भदौ १ देखि लागुहुने ऐनमा भनिएको छ– ‘कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन । यी ऐनको बारेमा कानुनीरुपमा छलफल गर्ने हो भने, इसाईहरूलाई चित्त नबुझ्दो थुप्रै कारणहरू बाहिरन सक्छन् । किनकि यी ऐन इसाईहरूलाई नै लक्षित गरि तयार पारिएको अक्षेररुपी हतियार हो।
भदौ एकपछि सुसमाचार प्रचारमा प्रतिबन्ध लाग्ने भयो भनेर कतिपय इसाईहरू अत्तालिएका छन् । नयाँ कानुनले प्रत्यक्षरूपमा इसाईहरूलाई असर पार्नेनै देखिन्छ, तर इसाईहरूले जबर्जस्ती, करकाप र पैसाको आडमा कसैलाई धर्मपरिवर्तन गर्न उत्साहित गराउदैनन् भनेर प्रमाणित गर्नेअवसर पनि इसाईहरूमाथि आएको छ । किनकि संसारले सोचेजस्तो बलजफ्ती र करकापको तवरतरिकाबाट हामी इसाई विश्वासको अभ्यास गर्दैनौं ।

इसाई आस्थाको खुल्ला अभ्यास र संवादलाई अपराध ठान्ने प्रशासन/राज्य भनेको एकात्मकवादको मुख्य एजेण्डा हो, अहिन्दूहरूलाई घोच्ने र शिथिल बनाएर लडाउने यिनीहरूको षडयन्त्र सयौं वर्ष अघिदेखि चलिआएको छ । २१ औँ शताब्दीका यी चेतनशील ढुंगाहरूको निम्ति अहिन्दू र इसाईहरू आँखामा बिझेको काँडासरि दुख्नु, हाम्रो लागि नयाँ दुखाइ हुनुहुँदैन ।
मुर्खलाई उसकै मुर्खतामा प्रतिवाद गर्नु इसाई मूल्यमान्यताभित्र पर्दैन । वर्तमान सरकारले इसाईहरूको निम्ति जाल विछ्याएको हामीले देखिसकेका छौं, अदेखा गर्नुहुँदैन । यसको माने हामीले पनि हाम्रो आस्थिक गतिबिधिलाई अभ्यासमा उतार्दा बुद्धिमानीपूर्वक, चलाख र संवेदनशील हुनुपर्छ । हामीले प्रयोग गर्ने बोलीवचन,भाषा, शब्द चयन र कदमहरू हामी पुग्न चाहाने व्यक्तिहरूको निम्ति झन्झटिलो, करमा पार्ने वा अपमान महसुस् गराउनेखालको हुनुहुँदैन ।
सुसमाचारलाई संचार गर्नुअघि हामीले स्थानीय रहनसहन,परम्परा, सस्कृति, भेषभूषा, जातजाति र उनीहरूले पुज्दै वा मान्दै आएका धर्मको बारेमा राम्रो जानकारी लिनुपर्छ । उनीहरूको बीचमा स्वीकार हुनसक्ने अभ्यासलाई हामीले विकास गर्नुपर्छ । यसो गर्दा प्रेमले स्थान लिन्छ ।
इसाईहरूले यो कुरा बुझ्नै पर्छ कि मानिसको आँट र प्रयासले मात्र इसाई विश्वासको पाल संसारभर फैलिएको होइन । मानिसहरूले त ख्रीष्टको गवाही दिए, सत्यको घोषणा गरे, विश्वासको खातिर ख्रीष्टिय प्रेमको सट्टामा शहिद हुन पछी परेनन् तर संसारलाई उथलपुथल पार्ने र इसाई विश्वासको पालभित्र पापीहरूलाई थुपार्ने त परमेश्वर आफै हुनुहुन्छ । मानिसकै बलबुताले, ज्ञानबुद्धिले इसाईहरूको वृद्धि हुने भएको भए संसारले ख्रीष्टको अस्तिप्त्वलाई मेटाइसक्ने थिए । किनकि मानिसका प्रयासहरू विफल पार्न संसार बलवान छ तर परमेश्वरको ईच्छा र योजनाको अघि कसैको केहि लाग्दैन ।
यसकारण नेपालको नीतिनियमले अफ्ट्यारो पार्ने भयो वा इसाई समुदायलाई लक्षितगरि नयाँ कानुन ल्यायो, दुखदिने व्यवस्था सल्बलाउने भयो इत्यादि: कुराहरूको पछाडि लागेर कोहीपनि भयभीत हुनुपर्दैन । हामीसम्म आईपुगेको सुसमाचारको धरातललाई फर्केर हेरौं, कैदमा, मौनतामा, मृत्युशैयामा, भोकमा, खेदोमा र सबैभन्दा कठोर सतावाटहरूमा पनि येशू जिउनुभयो ।
इतिहासमा धेरैले ख्रीष्टको अस्तित्वलाई पृथ्वीबाट मेट्ने प्रयास गरे । पश्चिमी नास्तिक, कम्युनिष्ट माओवाद, गैरइसाई आस्थिक समुदाय र सिङ्गो संसारै उर्लेर इसाई विश्वासको अन्त्य गर्न खोजियो, लाखौँ ख्रीष्ट अनुयायीहरूलाई दर्दनाक पिडा दिएर मारियो, तापनि ख्रीष्ट विरोधी संसारका अनेकौं प्रयासहरू विफल भयो र मानिसले कल्पनै गर्न नसक्ने मृत्युमय संघारहरूमाथि विजयहुँदै येशूको राज्य झन् फैलिरहेको छ ।
संसारले पनि यो याद गर्नुपर्छ; जस्तोसुकै कठोर शासन र नीतिनियमले बाँध्न खोजेपनि इसाईहरू नैतिक तवरमा आफूले पाएको माहान् आज्ञामा निष्ठावान् हुनको निम्ति सुसमाचार (ख्रीष्टलाई) प्रचार नगरी चुप रहन सक्दैन । इसाई विश्वासको प्रारम्भदेखि नै इसाईहरू प्रत्येक राज्यहरूको दुर्व्यवहार र अन्यायमा परेका छन् । येशू ख्रीष्ट स्वयम् त्यतिखेरका राज्यबाट सताइनुभयो । मारिनुभयो तर मृत्यु ख्रीष्टमाथि विजय हुन सकेन । ख्रीष्ट प्रचारलाई कसैले रोक्न सकेन । ख्रीष्ट फैलिनु मानिसको प्रयास होइन यो त सृष्टिकर्ता परमेश्वरको इच्छा हो । सृष्टिको मालिकलाई कसले औंला उठाउन सक्छ ?
उदाहरण खोज्न टाढाटाढा जानु पर्दैन । छिमेकी राष्ट्र चीनको इतिहास हेर्दा हुन्छ, जहाँका लाल सेनाहरूले क्रिश्चियनहरूलाई पशुसरह मार्थे । त्यहाँका माओवादीहरूको निम्ति इसाईहरूलाई मार्नु र थुन्नु साधारण कुरा भइसकेको थियो । जतिखेर चीनमा थोरै संख्यामा इसाईहरू थिए । साठ्ठी वर्षपछि आज झन्डै १६ करोड भन्दा बढी इसाईहरू त्यहाँ छन् । पृथ्वीमा सबैभन्दा बढी इसाई जनसंख्या चिनमा नै तयार हुँदैछ । अहिले त्यहाँ हरेक हप्ता चर्च जानेको संख्या यूरोपभरबाट चर्च जाने इसाईको भन्दा दोब्बर रहेको छ । तापनि त्यहाँ अझै सतावाट कायमै छ । के संसारका शाषक र नीतिनियमले ख्रीष्टलाई रोक्न सक्यो र ? के चीनको कानुनले आजसम्म पनि इसाईहरूलाई मृत्युदण्डबाट वन्क्षित गरेको छ र ?
इतिहासमा नेपालबाट पनि इसाई अस्तिप्त्वलाई मेट्ने प्रयास नगरिएका होइनन्, इसाईहरूको अस्तिप्त्व मेट्नका लागि पृथ्वीनारायण शाह जस्ता राजासमेत लागि परेका थिए, जसले सन् १७६९ मा बिदेशी फादरहरूका साथमा ५७ जना नेपाली (नेवारहरू) इसाईहरूलाई पृथ्वीनारायण शाहलेदेशनिकाला गरेका थिए । १८० वर्ष सुसमाचारको (ख्रीष्टप्रचारको निम्ति) निम्ति नेपालको ढोका बन्द रह्यो । त्यसपछि सन् १९५० मा ढोका खोलियो । ६५ वर्षको अन्तरालमा नेपाली इसाईहरूको संख्या उल्लेखनीयरूपमा बढेर लाखौँ पुगेको छ । (सरकारी तथ्यांकअनुसार झन्डै ४ लाख देखाईएको छ ) ।
साँच्चो ख्रीष्ट अनुयायीहरूलाई यो थाहा छ कि हाम्रा वर्तमानका भावनात्मक तथा शारीरिक कष्टहरु त्यसबेला अन्त हुनेछन् जब परमेश्वरसँगको जीवन धेरै असल हुनेछ । अहिले हामीलाई राज्यले जस्तोसुकै व्यवहार गरेपनि, हाम्रो जित निश्चितै छ । किनकि हामी अनन्त शोकरहित ठाउँको बारेमा सोच्छौं, डररहित ठाउँको बारेमा विचार गर्छौं, मृत्यु र रोगबिनाको र रोदनबिनाको ठाउँको बारेमा सोच्छौं । यसकारण संसारको भौतिक संकष्टले येशूप्रतिको हाम्रो विश्वासलाई विक्षिप्त बनाउन सक्दैन । अहँ कुनै कुराले हाम्रो विश्वासलाई फुकाउन सक्दैन ।
भदौ१ भौतिक कष्ट हुनसक्छ तर येशूको नाउँमा यसलाई आत्मिकअवसर बनाउनुपर्छ । किनकि आजसम्म इसाई आस्थालाई नष्ट गर्न सक्ने कुनै कानुन र हतियार बन्न सकेको छैन । यसकारण जस्तोसुकै कानुन बनोस्, हतियार बनोस् त्यो हाम्रो विनास होइन, दुष्टको विनास हो । किनकि हामी त झन् फैलिनेछौँ । झनै बढ्नेछौं ।
#shrawanBomjan
श्रवन बोम्जन
265 Views