Tuesday, October 24, 2017

क्रिश्चियनहरूलाई राजनीतिको मोह चढेछ !

October 27, 2016 7:01 pm by: Category: Articles A+ / A-
14642144_1820561171509604_1223535221957628360_nजनताको शान्तिसुरक्षा  कायम गर्ने, मौलिक अधिकारको कदर  गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण  गर्ने, राष्ट्रिय र  अन्तराष्ट्रिय  नीतिको उपयुक्त सन्तुलन गर्ने र  यस्तै अन्य कार्य गर्ने नीति राजनीति हो । राज्यको शासन–व्यवस्थासम्बन्धी नीति; राज्य–सञ्चालन–प्रणाली वा राज्य र  प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त हो राजनीति । यस अर्थमा मानिसहरुले राजनीति प्रति चासो राख्नु स्वभाविक हो तर क्रिश्चियन समुदायमा राजनीतिका विषयमा निकै भिन्न मत रहेको थियो । पुरानो मूल्य मान्यता अनुरुप राजनीतिको ‘र’ पनि चर्चभित्र उच्चारण गरिनु हुँदैन भन्ने थियो तर अहिले चर्चभित्र मुख्य पुजारीको कार्यभार सम्हाल्ने पाष्टरहरु नै पार्टी खोल्दै राजनीतिमा हाम फाल्न थाले पछि यस क्षेत्रमा निकै बहस हुन थालेको पाइन्छ । बहसले नकारात्मक मोड लिने सम्भावना पनि छ किनभने एकाथरी अगुवा पाष्टरहरु राजनीतिक दल नै खोलेर प्रचार कार्यमा लागिसकेका छन् भने ठूलो संख्यामा रहेका साधारण क्रिश्चियनहरु भने राजनीतिमा लाग्नु व्यक्तिगत स्वतन्त्रता भएपनि पाष्टरहरुले राजनीति गर्न नहुने तर्क गरिरहेका छन् । वास्तवमा के सहि ? के गलत भन्ने विषयको टुङ्गो नलागेको वर्तमान अवस्थामा त्यतिकै गैरक्रिश्चियनहरु, अन्य राजनीतिक दलका नेताहरुले समेत धर्मको नाममा राजनीति गर्नै नहुने तर्क अघि सारेका छन् । यसकारण अन्यौलतापूर्ण वातावरणलाई चिर्न केहि तथ्यहरु केलाउन जरुरी छ ।
 
समाजलाई व्यवस्थापन गर्ने सिद्धान्त, नियम वा प्रणाली राजनीतिमा मुख्य कुरा हो । बाइबलले राजनीतिका विषयमा निकै गहन र मिहिन ढंगले विश्लेषण गरेको छ । नेपाली समाजमा बाइबलीय शिक्षाको अत्यन्तै खाँचो छ । समाज व्यवस्थापनलाई बाइबलले निकै तार्किक र सुव्यवस्थित बनाउने कुरामा जोड दिँदछ । अन्याय, अत्याचार नसहने, घुस नखाने, अरुलाई दोषी नठहराउने, क्षमा दिने, थिचोमिचोमा परेका र बोल्न नसक्नेहरुको विषयमा पैरवी गरिदिनु पर्ने, धार्मिकताले राज्यको उत्थान गर्ने जस्ता विषयहरु बाइबलको प्राथमिकता पर्दछन् । बाइबलले राज्य वा सरकारको अस्तित्वलाई अस्वीकार गरेको छैन । देशको नियम कानुनलाई पालना गर्नुपर्ने तथा देशका शासक, प्रशासकहरु समेत परमेश्वरबाट अख्तियार प्राप्त अधिकारीहरु हुन् भनेर स्पष्ट पार्छ तर क्रिश्चियनहरुलाई अधिकार गर्न, शासन गर्न र समाजमा न्याय र समानता स्थापना गर्नका लागि राजनीतिक दल खोल्न अनुमति दिएको छैन । बाइबलका मुख्य पात्र येसु ख्रिष्टलाई पनि राजनीतिकर्मी बनाउन उबेलाको समाजले निकै जोड दिएको थियो । उहाँलाई मार्नेबेलामा यहुदीहरुका राजाको बिल्ला भिराएर घोर निन्दा, घृणा र अपमानसमेत गरिएको थियो । तर उहाँले आत्मिक राज्यको विषयमा सम्पूर्ण प्राण र शरीरलाई समेत त्याग गर्नुभयो । जर्बजस्ती राजनीतिक मुद्दा लगाएर नेता बनाउनु खोजियो तर उहाँले ती सब इन्कार गर्नुभयो र आत्मिक राज्यको विषयमा प्रचार गर्नुभयो । अन्ततः येसु ख्रिष्टले संसारको राज्य होइन आत्मिक राज्यको विषयमा आफू संसारमा आएको र स्वर्गको राज्य आत्मिक राज्य भएको विषयमा प्रष्ट पार्नुभएको थियो । यसकारण क्रिश्चियन भनेको ति नै येसु ख्रिष्टका अनुयायीहरु हुन् । ख्रिष्टले देखाउनु भएको बाटोमा हिड्नेहरु नै क्रिश्चियन हुन् । त्यो हो भने क्रिश्चियनहरुले राजनीति गर्नु हुन्छ कि हुँदैन ? भन्ने विषय निकै गहन विषय हो र बहस गर्नै पर्ने विषय हो । कतिपयले यस विषयमा चर्चा हुनै नहुने कुतर्क पनि गर्छन् त्यो झन खराब हो । जुन समस्याले पूर्णरुपमा मण्डलीलाई गाँजिसकेको छ त्यस विषयमाथि बहस गर्नु नै हुँदैन भन्नु मुर्खता हो । त्यसैकारण पनि यस विषयमा गम्भिर बन्न आवश्यक छ ।
 
क्रिश्चियन धर्म होइन यो विश्वास वा आस्था हो भनिरहँदा राजनीति पनि त आस्था वा बिचार नै त हो भन्ने प्रशंग पनि आउने गरेको छ । वास्तवमा ख्रिष्टिय सिद्धान्त र राजनीतिक सिद्धान्त निकै नै फरक विषयबस्तु हुन् । राजनीति संसारको राज्य सञ्चालन गर्ने नीति हो भने ख्रिष्टिय सिद्धान्तले संसारलाई हेर्ने दृष्टिकोण र आत्मिक राज्यको निम्ति लाग्नुपर्नेमा जोड दिएको छ । यसकारण सैद्धान्तिक रुपमा नै राजनीति प्रति क्रिश्चियनहरु भिन्न छन् । तर क्रिश्चियनहरु जनसंख्यामा बृद्धि हुँदै गएपछि राजनीति तिर धकेलिन थालेका छन् । यसले विश्वभरी नै यहि प्रवृत्ति अपनाउँदै आएको छ । खासगरी क्याथोलिक क्रिश्चियनहरुले पश्चिम युरोपबाट राजनीति अभियान शुरु गरेका थिए र उनीहरुले संसारभरी नै आफ्नो सञ्जाल विस्तार गर्ने योजनासमेत बनाएका थिए । सोही अनुरुप पोप तथा पादरीहरु राज्यभन्दा माथि हुन थाले । कतिपय देशमा राजाको स्थान हासिल गरे र बाइबलीय सिद्धान्त विपरितका कार्यहरु गर्न थाले । क्रिश्चियनहरुलाई बद्नामी बनाउने र संसारकै संघ संस्थाको तुलनामा परिचित गराउन थाले । यस्तै नेपालमा समेत ०६२÷६३ पछि राजनीतिमा केहि बाहुन पाष्टरहरुले जर्बजस्ती क्रिश्चियनहरुको नाम जोड्न थाले । नेपालमा ०६४ सालमा भएको संविधानसभाको चुनावमा ‘नेपाल परिवार दल’ स्थापना गरेपछि क्रिश्चियनहरुबीच राजनीतिक विषयमा बहस सुरु भएको थियो । संविधानमा आफ्नो समुदायको हक, हित र अधिकारका विषयमा लिपिबद्ध गराउने उद्देश्य भनिए पनि दलको रुपमा निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीले अबैधानिक सम्पत्ति र पैसा बाँडेर राजनीतिक हैसियत कायम ग¥यो र त्यस पार्टीका अध्यक्ष एकनाथ ढकाल सभासद बने । त्यस पार्टीको स्थायी समिति सदस्य रहेका लोकमणी ढकाल परिवार दलबाट सभासद नबने पछि उनकै योजनामा ‘जनजागरण पार्टी नेपाल’ दोस्रो संविधानसभाको चुनावमा निर्वाचन आयोगबाट स्वीकृत लिई चुनावमा भिड्यो । पहिलो संविधानसभाको चुनाव पछि एक जना समानुपातिकबाट सभासद मनोनित गर्नका लागि तत्कालिन नेकपा (माओवादी) ले क्रिश्चियन समुदायबाट प्रतिनिधि माग ग¥यो उबेला १५ जनाको नाम माओवादीमा पेश भएपछि मिलेर एकजना मात्रै सिफारिस गर्न भनेपछि अन्ततः ५ जनामध्ये कोही पनि पछि नहट्ने दाबी भयो र माओवादीले एकै जना पनि मनोनित नगरेपछि क्रिश्चियन क्षेत्रबाट राजनीतिप्रति चासो बढ्न थाल्यो । चुनाव चिन्ह चाँबी क्रिश्चियनहरुको पार्टी हो, समानुपातिकमा भोट लगाउनु होला भनि संविधानसभाको पहिलो निर्वाचनमा नेपाल परिवार दललाई चर्च–चर्चमा भोट माग्ने काम भयो तर खुलेर क्रिश्चियन नभनेकाले प्रायले भोट आ–आफ्नै तरिकाले दिए तर संविधान सभाको दोस्रो पटकको निर्वाचनमा ‘टर्च’ लाइटमा भोट मागियो र सो पार्टी चाहिँ असली क्रिश्चियन पार्टी भएको तथा परिवार दल डा. मुनको शिक्षाबाट सञ्चालित झुटो शिक्षा भएको प्रचार गरियो र जनजागरण पार्टीका अध्यक्ष पाष्टर लोकमणी ढकाललाई सभासद बनाउने काम भयो । चर्चभित्र क्रिश्चियनहरुलाई ह्वीप जारी भएपनि क्रिश्चियनहरुले स्वविवेक प्रयोग गरे र आ–आफ्नै इच्छा अनुसार मतदात गरे । पहिलो पटक आशातित मत प्राप्त गर्न नसकेपछि आगमी स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गरी क्रिश्चियनहरुका बीचमा राजनीतिक अभ्यास गरिरहेको अवस्थामा हालै काठमाण्डौं कै जोरपाटी स्थित नेपाल जागृत्ति चर्चका पाष्टर भरत गिरीले ‘आमूल परिवर्तन ख्रिष्टियन पार्टी’ चुनाव चिन्ह क्रुस राखि निर्वाचन आयोगमा दल दर्ताको निम्ति निवेदन दिएपछि नेपाली समाजमा यस विषयले निकै तताएको छ ।

वास्तवमा क्रिश्चियन समुदायमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका डा.इशुजंग कार्की सहितको ठूलो समुदाय गत साल नै डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित ‘नयाँ शक्ति नेपाल’ मा सक्रियपूर्वक काम गरिरहेका छन् । उनीसँगै जनजागरण पार्टीका नेता रामप्रसाद न्यौपाने पनि भट्टराईको नयाँ शक्तिमा लागेका थिए । यसरी नेपाली क्रिश्चियन इतिहासमा राजनीतिको प्रभाव ढकाल देखि कार्की, न्यौपाने, खनाल हुँदै गिरीसम्म आइपुग्दा बहुसंख्यक ख्रिष्टियनहरु आदिवासी, जनजाति, दलित तथा पछाडि पारिएका समुदायहरु अहिले निकै अन्यौलतामा परेका छन् । उनीहरुले राजनीति र चर्च फरक–फरक विषयबस्तु भएकाले राजनीतिमा धार्मिक मुद्दा उठाउन नहुने तर्क निकै संवेदनशील छ । ख्रिष्टियन निश्चित जात, सम्प्रदाय, क्षेत्र, वा वर्गको पहिचान बोकेको समूह होइन । यसमा कुनै वर्ग, लिङ्ग, सम्प्रदाय, जात आदिको सिमा छैन । सबै मानिसहरु ख्रिष्टमा विश्वास गरिसकेपछि एकै हौं, जात, भाषा, भूगोल, संस्कार, संस्कृतिजस्ता साम्प्रदायिकतालाई परसार्दै भातृत्व, प्रेम र एकतामा बाँधिएका हुन्छन् । भातृत्व, प्रेम र एकता नै क्रिश्चियनहरुको पहिचान हो । यसलाई खलल पु¥याउन जिम्मेवार भूमिका निर्वाह गर्ने अगुवा तथा पाष्टरहरुमा देखिएको लोलुपता, धनसम्पत्ति, मानसम्मान आदिप्रतिको मोह नै खराबीको जड हो । अहिले जति पनि राजनीति क्षेत्रमा लागेको क्रिश्चियनहरु छन् उनीहरु सबै क्रिश्चियन पार्टीमा छन् भन्ने हुँदै होइन, समग्रतालाई हेर्ने हो भने माओवादी केन्द्रमा सबैभन्दा बढि, त्यसपछि एमालेमा, काँग्रेस र विप्लव माओवादी देखि राप्रपा नेपालसम्म लागेको पाइन्छ । संघीय समाजवादी फोरममा होस् वा बैद्य माओवादीमा अर्थात सामाजिक लोकतान्त्रिक पार्टीमा नै किन नहोस् । यतिसम्मकी बाइबलमा विश्वास गर्छु भन्नेहरु सशस्त्र भूमिगत समूहहरुमा लागेर बम, बारुदको गोलाबारी गर्नेहरु पनि थिए तर तिनीहरु मध्ये धेरैले बाटो परिवर्तन गरिसकेका छन् । यसको मुख्य कारण भनेको मनमा इगो नहटेकै कारण हो । पूर्ण रुपमा परिवर्तन नभएको मानिसको भरोसा परम प्रभु परमेश्वरमा भन्दा राजनीतिक शक्तिमा हुन्छ । पुलिस, प्रशासन, समाज आदिमा क्रिश्चियन हुँ भन्नुभन्दा नामी पार्टीको नेता भन्नुमा रुचाउने व्यक्ति चाहे नामको अगाडि जेसुकै पद धारण गरेपनि अपरिपक्व हो । एउटा परिपक्व क्रिश्चियनले राजनीतिलाई भन्दा मण्डलीलाई प्रेम गर्छ । जसको प्रेम जे मा छ उसले त्यहि क्षेत्रलाई आफ्नो लक्ष्य बनाउँछ ।
 
आत्मसम्मान, आत्मसमिक्षा, आत्माकेन्द्रित, आत्माघाती जस्ता विभिन्न विषयलाई जुनसुकै विचार वा सिद्धान्तका मानिसहरुले स्वीकार गर्ने गर्छन् । भौतिकवादीहरुले आत्मा छैन भनेपनि आत्मासम्मान, आत्मासमिक्षाका विषयलाई निकै गहनरुपमा लिने गरेका छन् । यसको अर्थ के हो भने भन्दा जे भनेपनि भौतिक शरीर जो छुन, देख्न सकिन्छ तर आत्मा अदृष्य तर अनुभव गर्न सकिने विषय हो । त्यसैले मानिसको शारीरिक मृत्यपछिको जिवनका विषयमा स्पष्ट पार्ने दर्शन बाइबलमा छ । ज–जसले येसु ख्रिष्ट नै मुक्तिदाता हुनुहुन्छ भनि स्वीकार गर्छन् र विश्वास गर्छन् तिनीहरु स्वर्गका भागिदार हुन्छन् । स्वर्गका प्रतिनिधि अर्थात राजदूतहरु क्रिश्चियनहरु हुन् । क्रिश्चियनहरुले स्वर्ग राज्यको विषयमा सबै नागरिकहरुलाई सुसमाचार प्रचार गर्नुपर्छ तर क्रिश्चियनहरुकै सहभागितामा खोलिएका संघ संस्थाहरुले एकअर्कालाई सिध्याउने अस्त्रका रुपमा संस्थालाई प्रयोग गर्ने र संसारिक ढाँचामा चल्नेहरु पनि प्रशस्त छन् । मुख्य इसाई संघसंस्थाका नेतृत्वमा रहनेहरुमा देखिएको उक्त घमण्डले बाइबलीय सिद्धान्तलाई ओझेलमा पारिरहेको छ र दैनिक गुजाराका निम्ति नै उत्प्रेरित गरिरहेका छन् । उक्त कुराको जिम्मेवारी उनीहरुले नै लिनुपर्ने हुन्छ । दोषबाट अरुलाई दोषी देखाएर उन्मुक्ति प्राप्त गर्नेछैनन् ।
 
नाम राख्दैमा कोही मानिस ख्रिष्टको प्रतिनिधि हुँदैन । नेपाल भनेको बाहुन जातिको एउटा थर नेपालहरुको मात्रै होइन । त्यस्तै कसैले क्रिश्चियन हुँ, क्रिश्चियनहरुको हक, हित र अधिकारका निम्ति संघर्ष गर्दैछु भनि आफ्नो दुनो सोझ्याउने मेसोमा लागेको छ भने उसलाई समयमा नै पहिचान गर्नु पर्छ । हाम्रो समाज बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक, बहु पहिचानयुक्त भएकाले कुनै जात, धर्म, सम्प्रदायका खरा नारा वा भाषण वाजीले सफलता प्राप्त गर्न सकिन्दैन । त्यसकारण पनि क्रिश्चियनहरु यस्तो बहकाउमा दौडन्छन् जस्तो लाग्दैन । नेता हुने इच्छा राख्ने व्यक्तिहरु दौडधुप गर्छन् र अन्तमा थकित भई बोझले लादिएपछि फेरी पश्चाताप गरेर ख्रिष्टको चरणमा आउने नै छन् यसमा कुनै द्वविधा छैन । अहिले जिम्मेवार अगुवाहरुले राजनीति गर्न चर्चका अगुवाहरुलाई जसरी चम्काईरहेका छन् भोली एउटै चर्चमा थुप्रै पार्टीका नेताहरु हुनेछन्, त्यहाँ शान्ति, सद्भाव, भातृत्व, प्रेम सेलाएर विभाजन आउनेछ अनि बेस्सरी आशु बगाउँदै गलत कामको पश्चाताप गर्नेछन् । कतिले पश्चाताप गर्ने मौका पाउछन् धेरैले गुमाउने छन् अनि पश्चाताप गर्ने मौका नपाउने स्वर्गको राज्यमा पस्नसमेत बञ्चित हुनेछ ।
 
मूलधारमा रहेका राजनीतिक पार्टीहरुलाई विस्थापित बनाउन सक्ने बैकल्पिक राजनीतिक शक्ति अहिले नेपालमा छैन । राजावादीहरु त हरेश खाइसके भने यसअघि नै जातिवादी, क्षेत्रीयवादी पार्टीहरु समेत लखतरन भई घिटघिटोमात्रै अल्झिरहेको छ । अब धार्मिक नारा दिएर खोलिएका पार्टी वा छद्मभेषी रुपमा धर्मको आडमा राजनीति गर्न चाहने शक्तिहरुले कुनै हालतमा सफलता प्राप्त गर्दैनन् । हो अल्पसंख्यकहरु संगठित हुनु, आफ्ना आवाजहरुलाई बुलन्द बनाउनु स्वभाविक हो तर त्यसमुद्दाकै निम्ति लामो समयदेखि राजनीति गरिरहेका पार्टीहरुका अघि सायद क्रिश्चियन पार्टीहरुको दम पुग्दैन । खुरुखुरु चर्च जानु, बिरामीहरुका निम्ति प्रार्थना गर्नु, अभाव–घटिकमीमा भएकाहरुलाई सहायता गर्नु, स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नु र टेडा र बरालिएको समाजलाई सिधा बाटोमा हिडाउन आत्मिक राज्यको अभ्यास गराउँदै निरन्तर अघि बढ्नै नै अहिलेको आवश्यकता हो । तर यस कुराको समझ नखोलिएकाहरुलाई संसारको देबले अन्धो बनाइदिएको छ । आत्मालाई दुःख दिएको छ र अन्य बहकाउमा लागेर समय वर्वाद गरिरहनेहरुका निम्ति सबैले प्रार्थना गरिदिन आवश्यक देखिन्छ ।
गिदोन लामिछाने

148 Views

मलाई मनपर्यो l (5)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

क्रिश्चियनहरूलाई राजनीतिको मोह चढेछ ! Reviewed by on . जनताको शान्तिसुरक्षा  कायम गर्ने, मौलिक अधिकारको कदर  गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण  गर्ने, राष्ट्रिय र  अन्तराष्ट्रिय  नीतिको उपयुक्त सन्तुलन जनताको शान्तिसुरक्षा  कायम गर्ने, मौलिक अधिकारको कदर  गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण  गर्ने, राष्ट्रिय र  अन्तराष्ट्रिय  नीतिको उपयुक्त सन्तुलन Rating: 0
scroll to top