Thursday, July 19, 2018

एक खेलाडीको मर्मस्पर्शी जीवन गवाही

February 2, 2018 3:52 pm by: Category: Testimonials A+ / A-

मेरो नाम मोहन विष्ट हो । नेपालमा मेरो घर काभ्रे हो र म हाल अमेरीकाको न्यूयोर्क सहरमा परिवारसहित बसोबास गर्छु । नेपालमा हुँदा म खेलकुदमा सक्रिय थिएँ । फुलकन्ट्याक्ट कराँतेको म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पनि हुँ । नेपालमा हुँदा स्कूलमा अध्यापन पनि गर्थें र आध्यात्मिक चिन्तनमा पनि मन लगाउँथे । ओशो तपोवनदेखि भारतको पुनासम्म र नेपालका विभिन्न मठमन्दिरदेखि योगी विकासानन्दको प्रवचनहरुमा पनि त्यतिकै पुगेको हुन्थे ।

विभिन्न ध्यान र योग सिविरमा समेत समय र पैसा खुव खर्च गरेको छु । आज आएर सँझदा ती सबै कुरा मैले सत्य पाउनको लागी गरेको खोज र अनुसन्धान हुनुपर्छ जस्तो लाग्छ । मेरो हृदयमा साँचो परमेश्वर वा सत्यताप्रति तिब्र चाहा थियो होला सायद । नेपालमा रहँदा इसाईहरुले धर्म परिवर्तन गराएको विषयमा अली अली सुनेको थिएँ तर कसैले पनि बाइबल लिएर मलाई बचन सुनाउन आएन, त्यस्तो कोहीसँग पनि भेटै भएन । जे भए पनि कतै भेट होस् भन्ने चाहना मनमा थियो । किनकि म उनीहरूलाई कडा प्रतिवाद गर्न सक्छु भन्ने विश्वास बोकेर हिडेको थिएँ । 

सन् २००६ मा अमेरीका आएपछि नेपालीहरु संग बस्दा उनिहरु हरेक आइतबार चर्च जाँदा रहेछन । उनिहरुसंगै चर्च जान थालियो । नेपालीहरुको एउटा सानो समुह कोरिएन प्रेसबाइटिरियन चर्चमा संगती गर्दा रहेछन । पहिले कोरियनको समुहमा बसेर र पछि खाना खाइसकेपछी नेपालीमा संगती गर्ने गर्थे । कोरियन भाषालाई नेपालीमा उल्था गर्ने व्यक्ति नै नेपाली संगतीको अगुवा थिए । बाइबल कसरी पढने र के बुझ्ने हो यसबाट भनेर पहिलो प्रश्न सोध्दा उहाँले नयाँ करार पढनु भन्नु भयो र दश डलरमा एउटा बाईबल पनि दिनुभयो । पहिलोपल्ट उहाँहरुको कुरा सुन्दा मेरो मनमा उनीहरु गलत बाटोमा हिडीरहेका छन र उनीहरुलाई सत्यबाटो मैले सिकाउनैपर्छ र बाइबलबाट नै तिमीहरु कति गलत छौ भन्ने प्रमाणसहित तिमीहरुलाई सत्य बाटो (जो मैले जानेको थिए, ध्यान, योग र पुजापाठबाट ) सिकाउँछु भन्ने मनमा संकल्प बोकेर बाईबलसहित फर्किएं । 

नयाँ करार सबै पढे तर मेरो मनछुने कुनै कुरा पाउन सकिन । पहिलो चार किताबमा त उही घटना क्रम दोहोरिका थिए, कताकता गल्तीले छापिएको पो हो कि जस्तो पनि लाग्यो । अर्कोपटक मैले एक प्रश्न सोधे पाष्टरलाई कि येशुले क्रुशमा टाँगिदा “हे पिता मलाई किन त्याग्नुहुन्छ” भनेर भन्नु हुन्छ, किन परमेश्वर पिताले आफ्नै पुत्रलाई पनि त्याग्नुभएको ? मलाई चित्त बुझ्ने जबाफ कसैले दिन सकेनन । अनि मेरो कामको कारणले म चर्च जान पाइन र जान छाडे । एकपटक पुरानो करार पनि पढेर सकिसकेको थिए । बाइबल मेरो सिरानीमै धुलो बोकेर बस्यो ।

करिब २ वर्षपछि मैले जागीर छोडे र फेरी चर्च जान थाले । म काम पनि खोज्दै थिए र यसपटक अली राम्ररी बाईबल पढछु भन्ने मनमा आइरहेको थियो । बेरोजगारीले गर्दा चिन्तित पनि थिए । शनिबार सडकको पेटीमा ज्वेलरी र स्टोनहरु राखेर बेच्ने व्यवसाय पनि गर्दै थिए जुन बेला कोरियन केटीहरुले मलाई एउटा पर्चा दिए, जसमा लेखिएको थियो Secret of forgiveness of Sin and being born again ! यो पर्चाले मेरो मन छोयो किनकी ओशोको ध्यान सिविरहरुमा पनि मैले “दोश्रो पटक जन्मने” कुरा सुनेको थिए । त्यसै दिन बेलुकी म त्यस चर्च खोज्दै गए ।

सेवा अंग्रेजीमा थियो र एक साधारण घरको कोठामा २०,२५ जना कोरियन र केही अफ्रिकन अमेरीकनहरु सहभागी थिए । पाष्टरले बचन सकिएपछी मलाई छुट्टै राखेर फेलोसिप सुरु गरे र बाईबलका पदहरु देखाउन थाले । यशैया ५५:८ मा लेखिएको बचन “किनकि मेरा विचारहरु तिमीहरुका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्” भन्ने परमप्रभुको बचनले मेरा आँखा खोलियो ।

पहिलोपल्ट मेरो परमेश्वरलाई हेर्ने दृष्टकोण फेरियो । परमेश्वरलाई पाउनको लागी मैले गर्दै आएको पूजा, पाठ, दानदक्षिणा र धर्मकर्म गलत बाटो पनि हुनसक्छ किनकि परमेश्वर महान हुनुहुन्छ । यदि उहाँको बाटो र मेरो बाटो एकै हुने र मेरा चाल र उहाँको चाल एकै हुने हो भने त मै पनि परमेश्वरजस्तै भैहाले नी । परमेश्वर र ममा के फरक भयो त भन्ने सोचाई आयो । त्यसैले उहाँसँग मेरो चालचलन र हिडने बाटाहरु निश्चितरुपमा फरक हुनैपर्छ भन्ने ज्ञान आयो । मैले वर्षौदेखि देबी-देउतालाई खुसी पार्न गर्दै आएको पुजापाठ, दान, धर्म र बर्तहरु त परमेश्वरको इच्छाअनुसार होइन रहेछ त्यो त मेरो मात्र परमेश्वरलाई पाउने प्रयत्न रहेछ भन्ने थाहा पाएपछि, बाईबलप्रति मेरो धारणा बदलियो । बाईबल परमेश्वरको बचन नै रहेछ भन्ने मलाई महशुस भयो ।

यर्मियाको पुस्तक १:५ मा लेखिएको “मैले तँलाई गर्भमा रच्नुभन्दा अघि नै तँलाई चिनीसकेको थिँए, तँ जन्मनुभन्दा अघि नै मैले तँलाई अलग गरें” भन्ने बचनले मैले वर्षौदेखि खोज्दै आएको परमेश्वरलाई भेटेजस्तो लाग्यो ।

उहाँले मलाई अलग गर्नुभएकोले नै त सबै साथीहरु क्यारेम र तास खेलेर बस्थे, म भने कहिले 
क्याम्प त कहिले सेमिनारहरुमा कुदी बस्थे । उनीहरुलाई पनि जाउँ न भन्दा कसैले जान मानेनन तर म भने एक्लै पनि आध्यात्मको मार्गमा लागीरहे । परमेश्वरको विशेष बोलावटले नै गर्दा मलाई त्यो जाँगर र उत्प्रेरणा पाईरहेको रहेछु भन्ने लाग्यो ।

हिब्रु १०:१७ मा लेखिएको “तिनीहरुका पाप र तिनीहरुका दुष्कर्महरु म फेरि सम्झनेछैन” भनेर भन्नु भएको बचनले मैले जान-अन्जानमा गरेका सम्पूर्ण पापहरुदेखि मुक्त भएको महशुश भयो । मनमा डेरा गरी बसेका विभिन्न पश्चातापहरु जसले बेला-बेलामा सताईरहन्थे र पिडा दिन्थे, ती सबैबाट एकाएक छुटकारा पाएको महसुस भयो । मैले गरेका सम्पूर्ण पापहरुबाट ख्रिष्टले आफ्नो रगत बगाएर ज्याला तिरीदिनु भएको रहेछ भन्ने थाहा पाएर संसारको सबैभन्दा खुशी र सुखी मान्छे मै हुँ जत्तिकै भएको थियो । 

फेरि, युहुन्ना ८ मा रहेको व्यभिचारीणीको उद्धारको बचनले त्यो व्यभीचारीणी मै हुँ र मलाई येशु ख्रिष्टले मुक्ती दिनुभयो भन्ने लाग्यो । येशूले मलाई “म पनि तिमीलाई दण्ड दिन्नँ । जाऊ अनि फेरि पाप नगर” भन्नुभयो भन्ने विश्वास गरेर त्यस आध्यात्मिक व्यभिचारबाट मैले उहाँको बचनले मुक्ती पाए । जसरी जल कुण्डमा ३८ वर्षदेखि लडीरहेको पक्षघातीलाई प्रभु येशूको बचनले तुरुन्तै निको बनायो, त्यही बचन उहाँले बाइबलद्धारा मलाई भन्नुभएको मैले विश्वार गरेर मैले मुक्ती पाएको निश्चयता गरें । 

बिभिन्न पाष्टरहरुसँगको नियमित संगती र बाइबलको अध्ययनले मैले परमेश्वरको मेरो लागी र सारा मान्छेको लागी उहाँको करुणा र योजना बुझ्न थालेको अनुभूती भयो । नियमित बाईबल अध्ययन र विभिन्न प्रचारकहरुको बचनहरु अनलाईनबाट सुनेर र तिनीहरुलाई बाईबलसँग तुलना गर्दै अझै पनि सिक्दैछु । 

शारीरिक संसर्गद्धारा संसारमा जन्मने मान्छे सबै जन्मदै पापी छन्, जन्मदै पापी भएको कारणले मानिसले पाप गरी रहन्छ । पापको कारणले मानिसको परमेश्वरसँग सँगती वा सम्बन्ध टुटेको छ । बचनले भन्छ “किनकी सबैले पाप गरेका छन र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” (रोमी ३:२४) मानिस र परमेश्वरको बिचमा रहेको यो पापको पर्दाको कारणले मानिसहरु परमेश्वरलाई नचिनेरै मरेका छन् र अनन्त जीवनमा नर्कलोकमा पुगेका छन् । “परमेश्वर भन्नुहुन्छः तर तिमीहरुको अर्धमले तिमीहरुलाई आफ्ना परमेश्वरबाट अगल गरेका छन्, तिमीहरुका पापले गर्दा उहाँको मुहार तिमीहरुबाट छेकिएको छ, र उहाँले तिमीहरुका कुरा सुन्नुहुने छैन । (यशैया ५९:२)

पाप कर्मबाट मानिस आफै मुक्त हुन असम्भव छ, जसरी कुनै पोखरीमा डुबेको व्यक्ति आफै बाहीर आउन सक्दैन । येशु ख्रिष्ट जो कुमारी गर्भबाट जन्मनुभयो, विना कुनै शारीरिक संसर्ग, त्यसैले उहाँ मान्छेभन्दा फरक हुनुहुन्छ र धर्मी हुनुहुन्छ । उहाँले मात्र मानिसलाई त्यो पापको पोखरीबाट बाहिर निकाल्न सक्नुहुन्छ किनकि उहाँ पापको पोखरीभन्दा बाहिर हुनुहुन्छ । यो सत्य बुझेपछि मैले पाप के हो ? व्यवस्था के हो ? धर्म के हो ? पश्चाताप के हो र मानिस के हो, किन यो सँसारमा आयो र यस सँसारमा आएपछी उसले गर्नैपर्ने एकमात्र महत्वपूर्ण काम के हो भन्ने सबै छर्लङ्ग बुझेको छु । अब यस संसारका कुनै पनि धार्मिक वा दार्शनिकले मलाई येशु ख्रिष्टको अनुग्रहको मुक्तीको मार्गको विश्वासबाट छुटाउन सक्नेछैनन् ।

अब म धर्म, दर्शन, देश, जात र आफ्नै शारीरिक अंगहरु समेतबाट स्वतन्त्र पारिएको छु, भएको छु । हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक अरु कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दुर रहोस्, जसद्धारा मचाहिँ सँसारको लेखी, र संसार मेरो लेखी क्रूसमा झुण्ड्याइएको छ । (गलाती ६:१४) उहाँको अनुग्रहको सुसमाचार प्रचार गर्नको लागि मात्र म यो सँसारमा छु, मेरो लागि स्वर्गीय राज्य ख्रिष्टले सुनिश्चत गरिसक्नुभएको छ । परमेश्वरको अनुग्रहको लागि धन्यवाद चढाउँछु । 

अब यही सुसमाचार म मेरो देशका सबै दाजुभाई, दिदीबहिनी र आबा बुबाहरुलाई सुनाउँदै अनुग्रहद्धारा सित्तैको उद्धार र मुक्तीको सँदेश सुनाउँदै सबैको यस जीवन सुख, शान्ति र आनन्द पुर्बक विताउँदै, अनन्त जीवनमा परमेश्वरको साथमा स्वर्गमा विताउन सक्ने निश्चिततामा विश्वसता जगाउँदै सारा सँसारलाई प्रभुको आगमनको लागि तैयारी पार्ने काममा नै बिताउनेछु ।

77 Views

प्रतिक्रियाहरू

एक खेलाडीको मर्मस्पर्शी जीवन गवाही Reviewed by on . मेरो नाम मोहन विष्ट हो । नेपालमा मेरो घर काभ्रे हो र म हाल अमेरीकाको न्यूयोर्क सहरमा परिवारसहित बसोबास गर्छु । नेपालमा हुँदा म खेलकुदमा सक्रिय थिएँ । फुलकन्ट्या मेरो नाम मोहन विष्ट हो । नेपालमा मेरो घर काभ्रे हो र म हाल अमेरीकाको न्यूयोर्क सहरमा परिवारसहित बसोबास गर्छु । नेपालमा हुँदा म खेलकुदमा सक्रिय थिएँ । फुलकन्ट्या Rating: 0
scroll to top