Friday, December 15, 2017

दुःखी जीवन

November 30, 2017 9:27 am by: Category: Articles, Gallery A+ / A-
जीवनका दुःखलाई समेट्दै डोटेली भाकामा शेर बिष्ट आफ्नै सब्दमा गाउँछन्;
 
लाग्याकी जून होइजाउ; पूर्णिमाकी रात होइजाउ। 
नदुख्‍न्या मन होइजाउ; साथदिन्या करम होइजाउ।।
कैकी खोजी जान्छै?; रनवन डुलन्या चरी।
किन दुःख दिन्छै?; गरीबलाई पापी दैव।।
मन भरीका ब्यथा; आँखा भरी आँसु हुना।
सुखारीलाई के था; दुखारीको दुखी कर्म।।
भगवान बुझलो; दुखारीको दुखी कर्म।
बाहिरी मन उजालो; भित्रि मन दुखेको दुख्यै।।
 
तेरी खाने दुःख! कसैले तँलाई नबोलाउँदा नि तँ टुप्लुक्क आइपुग्छस्। तेरो लागि न धनी न गरीब। न ठूलो न सानो। न पापी न धर्मी। तापनि दुःख, गरीबलाई तेरो भार थेग्न सारै गाह्रो हुँदो रहेछ। तँलाई खुसी पार्न जीवनमा सम्झौता गर्दा गर्दै गरीबको जीवन नै तँ खोसेर लान्छस्। म बसेकै शहरमा लाखौं दुःखीहरू छन् तर तीमध्य धेरैले त तेरो मुखमा बुजो लाउन सक्छन्। तँलाई लज्जित पार्न उनीहरू शिक्षा र स्वास्थ्य किन्न सक्छन्; ऐस, आराम किन्न सक्छन्। तर गरीबलाई तँ कहिल्यै उम्कन दिँदैनस्।
 
तँलाई थाहा छ, हिँजो म एउटा घरमा पुगेको थिएँ जहाँ तेरो राज्यले कब्जा जमाएको छ। चालिस बसन्त पनि पार नगरेका दम्पत्तिका चार जना छोराहरू छन्। बास बस्ने छाप्रो पनि घर भन्न लाएकको छैन; बसेको ठाउँ पनि त्यस्तै। जेठो छोराले बिस काटेको छैन तर उसको अनुहारमा तैंले अधवैंसे जीवनका रेखा कोरि सकेको छस्। बाबु भनौदो घरमुलीको काम त छ तर साँझ घर आउँदा बाटैमा पल्टिन्छ र असहाय छोराहरूले नै बोकेर छाप्रो मुनि ल्याउनु पर्छ। वर्षौंको बानि, उसले कहिल्यै श्रीमती र छोराहरूको दुःखलाई घटाएन, बरू थप्दै गयो। छिमेकमा साथीहरूले राम्रा लुगा लाउँदा, आफ्ना फाटेकै झ्याम्टाहरूसँग यिनीहरूले मित्रता गाँसे। जसतसो आमाको मायाँमा यी चार निर्दोषीहरूले जीवनसँग संघर्ष गर्दै थिए। तर तँ पाजी दुःखले त्यतिमा मात्रै उनीहरूलाई छोडिनस्। ती अबला आमाको टाउकोमा कहिल्यै निको पार्न नसकिने मासुको डल्लो उमारी दिइस्। हेर्दा हेर्दै, उनको जीवनलाई त धरापमा पारिस् पारिस्, तर त्यो भन्दा पनि आफ्ना चार नावालकहरूको चिन्ताले ती आमाको मन कति टुटेको छ होला! रात होस् कि दिन, ती आमाको लागि यो जीवनमा सुख भन्ने बैगुनीले कहिल्यै अनुहार देखाएन तर तँ पाजी दुःखले उनलाई कहिल्यै उम्कन दिइनस्। हातमा सम्पत्ति भैदिएको भए साँयद उनले पनि जीवनका रेखाहरूलाई केही समय सम्म तन्काउन सक्थिन् होला तर के गर्ने दुःख, तैंले कुनै मौका दिइनस्।
 
यी आमालाई पनि लाग्दो हो कि जीवन पूर्णिमाको रातमा लागेको जून जस्तै भैदिए कस्तो हुन्थ्यो होला! मनमा कहिल्यै चोट नलाग्ने भए, कर्मले साथ दिएको भए; जीवन जीउन उनलाई पनि किन थकाइ लाग्थ्यो होला र? तापनि ती छोराहरूको लागि भए पनि बाहिरी मन उज्यालो गर्नै पर्‍यो। दोष पनि कसलाई दिने?
 
शेर बिष्ट सोध्छन्; “किन दुःख दिन्छै; गरीबलाई पापी दैव?” अनि गुनासो पनि गर्छन् र भन्छन्; “मन भरीका ब्यथा; आँखा भरी आँसु हुना। सुखारीलाई के था; दुखारीको दुखी कर्म”। हुन पनि हो। सुखारीलाई के थाहा? कतै बाट जवाफ नपाएपछि सम्पूर्ण दुःखारीको प्रतिनिधित्व गर्दै, दुःखलाई हृदयमा दबाउँदै गाएक बिष्ट भन्छन्; “भगवान बुझलो; दुखारीको दुखी कर्म। बाहिरी मन उजालो; भित्रि मन दुखेको दुख्यै”।
 
हो; हुने खानेले सायद बाहिरी मन उज्यालो पार्दै आफ्नो दुःख लुकाउन सक्छन् होला तर गरीबलाई त्यो पनि गाह्रो। जहाँसम्म भगवानले बुझिदिने कुरा छ, त्यसको पनि निश्चय छैन। आँखिर कर्म कै फल त हो। हाम्रो धर्म-संस्कृतीमा अर्को वैकल्पिक जवाफ नै छैन।
 
इसाई विश्वासलाई हाम्रो समाजले “विदेशी” धर्मको खोल ओढाए पनि यो निरङ्कूश र दुःखी पाप-कर्मको चक्रबाट सम्पूर्ण मानव जातीले मुक्ति पाउने सजिलो उपाए बाइबलले मात्रै देखाएको छ। बाइबलका अनुसार एक मात्र परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न सृष्टिको सुन्दराता नै पर्याप्त छ। पापबाट मुक्ति पाउनुपर्ने तथ्यलाई स्वीकार गर्न मानिसले आफ्नो विवेकको आवाजलाई सुनेमा पर्याप्त छ। सृष्टिको सुन्दरता र विवेकको आवाजलाई ध्यान दिने मानिसलाई परमेश्वरले आफ्नो अनुग्रहको शक्तिमा मुक्तिदाता येशू ख्रीष्टको नजिक ल्याउनुहुन्छ। मानिसलाई परमेश्वरले यति धेरै प्रेम गर्नुभयो कि उसलाई पाप-कर्मको चक्रबाट छुटकारा दिन परमेश्वरले मानिसको रूप लिनुभयो। येशू ख्रीष्ट नै त्यो मुक्तिदाता हुनुहुन्छ।
 
सायद गरीबको दुःखलाई देखेरै होला; मानिसलाई पापबाट मुक्ति दिन आएको मुक्तिदाताले पनि मुक्तिको सुसचामार सर्व प्रथम गरीबहरूलाई सुनाउने निर्णय गर्दै भन्नुहुन्छ; “गरीबहरूलाई सुसमाचार सुनाउन परमेश्वरले मलाई अभिषेक गर्नुभयो” (लूका ४.१८)।
 
पापको कारण मानिसले आफ्नो जीवनका सबै सुखहरू शैतानलाई हस्तान्तरण गरेको तथ्य बाइबलमा उल्लेख गरिएको छ। त्यसैकारण परमेश्वर येशूमा मानिस भएर आउनुभयो र मानिसकै स्थानमा रहेर पापको ज्याला मृत्युलाई स्वीकार गर्दै तेस्रो दिनमा मुर्दाबाट बौरी उठेर शैतानको हातबाट मानिसले गुमाएका सबै सुखहरू फिर्ता ल्याउनुभएको छ। त्यसैलाई हामी “सुसमाचार” अथवा “खुसीको खबर” पनि भन्छौं।
 
जब येशू मानव जातीका लागि यो खबर लिएर आउनुभयो तब गरीबहरूलाई नै पहिला यो खबर दिनुभयो। दुःखीहरूलाई, मन भाँचिएकाहरूलाई, कैदिहरूलाई र थिचोमिचोमा परेकाहरूलाई छुटकारा दिन आएको तथ्य घोषणा गर्दै उहाँले आफ्नो सेवाको सुरुवात गर्नुभयो (लूका ४.१८-१९)।
 
आज जसकसैले येशूलाई मुक्तिदाता भनि स्वीकार गरेर विश्वास गर्दछ, उ पाप र पापले ल्याएका सबै दुःख र बन्धनबाट मुक्ति पाउँदछ। संसारमा रहुन्जेल दुःख भोग्नुपरे पनि आउने संसारमा परमेश्वरले उसमाथि उचित न्याय गर्नु हुनेछ। त्यसैकारण माथि उल्लेख गरिएकी दुःखी आमाले पनि येशूलाई विश्वास गरेको कारण चिहान पारिको जीवनलाई हेरेर रमान सक्छिन् र चार जना छोराहरूको वास्था पनि तिनै येशूले गर्नुहुनेछ भनि जानेर निर्धक्क हुन सक्छिन्। अहिले हेर्दा ती चार जना बालकहरूमा दुःखको भारी थुपारीएको जस्तो देखिए पनि तिनीहरूले आफ्नो भविस्य उज्वल भएको देख्‍नेछन् कारण बाइबलले भन्छ; “16यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्‍यत्‍व नाश हुँदैगए तापनि हाम्रो आत्‍मिक मनुष्‍यत्‍वचाहिँ दिनदिनै नयाँ हुँदैजान्‍छ। 17किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ। 18हामी दृश्‍य कुरालाई होइन, तर अदृश्‍य कुरालाई हेर्छौं, किनभने दृश्‍य कुरा क्षणिक हुन्‍छन्, तर अदृश्‍य कुराचाहिँ अनन्‍तसम्‍म रहन्‍छन्‌” (२कोरिन्थी ४.१६-१८)।
 
येशू विनाको जीवनमा हाम्रो दुःखलाई बुझिदिने कोही छैन। तर येशूमा हामी त्यो मुक्तिदातालाई भेट्टाउँदछौं जो हाम्रा सबै दुःखसँग परिचित हुनुहुन्छ।

196 Views

प्रतिक्रियाहरू

दुःखी जीवन Reviewed by on . जीवनका दुःखलाई समेट्दै डोटेली भाकामा शेर बिष्ट आफ्नै सब्दमा गाउँछन्;   लाग्याकी जून होइजाउ; पूर्णिमाकी रात होइजाउ।  नदुख्‍न्या मन होइजाउ; साथदिन्या करम होइजाउ।। जीवनका दुःखलाई समेट्दै डोटेली भाकामा शेर बिष्ट आफ्नै सब्दमा गाउँछन्;   लाग्याकी जून होइजाउ; पूर्णिमाकी रात होइजाउ।  नदुख्‍न्या मन होइजाउ; साथदिन्या करम होइजाउ।। Rating: 0
scroll to top