Tuesday, October 24, 2017

ख्रीष्टियान महासंघको महाधिवेशन र ख्रीष्टियान सरोकारका गम्भीर सवालहरू

September 6, 2016 1:15 pm by: Category: Articles A+ / A-

जगदीश पोखरेल

भनिन्छ, सबै कुरा छ तर ढंग छैन भने केही पनि नभएको जस्तै हुन्छ रे । यसो नियालौं त, आज नेपाली ख्रीष्टियानहरूसँग नभएको कुरा के हो?

हामीसँग केही गरौँ भन्ने जोश छ, पर्याप्त जनशक्ति, श्रोतसाधन र स्थानीयस्तरसम्म सजिलै पुग्न सकिने संयन्त्रहरू छन् । शिक्षा, स्वास्थ्य, आपतकालीन राहत तथा अन्य सेवाका कार्यहरूमा ख्रीष्टियानहरूको विगतदेखि वर्तमानसम्मको लगाव अतुलनीय छ । यी सबैथोक हुनुको बाबजुद पनि आज हामी हाम्रै देशमा दोश्रो दर्जाको नागरिक बन्न बाध्य पारिएका छौं । हामीले पाएको र अरूहरूले पाएको नागरिकता समान भए पनि हामीलाई श्रेणीमा तल्लो ठानिएको छ ।sw

देशभित्र शान्ति, अमनचयन तथा अन्य थुप्रै विषयमा स्थिरता कायम गर्न नियम कानुनहरू बनाउनु र तिनको कार्यान्वयन गर्नु राज्यको कर्तव्य हो । नियमकानुन तथा संविधान बिगार्नका लागि होइन, बनाउनका लागि बनाइने हुन् । शासन गर्ने शासकको अधिनमा बस्नु भन्ने बाइबलको आज्ञाअनुरुप राज्यको नियम कानुन मान्नु हाम्रो कर्तव्य नै हो । कुरा यत्ति हो राज्यले हाम्रो भावना र हाम्रो आस्थाको स्वतन्त्रतामाथि खेलवाड गर्न भएन । तर अहिलेको अवस्थालाई नियाल्दा राज्यले नेपाली ख्रीष्टियानहरूलाई सौताका छोराछोरीको व्यवहार गरेको छ ।

पछिल्लो समय लगाताररूपमा राज्यसंयन्त्र र संचारमाध्यमहरू ख्रीष्टियान समुदायको विरोधमा उत्रिएका छन् । चर्च, संघसंस्था तथा बालगृहहरूमा धरपकड जारी छ । यस्तो अवस्थामा पनि राज्यसंयन्त्रले हाम्रो आवाज सुन्न सकेको छैन, कारण उनीहरूले सुन्ने गरेर हामीले आवाज उठाएकै छैनौं । ख्रीष्टमसको सार्वजानिक विदा खोसिनुले राज्यले ख्रीष्टियानहरूलाई नागरिक नै सोचेको रहेनछ भन्ने भान उत्पन्न भएको छ ।

ख्रीष्टियान हकहितको निम्ति काम गर्ने भनेर खडा भएका संघसंस्थाहरूको आजसम्मको भूमिका प्राप्त नतिजाको आधारमा भन्ने हो भने बिर्सनलायक छ । यही अवस्थामा लामो समयपछि राष्ट्रिय ख्रीष्टियान महासंघको महाधिवेशन हुँदैछ । सर्वप्रथम नेपाली ख्रीष्टियान हकहितका निम्ति राष्ट्रिय ख्रीष्टियान महासंघले आजसम्म गरेको संघर्षको सराहना गर्न चाहन्छु । ख्रीष्टियान महासंघ नेपालको महाधिवेशन भव्य, सभ्य र सफल हुन सकोस् भन्ने कामना पनि गर्न चाहन्छु । यस महाधिवेशनमा छलफल हुन आवश्यक देखिएका र नयाँ बन्ने केन्द्रिय समितिले आउने दिनमा अवलम्बन गर्नुपर्ने केही सल्लाहसुझावहरू (व्यक्तिगत) बुँदागत रूपमा राख्ने अनुमति चाहन्छु:

  • महासंघले यो स्वीकार गर्नुपर्छ कि नेपाली ख्रीष्टियान समुदायले विगत केही वर्षहरूमा जति पाएको छ त्यो भन्दा कयौं गुणा धेरै गुमाएको छ ।
  • नेपाली ख्रीष्टियान समुदायको पक्षमा बोल्छौँ भनेर लाग्नेहरू प्रभावकारी तरिकाले राज्यको सामु प्रस्तुत हुन नसक्दा धेरै कुरा गुमाउनु परेको हो भनेर महासंघलगायत सबैले बुझ्नु आवश्यक छ ।
  • महासंघले यो स्वीकार गर्न सक्नुपर्छ कि उसको छाताभन्दा बाहिर पनि धेरै चर्चहरू छन् । संख्याको आधारमा निकै ठूला मण्डली तथा मण्डली समूहहरू पनि बाहिरै छन् । महासंघ सबैको बन्न सकोस् भन्ने हो भने सबैका लागि सार्वजानिक रूपमा मार्गप्रशस्त गर्नुपर्छ र जो कोही पनि विश्वासको मत जितेर महासंघको पदाधिकारी बन्न सक्ने प्रजातान्त्रिक परिपाटीको विकास गरिनुपर्छ ।
  • महासंघले यो बुझ्नुपर्छ कि अहिलेको भयानक परिस्थितिमा एक्लै हिंडेर हामी गन्तव्यमा पुग्न सक्दैनौं । विगतका सम्झौताहरू मूल्यवान हुन्, तर कार्यान्वयन गराउन नसक्दा तिनीहरूको महत्व रहँदैन । युद्धस्तरमा काम गरेर सबैका आँखाले देख्ने खालका नतिजा निकाल्नु आजको आवश्यकता हो ।
  • ख्रीष्टियान महासंघ नेपाल साँच्चैको “महासंघ” बन्ने हो भने समग्र ख्रीष्टियान समुदायको एकताको निम्ति स्पष्ट खाका ल्याउनुपर्छ, पद पाउनु नै ठूलो कुरा होइन भन्ने सत्यता आफुले बुझेर सबैलाई बुझाउन सक्नुपर्छ । सार्वजानिकरूपमा नै सबैलाई मान्य हुने खालको एकताको स्पष्ट खाका ल्याउनुपर्छ, होइन भने “एकता” नामको गफले केही फरक पार्न सक्दैन ।
  • यस कुरामा यहाँहरू मध्ये कतिपय असहमत हुन सक्नुहुन्छ तर मेरो विचारमा नेपाली ख्रीष्टियान जगतको हकहितमा काम गर्नका निम्ति खटिएका संघसंगठनहरूको बिचमा कार्यगत मात्रै नभएर संगठनात्मकरूपमा पनि एकता हुनु जरुरी छ । अनेक नाममा अनेक उद्देश्य लिएर गैह्र-सरकारी संस्थाहरू खुल्न सक्छन् तर ख्रीष्टियान समुदायको आधिकारिक प्रतिनिधित्व गर्ने एउटा संगठनलाई बलियो बनाइनुपर्छ । त्यसमा अधिकांश चर्च, चर्चसमुह तथा संघसंस्थाको समर्थन हुनुपर्छ ।
  • संगठनात्मक एकीकरणको काम यही महाधिवेशनमा सम्भव नहुन पनि सक्छ, त्यो अवस्थामा महाधिवेशनले त्यस कार्यका निम्ति अगाडी बढ्ने निष्कर्ष निकाल्नु आवश्यक छ । (यी सबै मेरा व्यक्तिगत सुझावहरू हुन् ।)

संघसंगठनहरूमा फुट आउनु, एकता हुन नसक्नुको प्रमुख कारण हाम्रा संघसंगठनहरूमा आफुखुसी प्रथा हावी हुनु हो । शक्तिमा रहेको व्यक्तिले जे भन्यो त्यही नै लागु हुने अवस्था आउनु असल होइन । बहुमतले निर्णय गर्ने प्रजातान्त्रिक व्यवस्था हामीभित्र भयो भने फुट आउंदैन, केही गरी फुट आयो भने पनि फुटेर गएको समुहले जनसमर्थन पाउन सक्दैन ।

एउटा बलियो संगठन हुने, देशभरका मण्डलीहरूलाई सदस्यता वितरण गर्ने, सदस्यताको आधारमा सबै मण्डलीहरूबाट महाधिवेशन प्रतिनिधि बोलाउने र गोप्य मतदानद्वारा अगुवा चुन्ने प्रजातान्त्रिक व्यवस्थासहितको एउटा बलियो छातासंगठनको आज अपरिहार्यता छ । विश्वासको मत जित्न सक्नेलाई अगुवा बनाउँदा छनौट प्रक्रियामा अनियमितता हुन पाउँदैन । त्यसका साथै कम मत ल्याएर हार्ने व्यक्तिले अर्को संगठन जन्माउने नैतिक आधार पनि गुमाउँछ । होइन भने केही व्यक्तिले बनाएको अगुवालाई अर्को केही व्यक्तिले नमान्न पनि सक्छन् ।  

मैले व्यक्तिगतरूपमा प्रस्तुत गरेका सल्लाह सुझावहरूमा महाधिवेशनको मुखमा रहेको राष्ट्रिय ख्रीष्टियान महासंघ नेपाललगायत सबै संघसंगठनहरूको ध्यानाकर्षण हुनेछ भन्ने आशा लिएको छु ।    

392 Views

मलाई मनपर्यो l (22)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

ख्रीष्टियान महासंघको महाधिवेशन र ख्रीष्टियान सरोकारका गम्भीर सवालहरू Reviewed by on . जगदीश पोखरेल भनिन्छ, सबै कुरा छ तर ढंग छैन भने केही पनि नभएको जस्तै हुन्छ रे । यसो नियालौं त, आज नेपाली ख्रीष्टियानहरूसँग नभएको कुरा के हो? हामीसँग केही गरौँ भन जगदीश पोखरेल भनिन्छ, सबै कुरा छ तर ढंग छैन भने केही पनि नभएको जस्तै हुन्छ रे । यसो नियालौं त, आज नेपाली ख्रीष्टियानहरूसँग नभएको कुरा के हो? हामीसँग केही गरौँ भन Rating: 0
scroll to top