Tuesday, October 24, 2017

के धर्मनिरपेक्षता अभिशाप नै हो त ?

August 1, 2016 7:35 pm by: Category: Articles A+ / A-

photo

जगदिश पोखरेल

पछिल्लो केही महिनामा नेपाली ख्रीष्टियान समुदायभित्र एउटा तरंग नै आयो । एकजना विख्यात ख्रीष्टियान व्यक्तित्वले टेलिभिजन अन्तर्वार्तामा गएर धर्मनिरपेक्षता ल्याउने कदम गलत भएको र त्यसलाई सच्याउनुपर्ने अभिव्यक्ति दिनुभयो । धेरैले उहाँको त्यस अभिव्यक्तिको खण्डन गरे, कतिले समर्थन पनि गरे । यस लेखमार्फत म “के धर्मनिरपेक्षता हाम्रा निम्ति अभिशाप नै हो त?” भन्ने बारेमा विल्कुल व्यक्तिगत धारणा राख्न चाहन्छु ।

पहिलो कुरा, धर्मनिरपेक्षता हामीले ल्याएको हुँदै होइन । सोचौं त, ख्रीष्टमसको एकदिन सार्वजानिक बिदा जोगाउन नसक्ने हामीले कसरी राज्यको धार्मिक व्यवस्था परिवर्तन गर्यौं होला र ? जसरी देश राजतन्त्रात्मक राज्यव्यवस्थाबाट गणतन्त्रमा गयो, एकात्मक राज्यव्यवस्थाबाट संघिय प्रणालीमा गयो, त्यसरी नै हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनेको हो ।

धर्मनिरपेक्षता आफैले गर्ने केही पनि होइन भन्ने कुरामा म पनि सहमत छु । तर यो स्मरण गरिनुपर्छ कि धर्मनिरपेक्षता आफैले केही बिगार्ने पनि होइन । हामीले यो पाएनौं, त्यो पाएनौं र यो सबको दोष धर्मनिरपेक्षता हो भनेर दोष्याउन मिल्दैन ।

धर्मनिरपेक्षता भित्रको पूर्ण धार्मिक स्वतन्त्रता हाम्रो आजको आवश्यकता हो । धार्मिक स्वतन्त्रताको निम्ति कदापि पनि धर्मनिरपेक्षता बाधक हुन सक्दैन ।

धर्मनिरपेक्षताको पक्षमा बोलेर हामीले गम्भीर भूल गर्यौं, यसको सट्टा धार्मिक स्वतन्त्रता संबिधानमा लेखिनुपर्थ्यो भनेर तर्क गरिनु निकै लाजमर्दो कुरा हो ।

धर्मनिरपेक्ष हुने कि सापेक्ष हुने भन्ने कुरा राज्यले धर्मलाई कुन दृष्टिकोणले हेर्छ भन्ने विषयसँग सम्बन्धित कुरा हो । अनि धार्मीक स्वतन्त्रता दिने कि नदिने भन्ने कुरा जनताले पाउने अधिकारसँग सम्बन्धित कुरा हो । यी दुईवटा कुराहरू परस्पर फरक कुराहरू हुन् । धर्मनिरपेक्षता छुट्टै कुरा हो र धार्मिक स्वतन्त्रता पनि छुट्टै कुरा हो । न धर्मनिरपेक्षताको ठाउँ धार्मिक स्वतन्त्रताले लिन सक्छ न त धार्मिक स्वतन्त्रताको ठाउँ धर्मनिरपेक्षताले नै लिन सक्छ । धार्मिक स्वतन्त्रताका निम्ति धर्मनिरपेक्षता कदापि पनि बाधक बन्न सक्दैन र बनेको पनि छैन ।

नेपालको संबिधान २०७२ को धारा २६ को उपधारा १ को सुरूमै यसरी लेखिएको छ, “धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अबलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ ।”

नेपाललाई एक धर्मसापेक्ष हिन्दु राष्ट्र भनेर परिभाषित गरेको नेपाल अधिराज्यको संबिधान २०४७ को धारा १९ को उपधारा १ मा पनि हरेक व्यक्तिलाई आफ्नो धर्म मान्न स्वतन्त्रता दिइएको थियो ।

यसरी हामी के देख्न सक्छौं भने धार्मिक स्वतन्त्रता त नेपालमा हिजो २०४७ को संबिधानअन्तर्गत हिन्दु राष्ट्रमा पनि थियो र आज २०७२ को संबिधान अन्तर्गतको धर्मनिरपेक्ष राष्ट्रमा पनि छ ।

हामीलाई आज चाहिएको संबिधान नामको कागजको खोस्टोमा धार्मिक स्वतन्त्रता भनेर २ शव्द लेखिनु मात्रै होइन । लेखिइसकेको धार्मिक स्वतन्त्रतालाई असल अर्थ लगाउन र व्यवहारमा उतार्नका निम्ति संघर्ष गर्नु आजको हाम्रो जिम्मेवारी हो ।

राज्य मान्छे होइन, मान्छेहरूका निम्ति तयार गरिएको प्रणाली मात्रै हो । मान्छेले धर्म मान्छ, राज्यले मान्दैन । जनताले जुन धर्म माने पनि मानुन्, राज्यले कुनै पनि धर्मको पक्ष लिँदैन भन्नु नै धर्मनिरपेक्षता हो । आधुनिक समाजमा यो भन्दा उत्कृष्ट धार्मिक प्रणाली अर्को हुन सक्दैन । धर्मनिरपेक्ष हुँदैमा धार्मिक स्वतन्त्रता नहुने होइन, धर्म सापेक्ष हुँदैमा पनि धार्मिक स्वतन्त्रता नहुने होइन ।

संबिधानको धारा ४ को उपधारा १ को स्पष्टिकरणमा धर्मनिरपेक्षता भनेको धार्मिक सांस्कृतिक स्वतन्त्रता पनि हो भनेर लेखिएको छ । धारा २६ को उपधारा १ मा धर्ममा आस्था राख्ने सबैलाई आफ्नो आफ्नो आस्थाअनुसारको धर्मको अबलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भनेर बताइएको छ । संविधानले त हामीलाई धर्मनिरपेक्षता पनि दिएको छ, धार्मिक स्वतन्त्रता पनि दिएको छ । अब बुझियो, धर्मनिरपेक्षताअन्तर्गत धार्मिक स्वतन्त्रता अट्न नसक्ने होइन रहेछ । राज्यले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण गर्नेछ भन्ने स्पष्टिकरणले आकाश खसाउँदैन, भलै यसले सिधै अरूलाई फाइदा गर्ला तर पनि हामीलाई बेफाइदा गर्दैन (गलत अर्थ नलगाउने हो भने)। संविधानको धारा ३२ को उपधारा ३ मा यसरी लेखिएको छ, “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्द्धन र संरक्षण गर्ने हक हुनेछ ।”

यति भन्दै गर्दा यो पनि मान्नैपर्छ कि यो संविधानले जस्तोरूपको धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता दिनुपर्ने हो, त्यस्तोचाहिँ दिन सकेको छैन । अहिलेको धर्मनिरपेक्षता भनेको जन्मँदै विरामी परेको छोरोजस्तै हो, वेदनाहरू आफ्नो ठाउँमा भए तापनि विरामी भएकै कारणले एउटा जिम्मेवार बाबुले आफ्नो छोरालाई लगेर खोलामा फाल्दैन । ऋण खोजेको पैसा डाक्टरलाई दिन्छ, गाँस काटेर औषधी किन्छ । जे होस् घरखेत बेचेरै भए पनि उपचार गर्छ ।

यूरोप अमेरिकाको समस्याको मुख्य जरो धर्मनिरपेक्षता होइन । राज्य धर्मनिरपेक्ष भैसकेपछि पनि धार्मिक प्रवित्तिका जनताहरूको भोटले जित्नुपर्ने भएकाले पश्चिमा देशहरू निकै लामो समयसम्म राम्रो धार्मिक चालचलनमा चलेका थिए; गर्भपतन, समलिंगी विवाहजस्ता कुराहरूले मान्यता पाएका थिएनन् । तर आधुनिकतासँगै फैलिएको नास्तिकतावादी विचारधाराले प्रभुत्व जमाउँदै गएपछि नीतिनिर्माण तहमा पनि धर्मविरोधी धारणा मजबुत भएको हो ।

गैह्र–साम्यवादी मूलुकको धर्मनिरपेक्षता भनेको धर्मको विरोध गर्नु होइन, अवहेलना गर्नु पनि होइन, जनताले धर्म मानुन्, राज्य तठस्थ रहन्छ भन्नु हो ।

संविधानमा लेखिएको धर्मनिरपेक्षता हो, “धर्म–निषेध” होइन । बाबु, तिमीलाई बाबा वा मामु कसको बढी माया लाग्छ भनेर एउटा बच्चालाई सोध्दा उसले कोही एकजनाको नाम लियो भने उसको व्यवहार सापेक्षतासँग तुलना गर्न सकिन्छ । मलाई दुवै जनाको माया लाग्दैन भन्यो भने त्यसलाई कम्युनिष्ट (साम्यवादी) मूलुकको (धर्म) निरपेक्षतासँग तुलना गर्न सकिन्छ । तर त्यो प्रश्नको जवाफमा उसले केही बोलेन र खिस्स हाँसिराख्यो वा दुबैको बराबर माया लाग्छ भन्न लाग्यो भने त्यसलाई प्रजातान्त्रिक देशको (धर्म) निरपेक्षतासँग तुलना गर्न सकिन्छ ।

धर्मनिरपेक्षता भनेको कार कम्पनिले तयारी अवस्थामा पठाएको कारजस्तो होइन, ताकि जस्तो पठाएको थियो, त्यस्तै राख्नुपर्ने, तन्काउन पनि नमिल्ने, घटाउन पनि नमिल्ने । हाम्रो धर्मनिरपेक्षता अरूहरूको जस्तै हुनैपर्छ भन्ने छैन, यहाँको अवस्थाअनुसार विस्तारै समायोजन हुँदै जाने हो । गाडी चलाउन आएन भनेर “गाडी थोत्रो” नभनौं । समस्या गाडीमा होइन, चालकहरूमा छ ।

कुरा यत्ति हो, आफ्नो हकअधिकार प्राप्त गर्नलाई हामीहरूले सम्पुर्ण ख्रीष्टियान समुदायको संयुक्त आवाज बनाउनु र सबैले हातमा हात मिलाएर अगाडी बढ्नचाहिँ आवश्यक छ । हामी आफैमा बलियो हुने हो भने नरेन्द्र मोदी भारतको छाडी नेपालकै प्रधानमन्त्री भएपनि हामीलाई हल्लाउन सक्दैनन् ।

421 Views

मलाई मनपर्यो l (19)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

के धर्मनिरपेक्षता अभिशाप नै हो त ? Reviewed by on . जगदिश पोखरेल पछिल्लो केही महिनामा नेपाली ख्रीष्टियान समुदायभित्र एउटा तरंग नै आयो । एकजना विख्यात ख्रीष्टियान व्यक्तित्वले टेलिभिजन अन्तर्वार्तामा गएर धर्मनिरपे जगदिश पोखरेल पछिल्लो केही महिनामा नेपाली ख्रीष्टियान समुदायभित्र एउटा तरंग नै आयो । एकजना विख्यात ख्रीष्टियान व्यक्तित्वले टेलिभिजन अन्तर्वार्तामा गएर धर्मनिरपे Rating: 0
scroll to top