती ग्रहण गर, र अन्त्यमा तँ बुद्धिमान् बन्नेछस् ।” (हितोपदेश १९:२०) हामीले सुझाव र अर्ती लिनु पर्छ भन्दैमा सबै होईन किनकी सबै कुरा ठिक मात्र हुन्छ भन्ने पनि छैन । कहिले काही गलत वा झुटा कुराहरु पनि आउन सक्छ तर असल र खराब, राम्रो र नराम्रो कुराहरु छुट्याउने ज्ञान हामीसँग अवश्य छ र परमेश्वरले दिनु भएको छ । अरुले भोगेका र संघर्ष गरेका कुराको बारेमा सुनेर शिक्षा लिनु, चर्चा गर्नु हाम्रो लागी बुद्धीमानी साबीत हुने छ । आफ्नै कुराहरु मात्र सहि छ भन्नु पनि मुखर्ता हुन्छ । (हितोपदेश १४:१२ र १६:२५) ले भन्छ “कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ  ।” स्वतन्त्र चाहानु पनि पर्छ तर त्यस पछिको अवस्था र आई पर्न सक्ने घटना वा समस्याहरुको बारेमा पनि जानकारी लिनुनै बुद्धिमानी हुन्छ । किनकी सानो गल्ती र हेलचेक्राईले सारा जीवन भरी नै बाधा पुग्न जान्छ । जुन समयमा घटना घट्छ त्यो समयलाई फेरी जस्ताको त्यस्तै बनाउन सकिन्दैन । त्यस कारण स्वतन्त्रता पनि हाम्रो जीवनमा आशिषमय बनोस श्राप होईन ।

    (लूका १५:११–२४) मा पनि एक युवकको बारेमा उल्लेख गरिएको छ । जो चाही आफ्नो बुबा देखि सम्पुर्ण धन सम्पत्ती लिएर टाँढा छुट्टीएर गएको छ । त्यस पछि आफ्नो ईच्छा अनुसारको जीवन जिएको कुरा उल्लेख गरिएको छ । हुन सक्छ उ खेतीको काम गर्दा–गर्दा र बुबाको आज्ञा मान्दा–मान्दा दिक्क भएको हुन पर्छ किनकी २५ पदमा “त्यस बेला तिनको जेठो छोरो खेतमा थियो” भनेर लेखेको छ भने २९ पदमा बुबाको सेवा गरेको, आज्ञा पालन गरेको र आनन्द मनाउन एउटा पाठो पनि नदिएको कुराको गुनासो गरेको छ । यसबाट थाहा हुन्छ ती दाजु भाईहरु बुबाको अधीन, अनुसासनमा बस्नु पर्थ्यो  । तर कान्छो छोराले आफ्नो बुबाको अधीन, अनुसासनमा बस्न चाहेन र आफ्नो भागमा पाउने हिस्सा लिएर आफ्नै ईच्छामा, सोचमा र आफैले चाहे अनुसारको जीवन जिउँन चाहेको छ । अनि त्यसको परिणाम १६ पदमा पाउद छौं । याकूबले भनेका छन् “तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ । तब खराब इच्छाले गर्भधारण गरेपछि  त्यसले पाप जन्माउँछ । अनि पाप पूरै बढेपछि  त्यसले मृत्यु ल्याउँछ ।”  (याकूब १:१४,१५) जवानीपनमा आफुले गल्ती त गर्यो  ! गल्ती स्वीकार्नुको साटो अरुलाई दोष दिएर, आरोप लगाएर “मेरो दोष छैन, म राम्रो छु” भन्दैमा परमेश्वरबाट आशिष पाईन्दैन । बरु पश्चात्ताप गर्नेलाई उहाँले क्षमा गर्नु हुन्छ । मैले आई.एस.ओ. तालीममा सहभागी हुदाँ बाराम्बार सिकाएको कुरा के थियो भने “मानिसले गल्ती गर्छ, हुन्छ तर त्यो गल्तीलाई बाराम्बार दोहोर्याउनु  हुदैन” परमेश्वरमा क्षमा पाईन्छ भनेर बारम्बार गल्ती दोहोर्यौनेहरू  पनि देखे, भेटे तर त्यो सहि होईन । बाईबलले हामीलाई त्यो प्रकारको शिक्षा दिँदैन । मानिसमा फरक फरक बिचार भएको कारण कत्ति व्यक्तिहरु पश्चात्ताप गरेर, आफुले गरेको भुल गल्तीलाई स्वीकार गरेर, क्षमा मागेर परिवर्तनको जीवन जिएको छ । कती व्यक्तिहरु अरुलाई दोष लगाएर आफु सद्धे भएको नाटक गर्छन । कति व्यक्तिहरु सर्वष गुमेको र आफुसँग बाँकी केहि नरहेको ठानी आत्मा हत्या गर्छन् । जुन परमेश्वरको आज्ञा बिपरित हो । किनकी परमेश्वरले आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको मानव जाती तपाईं र म हो । (उत्पति १:२७) उहाँको सृष्टिलाई मेटाउने अधिकार परमेश्वरले हामीलाई दिनु भएको छैन । पाप त गर्यो, गल्ती भयो, आत्मा हत्या गरेर होईन, अरुलाई दोष दिएर, आरोप लगाएर होईन तर आफुले गरेको गल्ती पापलाई स्वीकार गरेर परमेश्वरमा पश्चात्ताप गर्नु नै परमेश्वरको मन पर्ने भेटी हो । दाऊद राजाले भनेका छन् “तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो । हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न ।” (भजनसंग्रह ५१: १७) (लूका १५:१७–२०) मा हेर्दा त्यो युवकले पछुतो मानेको छ र आफ्नो गल्ती स्वीकार गरेको छ, क्षमा मागेको छ (२१ पद) त्यस पछि त्यस घरमा आनन्द मनाएको छ । (२३,२४ पद)  स्वतन्त्रता खोज्ने क्रममा गल्ती हुन सक्छ, त्यो गल्तीलाई आफुले स्वीकार गरेर सुधार्न पनि सकिन्छ ।

     बर्तमान समयमा धेरै युवा–युवती, भाई–बहीनीहरुले दुःखहरु भोगेका छन् । कत्ति संघर्ष पुर्ण जीवन विर्तित गरि रहेका छन् । भविश्यका लक्ष्य, दर्शनहरु ओझेलमा परेका छन् । बाबु–आमाले आफ्नो छोरा–छोरीमाथी सोचेको सपनाहरु, लगानीहरु खेर गएका छन् । कारण क्षणीक सुख बिलासको जीवनमा रमाउन चाहादाको परिणाम हो । कत्ति युवा भाई–बहिनीहरुले घरमा होस् नहोस् आफ्नो आवश्यकतालाई पहिलो प्राथमिकता दिने गरेको छ । त्यसै कारण गाँउ समाजमा कत्ति व्यक्तिहरुको चर्चाको विषय बनेको छ “गरिब बाउँको धनी छोरा–छोरीहरु” ! सबैको आर्थिक अवस्था राम्रो छैन, कत्ति परिवारहरु ज्यामी काम गर्छन, दुःखले परिश्रम गर्छन, दुई छाक टार्न हम्मे हम्मे हुँदा पनि छोरा–छोरीको आवश्यकतालाई पुरा गरि दिएका छन् । तर छोरा–छोरीहरु चाही हुने खानेले गरे जस्तो नयाँ नयाँ पहिरनमा सजिएर देखौटी बनेर हिड्छन् । विश्वास नगर्नेहरुसँग प्रेम, माया प्रितीका कुरा गरेर जहाँ भन्यौ त्यहाँ जान्छन् । भ्रामक प्रेमको बाहानामा शारीरिक सम्बन्ध गाँस्न पनि सजिलै तयार रहन्छन् । अनि त्यस पछिको परिणाम ? सबै युवा भाई–बहिनीहरु त्यस्तो नहोला, कत्ति त राम्राहरु पनि छन् । तर अधिकाँन्स युवाहरु परमेश्वरको वचनमा भन्दा संसारीक रहनसहनमा ढल्की रहेका छन् । मण्डलीमा आउछन् संगतीमा बस्छन् तर उनीहरुको ध्यान फेसबुक, केटा, केटी प्रति हुन्छ । कोहि मण्डलीको बाहानामा अन्तै गएका हुन्छन् । कोहि प्रेम दिवस, गुलाब दिवस, नयाँ वर्ष, अरु के के हो के केको नाउँमा अवसर खोजी रहेका हुन्छन् । जस्ले गर्दा विश्वास गर्ने जवान भाई–बहीनीहरु आत्मीक जीवनबाट टाढा हुदै गएका छन् । उनीहरुको त्यो जीवन शैलीले मण्डलीमा अर्कै मार्ग बनाउदै लादै छ । यो हुनुमा दोष कस्को ? कत्ति व्यक्तिहरुको बिचारमा यो समय अनुसारको चलन चल्ती हो भन्ने पनि आउन सक्छ, तर होईन । ख्रीष्टीयन जीवनमा जिउँने मानिसहरु ख्रीष्टको निम्ति उदाहरण हुन् । उनीहरु ख्रीष्टको वचन अनुसार जिउनु पर्छ, गवाही दिनु पर्छ र ख्रीष्ट येशूको साक्षी बन्नु पर्छ । यदि हामी ज्योतीका सन्तान हौ भने हामी ज्योतिमा हुन पर्छ । पावलले भन्छ “अविश्वासीहरुसँग एउटै जुवामा ननारिओ । किनकी धर्म र अधर्मको के साझेदारी हुन्छ ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता ? ख्रीष्टको बेलिआलसँग (शैतान) के सरोकार ? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता ? ” ( २ कोरिन्थी ६: १४,१५)

     स्वतन्त्रता हरेक मानिसको आवश्यकता हो । यो संसारमा रहुन्जेल मानव अधिकार पनि हो । हरेक व्यक्तिलाई आफु खुशी जिउँन पाउने अधिकार छ । भन्दैमा जे पायो त्यो गर्ने छुट छैन । मानव जीवनलाई सञ्चालन गर्नको निम्ति निति नियमहरु बनाईएको छ । हरेक जसले ति निति नियमलाई पालना गर्छ उसले सम्मानपुर्ण जीवन बिताउछ । त्यसरी नै परमेश्वरले पनि विश्वास गर्ने हरेकको निम्ति नियम बनाई दिनु भएको छ । जो व्यक्ति परमेश्वरको नियम बमोजीम चल्छ, उहाँको वचन अनुसार जिउँछ त्यो व्यक्तिले आशिष पाउँछ र सफल्ता प्राप्त गर्छ । तसर्थ के जवान, के बालक वा वृद्धहरु स्वतन्त्रपुर्ण जीवन जिउँनुहोस् तर लापरवाहीले होईन परमेश्वरको अधिनमा रहनुहोस् । विश्वास, प्रार्थना र संगतीमा निरन्तर लागी रहनुहोस् । क्षणीक स्वार्थ वा आवश्यकतालाई मात्र नहेर्नुहोस् । पावलले भने झै ख्रीष्टीयन जीवन एउटा डौड़ हो । साना–साना कुराहरुमा अल्झिएर बिच्चैमा नटुङ्गाउनु होस् । डौड़ सुरु गर्नु भएको छ भने लक्ष्यमा पुग्ने कोशिस गर्नु होस्, जहाँ तपाईं र मेरो निम्ति इनामहरु राखीएको छ । ख्रीष्टका प्रीयहरु तपाईं र मेरो जीवन आशिषमय बन्छ । तर व्यवहारीक शिक्षा जुन हाम्रो हरेक कदममा प्रयोग हुन्छ त्यो ग्रहण गर्नु पर्छ । बाईबलीय शिक्षा जसले ख्रीष्टीयन जीवन र आत्मीकी जीवनमा आशिष दिलाउँछ त्यो पालन गर्नु पर्छ । हरेक कदममा परमेश्वरमा समरपीत भएर जिउँनु पर्छ तब हाम्रो जीवनमा आशिष र सफलताहरु आई नै रहन्छन् । “आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख् र तेरो आफ्नै समझशक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी, र उहाँले तेरा मार्गहरु सोझा तुल्याईदिनुहुनेछ ।” ( हितोपदेश ३: ५,६)

परमेश्वरले हामी सबैलाई आशिष दिउन् ।

सिमोन राई
काठमाण्डौं

145 Views

प्रतिक्रियाहरू

स्वतन्त्रता आशिष कि श्राप ? Reviewed by on . “कहाँ पोखिन्छ आशू, जब सम्म दुख्दैन घाऊँ, कहाँ चस्किन्छ मन, जब सम्म जल्दैन छाँती” स्वंयम व्यक्ति आफैले कुनै दुःख, कष्ट र पिडा नभोगीकन आँखाबाट आशू झार्न सक्दैन । “कहाँ पोखिन्छ आशू, जब सम्म दुख्दैन घाऊँ, कहाँ चस्किन्छ मन, जब सम्म जल्दैन छाँती” स्वंयम व्यक्ति आफैले कुनै दुःख, कष्ट र पिडा नभोगीकन आँखाबाट आशू झार्न सक्दैन । Rating: 0
scroll to top