Tuesday, October 24, 2017

नेपाली मण्डली गोराहरूले स्थापना गरेका होइनन्

October 25, 2016 3:54 pm by: Category: Articles A+ / A-

14390862_974582859335496_63500032979467201_nभारतमा विदेशीहरूले  सुसमाचार सुनाए। विभिन्न कालखण्डमा  युरोपियनहरूले भारतमा सजिलै प्रवेश  पाउनुमा बेलायती, डच, पोर्तुगिज,फ्रेन्च आदि देशहरूको उपनिवेशवादको ठूलो हात छ तर गोराहरू आफैले चाहिँ सुसमाचारमा सहभागिता जनाएनन्।  बरु  बेलायतीहरूले नै विलियम केरीजस्तो  युगान्तकारी प्रचारकलाई कलकत्ता शहरबाट गाउँतिर लखेटेका थिए।
****
नेपालको कुरा गर्नुहुन्छ भने सुसमाचार सुनाउनको लागि गोराहरूको भूमिका शून्य देखिन्छ जुन खुसीको कुरो पनि हो। सुसमाचार सुनाउन तिनीहरूलाई गाह्रो थियो किनभने पहिलो कुरो भाषाले साथ दिएन। दोस्रो, रहनसहन र संस्कारको भिन्नताले सुसमाचार प्रचार गर्न गाह्रो थियो। तेस्रो, ख्रीष्टियान मिसनरीप्रति नेपाल सरकारको (झूटो) कडाइको सामू घुँडा टेकेको कारण सुसमाचार सुनाउने खाँटी–आँटी मिसनरी नेपालमा छिर्न पाएनन्। चौथो,नेपालमा सुसमाचार सुनाउने काममा विदेशीहरूले जोखिम उठाउन चाहेनन्। यसकारण नेपाली मण्डली स्थापना हुनुमा पश्चिमी ख्रीष्टियान मिसनरीको हात बिलकुल छैन। यो तथ्य गैर–ख्रीष्टियानहरूले पनि बुझून्।
****
सुसमाचारको लागि नेपालको ढोका खोलियोस् भनेर वि.स. २००७ सालअघि सीमापारि बसेर प्रार्थना गर्नेहरूमा प्रवासी नेपाली र नेपालीभाषी भारतीयहरू पर्दछन् भन्ने कुरो हामीले सुनेका हौं वा कतै कसैले लेखेको सायद पढ्यौं। वि.स.२००७ सालको प्रजातन्त्र प्राप्तिपछि विदेशीहरू नेपालमा प्रवेश गर्ने ढोका खोलियो। नेपाली मण्डलीको इतिहासमा स्थान पाएको INF र UMNको भित्री उद्देश्य नेपालमा सुसमाचार सुनाउनु हो कि जस्तो देखिन्छ तर तत्कालीन भ्रष्ट सरकारले राख्ने नाजायज प्रस्तावलाई ‘हो’मा ‘हो’ मिलाएर सामाजिक सेवाको नाममा तिनीहरू अल्झिए। सुसमाचार सुनाउने इच्छा भएका छिटफुट गोराहरू पनि ती समूहमा देखिए तर सरकारसँग गरिएको सम्झौताको दाम्लोमा बाँधिएको कारण बँधुवा रहन बाध्य भए र सुसमाचार सुनाउने नैतिक अधिकार गुमाए। यी संस्थाहरूले भित्रभित्रै नेपाली मण्डलीबीच समन्वय गर्ने प्रयास पनि गरेको रहेछ जसअनुरूप त्यस बेलाको NCF नेपालसम्म हात लम्काएको देखिन्छ तर नेपाली मण्डलीको पुच्छर निमोठ्न सक्ने पहिलो पुस्ताका केही बाठा नेपाली तथा नेपाली–भाषी भारतीय अगुवाहरूलाई नचाउने मदारीको भूमिकाबाहेक केही गर्न सकेको देखिएन। यी संस्थाहरूबाट फाइदा लुट्ने गैर–ख्रीष्टियानहरू नै हुन्। तिनीहरूको नजरमा नेपाली मण्डलीहरू भनेका यी संस्थाहरूका गोठमा बाँधिएका र उनीहरूले खोले–फाँडो–कुँडो खुवाएर पालेका चौपाया हुन्। वास्तविकता यो हो कि यी संस्थाहरूले ख्रीष्टियानहरूलाई भन्दा गैर–ख्रीष्टियानलाई बढी महत्त्व दिए र हालसम्म पनि यही रीत चलिरहेको छ।  सरकारसँग गरिएको सम्झौता आफैले पनि यी संस्थाहरूलाई नेपाली ख्रीष्टियानहरूको भलाइ गर्न साथ दिँदैन। जे होस् यी संस्थाहरूले ढिलै भए पनि भनेका छन्, “हामी ख्रीष्टियान संस्था होइनौं” तथापि अझै पनि पश्चिमका विभिन्न साम्प्रदायिक चर्चहरूको आर्थिक सहायताबाट यी संस्थाहरू चलिरहेका छन्।
|****
यहाँ मैले INF र UMN  (World Visionलाई पनि थप्न सकिन्छ) का नाम खुला रूपमा लिएकोमा कसैलाई आपत्ति छ भने, यतिचाहिँ स्पष्ट पार्न चाहन्छु कि यी संस्थाहरू सामाजिक सेवामा तल्लीन छन् जुन राम्रो हो तर सरकारी तथ्याङ्कमा यी संस्थाहरूलाई आर्थिक लगानी गर्ने पश्चिमा चर्चहरू नै हुन् जससँग नेपाली चर्चको साइनो केलाउने ठाउँ छैन। पश्चिमी मुलुकलाई समृद्ध बनाउने सन्देश हातमा भएका नेपाली चर्च अझै पनि भुइँमा छन्। यसलाई उठाउनको लागि न दर्शन भएका पास्टरहरू निस्के न त गतिला ईश्वरशास्त्रीहरू नै। माथि उल्लिखित संस्थाहरूले सामाजिक सेवा गरेका छन् जुन प्रशंसायोग्य होलान् तर सामाजिक सेवा र सुसमाचार फैलाउने काम बिलकुल अलग कुरा हुन्।
****
यी संस्थाहरूले सेवाको नाममा अरबौं डलर झिकाएको हिसाब राख्ने समाज कल्याण परिषदको आँकडा हेर्ने हो भने ती दिने प्रत्यक्ष वा अप्रत्यक्ष दाताहरू पश्चिमी चर्चहरू हुन्। यो वास्तविकता नेपाली ख्रीष्टियानहरू जान्दैनन् र जानेका रहेछन् भने पनि ती गोराहरूद्वारा सञ्चालित केही नेपाली धूपौरेहरूले मात्र जान्दछन् जसलाई नेपाली चर्चसँग कुनै सरोकार छैन।  सायद ती दाताहरूलाई लाग्दा हुन् कि उनीहरूको पैसाले नेपाली ख्रीष्टियानहरूलाई उकास्न मदत मिलेको छ र यता नेपालको भ्रष्ट मन्त्रीदेखि उँचा–नीचा सरकारी अधिकारीले बुझ्दा हुन् कि नेपाली ख्रीष्टियान भनेका INGOका प्रतिनिधि हुन्। पश्चिमी चर्चहरूले यति धेरै पैसा ओइर्याएको देखेर ख्रीष्टियानहरूले देशलाई भित्रैदेखि ईशाईकरण गरिसकेको लख काट्नुको कारण यही हो। हुन पनि हो, यति धेरै पैसा कहाँ जान्छ भन्ने विषयमा कोही जान्दैनन्। वास्तवमा यसको चिरफार नभएसम्म नेपालमा शुद्ध सुसमाचार सुनाउन बाधा भइरहनेछ र ख्रीष्टियान भनेका पश्चिमी देशकै दलालको रूपमा चिनिरहनेछन्।
****
कुनै सम्प्रदायका गैर–नेपालीभाषी मिसनरी आएर सुसमाचार सुनाईकन शुरू भएको मण्डली मैले अहिलेसम्म देखेको छैनँ। युरोप, अमेरिका, कोरियाका कैयौं साम्प्रदायिक मण्डलीहरू २०४६को आन्दोलनपछि मिसनको नामबाट नेपालमा छिरेका हुन्। ती सम्प्रदायहरूले मिसनरीहरू खटाएर सुसमाचार सुनाएको कारण मण्डलीहरू शुरू भएका होइनन्। यसको कथा लामो छ तर छोटकरीमा भन्नुपर्दा, ती धनी सम्प्रदायहरू नेपालमा आफ्नो ब्राण्ड बसाल्न आएका वा ल्याइएका हुन् जसमा नेपालीहरूले ख्रीष्टलाई चिनून् भन्ने थोरै सदिच्छा जोडिएको भए पनि हिजो एउटा स्वतन्त्र मण्डलीमा क्रियाशील भइरहेको व्यक्तिलाई पक्रेर सम्प्रदायमा हुलेको नजीर तपाईंको सामू छन्। यसरी फुटेका मण्डलीहरू कैयौं छन्। नेपालीहरूले दु:ख गरी सुसमाचार सुनाएर स्थापना भएका मण्डलीहरू सम्प्रदायहरूको हातमा पुर्याउने दलालको काम पास्टरहरू र अहिले संस्थाको जिम्मा लिनेहरूले नै गरेका हुन्। अहिले पनि आफ्नो मण्डलीलाई घाँडो सम्झेर भिराउनको लागि सम्प्रदाय र संस्था खोज्दै डुल्ने कैयौं पास्टरहरू भेटिन्छन्।

****
सम्प्रदायहरू भित्रिनुमा पास्टरहरू र थेओलोजी पढ्न जानेहरूको पनि ठूलो हात छ। पढ्न जानेहरू कति फर्कंदैनन् र फर्केछन् भने उतैबाट कुनै न कुनै सम्प्रदाय वा संस्था लिएर आउँछन्। ती पढन्तेहरूसँग अल्पज्ञानी र दर्शनविहीन पास्टरहरूको साँढगाढ मिलेपछि गुपचुप वा तहल्कासहित नेपाली मण्डलीको किनबेच हुन्छ। कति त झूटो शिक्षातिर पनि फँस्छन् भने कतिचाहिँ सिद्धान्त नै थाहा नलागेको सम्प्रदायमा लाग्छन्। अनि बोली फेरिन्छ। नाम फेरिन्छ। कतिको त जामा–चोली नै फेरिन्छ। सम्प्रदाय पनि कस्ता? दाह्री–जुँगा पाल्नुपर्छ र फाल्नुपर्छ भन्नेसम्मका देखिए! नेपालमा अधिकांश सम्प्रदाय भनेका चिन्दै नचिनेको धनी पुरुषसँग हुर्किसकेको आफ्नो छोरी पाल्नुको पीरले जबरजस्ती विहे गरिदिएर ज्वाइँको नाता बसालेको मात्र हो। आफै गरेर खान सक्ने छोरी सुम्पिदिने निम्छरा बाउहरूले काला–गोरा जस्तोलाई पनि आखिर ज्वाइँ भन्नु परिहाल्यो! सबै सम्प्रदायलाई नराम्रा भन्न खोजेको होइनँ र सबैले यस्तै गरेका छन् भन्ने पनि होइन तर सुसमाचार सुनाएर मात्र त्यो अधिकार पाउनु वा लिनुपर्नेमा टाठो–बाठोको सहायतामा तयारी गोठै हानेर सम्प्रदायको बिल्ला भिराउनुचाहिँ गलत तरिका हो। नेपाली मण्डलीको सम्भाव्यता राम्रो हुँदा–हुँदै पनि यस्तो खलबली आउनुमा बाहिय प्रभावभन्दा पनि भित्रीय कमजोरी अर्थात् पास्टरहरूको दर्शनहीन नेतृत्व, स्वार्थ र लोभ बढी जिम्मेवार छन्।

****सुसमाचारको खातिर जेलमा पर्ने नेपाली र देश–निकालामा परेका केही गैर–नेपालीहरू माथि उल्लिखित संस्थाहरूसँग आबद्ध थिएनन्। यी समूहहरू प्राय असङ्गठित मिसनरीहरू थिए वा कुनै सम्प्रदायविशेषले पठाएका हुन्।

****अहिलेसम्म जे भयो सो भई नै गयो तर आइन्दाका दिनहरूमा सुसमाचारको गरिमालाई स्थानीय प्रार्थना, दर्शन, तदारुक मन, पसिना, पैसा र मानवीय स्रोत–साधनबाट नयाँ पुस्ताले फैलाऊन्। कसैको मुख नताकून्।

स्पष्टतया: यो मेरो व्यक्तिगत विचार र विश्लेषणमा आधारित छ।

गणेश तामाङ्ग 

166 Views

मलाई मनपर्यो l (2)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

नेपाली मण्डली गोराहरूले स्थापना गरेका होइनन् Reviewed by on . भारतमा विदेशीहरूले  सुसमाचार सुनाए। विभिन्न कालखण्डमा  युरोपियनहरूले भारतमा सजिलै प्रवेश  पाउनुमा बेलायती, डच, पोर्तुगिज,फ्रेन्च आदि देशहरूको उपनिवेशवादको ठूलो भारतमा विदेशीहरूले  सुसमाचार सुनाए। विभिन्न कालखण्डमा  युरोपियनहरूले भारतमा सजिलै प्रवेश  पाउनुमा बेलायती, डच, पोर्तुगिज,फ्रेन्च आदि देशहरूको उपनिवेशवादको ठूलो Rating: 0
scroll to top