Monday, October 22, 2018

पादरी गंगाप्रसाद प्रधानको जीवनी, कृति र योगदान

July 30, 2014 1:03 pm by: Category: Articles A+ / A-

 Ganga– समयकुमार रम्तेल

सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। जीवनको यस यात्रामा थुप्रै संस्करण र अध्यायहरू पनि थपिदो रहेछ। त्यसैले उसको जीवन भोगाइसँगै साथ दिर्दै हिडने छाँयाहरू बलियो साक्षी भएर वकालत गरीरहन्छन्। फैसल्लाको लागि विविध पक्षहरूको प्रमाण र गवाहीका हस्ताक्षर अभिलेख बन्दै जान्छन्। अनि उसको पक्षमा इतिहासकारहरू न्यायधिश बनि उसको साधनाले स्रष्टा वा साधक घोषणा गर्दछन्। उनै बहुमुखी क्षेत्रका अग्रेणी साधक पादरी गंगाप्रसाद प्रधान नेपाली इतिहासका ओजेल परेका सुन्दर फूल हुन्। उज्यालोमा ल्याइदैँ गरेका साधक सधैभरी अमर छन्। उनको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन्। त्यस समयमा उनी एक बहुमुखी प्रतिभाका धनी थिए। बहुभाषिक,बहुचर्चित र बहुमूल्यका मात्र भएनन् तर सधैभरीका लागि प्रेरणाका पात्र बनिरहे। पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगित प्रेमी समेत थिए। त्यसैको उपज उनी बहुआयामिक क्षेत्रका साधक र आदर्श हुन्। उनले नेपाली समाजमा पुर्याएको विविध पक्षको योगदानको बारेमा आज हामी चर्चा गर्नेछौ। त्यो भन्दा अघि उनको संक्षिप्त जीवनी हेरौं।

गंगाप्रसादको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाइ १८५१ अर्थात वि.स.१९०८ अषाढ २२ गते भएको थियो। बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए। – सबैका प्यारा थिए। उनका जेठा दाजु प्रभुनारायण र दुइ दिदिहरू सँगै थिए। त्यसवेलाको देशका राणाकालिन राज्यले जनताहरूलाई देश निकाला गर्ने अनेकौ वहानामा डर र धम्की दिन्थ्य। वाध्यता वश विदेशीनु पर्ने परिवन्धमा उनका दाजु नेपालको पूर्वहुदै दार्जिलिङ पुगे। जेठो छोरो विदेशीएको केहि बर्षछि नै राजमति प्रधानको देहान्त भयो। परिवारमा ठूलो चोट परेकाले जीवन साह्रै अध्यारो भयो। प्रभुनारायणले आफ्नो परिवारलाई पनि दार्जिलिङ मै आउनु भनी समाचार पठाएकाले। गंगाप्रसाद नौ वर्षआठ महिनाको उमेरमा आफ्नो परिवारसँगै पहाडको रानी दार्जिलिङ २९ मे, १८६१का दिन आइपुगे। नेपाल देशको राजनैतिक वातावरण सारा जनताको लागि स्वतन्त्र र सरल थिएन। एकतन्त्रे राज्य शासन चलाईरहेका राणा शासनको निरङकुश र अत्याचार पचाउन नसकी रूपनारायण हनुमानढोकामा द्वारेको जागिरबाट अवकाश दिएर सपरिवार मुग्लान हानिएका थिए। आमाको छिटै निधनले गंगाप्रसाद टुहुरो भए। फलस्वरुप धेरै वर्षधोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन्। दुइ दिदिहरू पछि जन्मेको मूल्याहा साथै उनको जन्मपछि आमाको मृत्यु भएका हुनाले अलच्छिन छोरोको उपनाम गंगाले कमाएका थिए। साथीभाइको हेपाइ र तिक्तवाणरुपी भनाईलाई आमाको प्यारो मायासँग सम्झौता गरी मनलाई बहलाउँने गंगाप्रसादको जीवन सानीआमाको आगमनस“गै थप कष्टकर र दुःखदायी बन्न पुग्यो। त्यही गींग कमानमा १९ बर्षो उमेर सम्म चियाका बोटहरूसित कसिलो मायाप्रीति गाँसे झै पत्ती टीपीरहे, मुना केलाई रहे। चियाका बोटसँग आफ्नो बानी बसाले। चियाका रङ्गसँग आफ्नो जीवनलाई रङ्गाए र स्वादृष्ट पारीरहे। गंगाको परिवारलाई आर्थिक अभावले नराम्रोस“ग खेदेको कारण उनको लागि अध्ययन भन्ने कुरा ‘मनको लड्डु घिउसँग खाए’ सरी थियो। उनले कहिलेपनि पढाइबारे सोच्न समेत भ्याएनन्। काम गर्ने ठाउँमा भएको असमानताको विरोध गर्दै स्कूलतिर हानिएँ। उन्नाइस वषीय लाठे जवान सरासर पादरी मेकफर्लेनको शरणमा पुगी आफ्नो अध्ययन गर्ने तीव्र चाहानालाई उनको सामु विन्ती विसाए। गंगाप्रसादको जीवनले नयाँ मोड लियो। “जहाँ इच्छा त्यहाँ उपाय ” भने झैं साउँ अक्षर टपक्क टिप्न र खुट्याउन उमेरले छेक्न सकेन। मेकफर्लेनको स्कूलमा भर्ना भए। जुन दिन ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिन थियो। सानीआमाले थाहा नपाउने गरी सुटुक्क किताव किन्न भाउजुले मद्दत गरकी थिइन्। निरन्तर घरको सम्पूर्ण काम सकेर अध्ययनमा समय दिएको कुरा सानीआमाले थाह पाएर गाउँले समेत उठाइन र पढ्न नदिने षड्यन्त्र रचीन। दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे। पुस्तकलाई एकातिर पन्छाएर उनी फेरी चिया बगानमा चियाको पत्ती टिप्न विवश भए। तीन महिनापछि घरैमा मेकफर्लेन खोज्दै खोज्दै आईपुगे। पादरीले भने यदी स्कूल पठाएमा पढाउने र खाना खुवाउने जिम्मा लिने वाचा बाँधे। त्यपछि पढाइप्रतिको उत्प्रेरणा पुनः जाग्यो। बलपूर्वक दबाइएको उनको चाहनामा फेरि आशा पलायो। उनी पुनः उत्साहीत हुदै भोलिपल्ट देखि स्कूल जाने कुरा बुवालाई अनुरोध गरे। मंगलबारदेखि स्कूल जानको लागि स्वीकृति पाए। उनी पुनः स्कूलमा पढ्न पुगे। यो २ अक्टोबर १८७० को दिन थियो। नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए। कक्षाका शिक्षक भोलिपल्ट, पर्सिपल्ट गरी एकमहिना सम्म अनुपस्थित भएकाले नयाँ महिना देखि उनी नै शिक्षक भए। उनको शैक्षिक योग्यता कक्षा एक भएता पनि उमेर र अनुभवीका कारण शिक्षकको गरिमामय पदमा आसिन भए। चारबर्षसम्म शिक्षकको जागिर खाएका थिए। यसैबीचमा एकदिन गंगाप्रसादले इर्साई शिक्षकबाट परमेश्वरको जिउँदो वचन सुन्ने सुअवसर प्राप्त गरे। हुन त उनी सानै देखि धार्मिक प्रवृतिका व्यक्ति थिए। सत्यको गुदी चाख्ने खालका थिए। जिउँदो परमेश्वरको नौलो खबर र येशूखीष्टको दुःख र क्रूशिकरणको अर्थ थाह पाउदा तीन छक परे। येशू नै पुनरुत्थान र जीवन हुनुहुन्छ भन्ने कुराले उनको हृदय उथलपुथल भयो। “मानिसले सारा संसार हात पारेर आप\mनो आत्मा गुमायो भने त्यसलाई के फाइदा -” बाइबलमा उल्लेखित यो पदले उनलाई येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्न लगायो। तर त्यस समयमा ख्रीष्टयन हुनु ‘फलामको चिउरा चपाउनु ‘ सरह थियो। वप्तिस्मा लिन र दिन मुस्किल थियो। त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए। त्यसबेला सम्म कुनै पनि नेपालीले इर्साई धर्म ग्रहण गरेका थिएनन्। कारण ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो। तर उनले येशूख्रीष्टको दुःखलाई नै रोजे। ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे। त्यसको करिब एक वर्षछि उनको विवाह एलिजाबेथ र्राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए।) आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धिहुदै गयो।

भारतको तत्कालिन समयमा अंग्रेजहरुले मात्र पादरी पदमा अभिषेक हुन सक्थ्य तर उनी १ अगष्ट १९०१ नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए। उनले मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्षसेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे। ७० बर्षो उमेरमा अनवरत रुपमा छापाखानाका उद्यमी,मालिक-कामदारका साथै ‘ गोर्खे खबर् कागत्’को लगनशील, समर्पित प्रकाशक,सम्पादक र संरक्षकको भूमिकामा कमिला र मौरी जस्तै कर्मयोगी भई शेष जीवनकाललाई उपयोगी बनाए। उनको परिवार संयुक्तरुपमा वस्थ्य। त्यसको पारिवारीक आर्थिक भार बढी उनकै काँधमा थियो। उनको आफ्नो निजी घर र जमिन केहि थिएन। उनको सन्ध्याकालीन जीवनमा धेरै उतारचढाव रहेको थियो। साहेद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रति सुस्केराहरू थिए होलान। उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान – पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान्। आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो। उनले भन्ने गर्थे ” म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन। तिमीहरू सबैले उनको याद गर्नु …” भन्नुहुन्थ्यो रे। पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन। आफ्नै घर समेत थिएन। उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो। अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जीलिङमा ८१ बर्षो उमेरमा भयो। त्यो समयमा गाडिएका उनी गाडिएको गाडिकैं भए। आदिकवि भानुभक्त आचार्यको झै पादरी गंगाप्रसादको मोतीराम भट्टको ठीक समयमा उदय भएन। यसैकारण उनको मृत्युभएको ४३ बर्षसम्म केही खोजखबर भएन। किन भएन – यो एक तितोसत्य इतिहास केलाउनै पर्नेहुन्छ। जे भएतापनि हामीले तिर्न नसकिने ऋण अनि बाडुली लागिरहने सम्झना छाडी उनी स्वर्गे भए। उनको मृत्यु भएको चार दशक पछि ४ जुलाई १९७५ मा पादरी गंगाप्रसाद प्रधानको १२४ औं जन्मजयन्ती पहिलो पटक मनाइयो। त्यसपछि यदाकदा मनाइदै आएको देखिन्छ।
कृति र योगदान

१) नेपाली बाइबल अनुवादको १०० बर्ष- १८९४ देखि १९१४ – २०१४ )

सन् १८७५ देखि एक सक्रिय अनुवादकका रुपमा र खासगरी बाइबल सम्वन्धि पत्रपत्रिका तथा पुस्तकहरूको अनुवादकार्यमा व्यस्त भए। यस समय देखि १८९० का वीचसम्म उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे। १ अप्रिल १८९४मा सम्पूर्ण बाइबललाई नेपालीमा भाषाअनुवाद गर्नका निम्ति उनको नाउँ ‘द ब्रिटिस एण्ड फरेन बाइबल सोसाइटी’ ले आधिकारीक रुपमा सिफारिस गरेबाट यस तथ्यको पुष्टि हुन्छ। गंगा प्रसादको अथक परिश्रम र र्समर्पण नेपाली बाइबल सन् १९१२ मा तयार भयो। अनुवादको काममा मिसनेरी पादरी र्टनबुल र किल्गोर जस्ता ग्रीक र ह्रि्रु भाषाविदहरूबाट पनि सहयोग पाए। यसरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो। यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए। जीवनको पुस्तकमा लाखौलाख मानिसहरूले आ-आफ्नो नाम लेखाउन सफल भए। नेपाली भाषामा गंगाप्रसादको शीष् योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन। नेपाली बाइबल अनुवाद भएको पनि आज १०० बर्षपूरा भएको छ। यसैको खुशीयालीमा महान् प्रभुलाई धन्यवाद भन्दछौं। अनि पादरी गंगाप्रसाद प्रधानलाई सम्भिmरहेछौ। नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी विचमा बोलीरहे झै लाग्छ। २० बर्षो साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक र महारथि बनाएको छ। सो बाइबल अहिलेको जस्तो चिटिक्क थिएन। पापड जस्तो पाना भएकाले कतिले यसलाई पापड बाइबल समेत भन्थे। यही बाइबललाई आधार मानी विभिन्न समयमा संसोधन हुदै आज हाम्रो हातमा सरल,मिठो र व्यवस्थित बाइबल छ। यो ग्रन्थ बाहेक पनि दर्जनौ पुस्तकहरू एकल वा संयुक्त रुपमा अनुवाद गरेकाछन्। अनुवाद , लेखन र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ।

२) ‘गोर्खे खबर कागत्’ मासिक पत्रिका – सन् १९०१ -१९३२)

पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर् कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ। प्रधानले स्कटीस मिशन ओर्फेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे। उनले यो पविर्तन आफ्नो जातीय पहिचानको दायरालाई फराकिलो र नेपाली अस्तित्वलाई चम्काउने हेतुले गरेको भन्न सकिन्छ। उनको यो कदम प्रशंसनीय थियो। प्रेस खरीद गर्नु नै प्रधानको दुरदर्शिताको पहल थियो। एउटा महत्वपूर्ण बुद्धिमानी साथै साहसिक कदम उनले उठाएँ। यसले व्यवसायिक रुप पनि लियो। आयस्रोतको साधन र केही व्यक्तिहरूको रोजगारीको थलो पनि भयो। जे होस् नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बनेँ। यो १ जनवरी, १९०१ म्ाा ‘गोर्खे खबर् कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्त सम्म प्रकाशनमा आएको बुझिन्छ। यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो। आठ पृष्ठमा प्रकाशित ‘ गोर्खे खबर् कागत्’ को आधा भाग अथवा चार पृष्ठमा निम्न शीर्षक अर्न्तर्गत खबरहरू छापिन्थे – स्थाने, दिहाते देशान्तरे। यी समाचारहरू स्थानीय दार्जीलिङ जिल्ला, पूर्वी र पश्चिमी हिमाली क्षेत्र, भारत र भारतबाहिरबाट संकलन गरिएका हुन्थे। समाचार पत्रको मुखपृष्ठ र भित्री मुखपृष्ठमा सो महिनाको पात्रो, मण्डली सम्वन्धि सूचना र लेख छापिन्थे। बाँकी अन्तिम दुइ पृष्ठहरूमा विभिन्न आकर्ष विज्ञापनका सामग्रीहरू हुन्थे। यस बाहेक पत्रिकामा कविता, जीवनी,संस्मरण, यात्रावर्ण र शिक्षामूलक लेखप्रविधि रचना पनि प्रकाशित हुनेगरेको थियो। गंगाप्रसाद आफैले पनि विभिन्न कथा, गीत, लेखहरू लेखी छाप्थे। हाल सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुर नेपालमा कमलमणि दिक्षितले दर्ता गरी राख्नुभएको छ। यो पत्रिका नेपाली भाषामा प्रकाशित भएता पनि यसको उद्देश्य चाहीँ इर्साई धर्म र आस्थालाई प्रचार गर्नु पनि थियो। यो पत्रिका इर्साई सिद्धान्त, आस्था र केहि मौलिक भाषाकै कारण ओजेल पारिनुहुदैन भन्ने मेरो व्यक्तिगत चिन्तन छ। अनि खरो आक्रोश छ। अब कुरा गरौ गोरखापत्रको। नेपालको जेठो प्रकाशन नभएर एसियाकै जेठो प्रकाशन संस्था बनेको छ। अखवारी इतिहासको गौरव बनेको गोरखापत्र नेपालको पुरातात्विक सम्पदाको रुपमा राष्ट्रकै सम्पति बनिसकेको दावि गरीरहेको छ। तर पादरी गंगाप्रसाद प्रधानले सम्पादन तथा प्रकाशन गरेका ‘ गोर्खे खबर् कागत्’ पत्रिका नेपालको ‘ गोरखापत्र ‘ भन्दा ४/५ महिनाले जेठो छ। एकै बर्षा शुरुभएका पत्रिका भए पनि वर्तमान समयमा अस्तित्व विहिन भएर वस्नुपरेको छ। यो विषयमा खण्डन गर्ने, विश्लेषण र शंश्लेषण गर्नु अपरिहार्य छ। हाल गोरखापत्र प्रकाशन, संस्थान र पब्लिसिङ हाउसका रुपमा अगाडि बढेको छ। समय सापेक्ष यसको विकास र प्रगति भैरहेको देख्दा उता गंगाप्रसाद प्रधान र उनको पत्रकारितालाई इतिहासको गर्भमै तुइयाउन खोजेको भान हुन्छ। पादरी गंगाप्रसादको पत्रकारिता -प्रकाशनको यात्रा वर्तमानको जस्तो सेवासुविधा युक्त उपकरणहरू थिएन। प्रशस्त विश्वासी र मण्डलीहरू थिएनन्। तर पनि निरन्तर प्रकाशन गरीरहे। यसरी पत्रकारीताको विजारोपणमा ठूलो योगदान दिएकाछन्।

३) पुस्तक लेखन र अनुवादमा योगदान

यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पर्ढाई हुन्थ्यो। उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जीलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी जम्मा ३५ वटा पुस्तकहरू अनुवाद र नयाँ पुस्तक लेखे अनि आफ्नै प्रेसबाट छापे। -उनका केहीकृतिहरू ‘पुरुष्हरू र अस्त्रीहरूका बप्तिस्माको रीत्’, ‘बाईबल्को हाड्’, ‘प्रभुभोज्’, ‘स्कूल सोध्नुत्तर’, ‘उखानको पोस्तक’, ‘सैद् भन्न्ये मान्छेको रेशमी बुनाईको काम्को विषयमा’, ‘बांस्को कथाहा’, ‘एक बटौरे साथी’, ‘आलिबेन ओमेर नाउ“ भएको मान्छेको ऋणको विषयमा’, ‘नैटिंगेल अर्थात् मीठो गीत गाउने चराको विषयमा’ र ‘हा“सको नराम्रो चल्लाको कथा’ उनका अरु प्रमुख रचनाहरू हुन्। ) यसैगरी उनले आत्मकथा, लेख र अरु कथाहरू पनि लेखेका छन्। उखान पुस्तक अन्तरगत उखान संग्रह, उपदेशात्मक, साँस्कृतिक, पशुपक्षीपरक, जातिपरक, प्रकृति र कृषिपरक विषयमा लेखेका छन्। त्यसैगरी विश्वप्रसिद्ध बाल कथाहरु अनुवाद गरेका छन्। दार्जीलिङ क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन्। मौलिक कथाहरु, आत्मकथा समेत लेख्न सफल छन्।

४) संगित क्षेत्रमा योगदान – लोकगीत रचनाकारक

इर्साई भएको नाताले उनले थुप्रै इर्साई भजनहरू लेखेका छन्। जुन भजनहरू आज पनि मण्डलीहरूमा बडो आदरभावसाथ गाइन्छन्। त्यसैले हामी भन्न सक्छौ कि उनी गीतकार पनि हुन्। उनले रचेका गीतहरु मध्ये “येशू है ख्रीष्टको क्रूसैको मरण, यो जग कहिले छैन स्थिर, जय जय मसीह की जय, उभै ता हेरु बैकुण्ठ धाम छ र प्रभु, अर्जि सुनिलेउ , गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेऊ ” जस्ता गीतहरु उनका मनपर्ने गीत हुन्। दर्जनौ नेपाली भजन तथा गीतहरु रचेर मण्डलीमा सिकाए। विश्वासीलाई आफ्नै भाषा, लयमा आराधना गर्दा संगतिलाई प्रभावशाली बनाउथे। उनका गीतहरुमा नेपाली जाती र भाषा बोध गराउने शब्द पाइन्थ्यो। उनका गीत संगित धार्मिक मात्र नभएर जातीय प्रेमले ओतप्रोत छन्। उनले सरल र लोकलयका धार्मिक संगीत क्षेत्रमा योगदान दिए। वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उनको देन हो।

५) भाषा शिक्षक तथा शिक्षासेवीको रुपमा योगदान

पादरी गंगाप्रसाद प्रधानले दर्जनौ पुस्तक लेखे र अनुवाद गरे, बाइबल जस्तो पवित्र धर्मशास्त्रको महाग्रन्थ अनुवाद गरे, ३२ बर्षसम्म निरन्तर गोरखे खबर कागत् पत्रिका चलाए, नेपाली शिक्षक भएर अध्ययापन गराए, १४०८ वटा उखान संग्रह गरे , तर उनले यति मात्र गरेनन् उनले धेरै अंग्रेज मिसनेरीहरुलाई नेपाली -तत्कालीन गोर्खाली) भाषाको शिक्षा पनि दिए। जस्तै यिनैले पादरी र्टनबुललाई सिकाए। उनले सिकाएको भरमा पादरी र्टनबुलले एउटा नेपाली व्याकरण लेखेर प्रकाशन गरे। र्टनबुल सँग मिले अंगे्रजी नेपाली शब्दकोश पनि संग्रह गरे। यो शब्दकोष पादरी डन्कनले १९२२ मा बंगाल सरकारको मद्दतले छापी प्रकाशन गरे। त्यसैगरी दार्जीलिङको कुनाकुनामा प्राइमरी स्कूल स्थापित भई विद्याको प्रचारप्रसार भएको हो। शिक्षक मात्रै भएनन् पाठ्यक्रम विद र शिक्षा सेवी पनि भएको देखिन्छ। उनले भाषा शिक्षण र शिक्षा सेवीको रुपमा योगदान दिएकाछन्।

६) इसाई सेवकको क्षेत्रमा योगदान

गंगा प्रसादले ख्रीष्टको प्रेमलाई साँचोसँग आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेका थिए। प्रत्येक कार्यहरुमा सुसमाचार प्रचारको लागि अवसर बनाउथ्य। येशूप्रभुको हृदयलाई आत्मसाथ गर्दै ख्रीष्टको प्रेम बाढ्न कहिले पछि परेनन्। सुसमाचार प्रचारमा पनि त्यतिकै लागिपर्दथ्य। बप्तिस्मा दिने यूहन्ना जस्तै निडर र सत्यतासँग प्रचार गर्दथ्य। प्रत्येक आइतबार त्यसताका गुन्द्रीबजार भनिने आजको चौक बजारमा तिनको प्रचार सुन्न मानिसहरुको धुइरो लाग्थे र विश्वास गर्दथे। त्यसैले उनलाई कुशल प्रचारक भनिन्थ्यो। सरल र प्रभावकारी रुपमा प्रार्थना, संगति सेवा र बाइबलीय शिक्षा पनि सिकाउथे। त्यतिबेलाका दार्जीलिङ क्षेत्रका बाइबलिय शिक्षक र मिसनेरी जस्तै भएर ठाउँठाउँमा गएर सिकाथे। आत्मिक तथा बाइबलीय ज्ञानमा पोख्त भएकाले गर्दा उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जीलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ अगस्तको शुभदिनमा पूर्ण पादरीको रुपमा ५० बर्षा अभिषेक गरियो। नेपालीहरुबाट पहिलो पादरी-पाष्टर) भए। पादरीको परिपक्व गुण थियो। पादरी सेवामा तिनी पुल्पीटमा उभिएर प्रवचन दिने र मण्डलीको धर्म विधिका कार्य सम्पन्न गर्ने व्यक्ति मात्र नभएर तिनी बडो सम्वेदनशिल प्रकृतिका थिए। विश्वासीको घरदैलोमा पुगी वास्ता र सरोकार राख्न पनि भ्याउथे। तिनले आफ्नो सन्तुलित र सफल परिवारलाई सबैको अघि नमूना बनाएका थिए। उनले मण्डलीको सेवाकार्यलाई असलभण्डारे भएर गरे। उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस बर्षसेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे। त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारमा रहेर सेवा पुर्याइरहे। त्यहाको सेवकहरुलाई नमुना प्रस्तुत भइरहे।

७) बहुआयमिक साधकको व्यक्तित्व

तेतिबेला भारतमा अंग्रेजहरुले मात्र पादरी पदमा अभिषेक पाउथ्ये तर नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए। त्यसैगरी सन् १९१६ मा लण्डन बाइबल सोसाइटीद्धारा उनलाई लाइफ गर्वनरको सदस्यता दिइयो। नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने,पहिलो नेपाली पादरी (पाष्टर) , पत्रिका सम्पादक तथा प्रकाशक भइ नेपाली समाचार पत्र चलाउने उनी नै भए। उनले भाषा साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीको पाष्टरीय सेवामा समेत उत्तिकै योगदान दिन सफल छन्। त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक तथा व्यक्तित्व भनी सम्वोधन गरिन्छ। उनको जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा पुर्याउनुको एकमात्र लक्ष्य भनौ या मिसनको केन्द्रविन्दु चाहिँ येशू नै हुनुहुन्छ। मानिसलाई परमेश्वर चिनाउनु उद्देश्य रहेको देखिन्छ। शिक्षक, प्रचारक,लेखक, अनुवादक, पाष्टर र सम्पादक जे भएपनि आफ्नो नेपाली भाषी र जातिको लागि लक्षित गरेको देखिन्छ। साहित्य, संगित र सेवकाइमा परमेश्वरको राज्य विस्तारको महान् योगदान पुर्याएकाछन् उनले। नेपाली ख्रीष्टियनहरुले पादरी गंगाप्रसाद प्रधानको योगदानलाई वास्तविक रुपमा कदर गरेका छैनौं। अरुले बनाइदिएको इतिहासमा बाच्ने मात्र नबनौ। हामी पनि नयाँ इतिहास लेख्न लागि परौ। पादरी ज्यूको सुनौलो इतिहासलाई चम्काउन हामी सबै नेपालीहरु लागि परौ भन्ने मेरो विनम्र अनुरोध छ।
८) अब हाम्रो पालो, के योगदान दिने –

असल इर्साईहरु समाज र देशको अग्रदूतहरू हुन् भन्ने प्रमाण हामीले गंगा प्रसाद प्रधानले दिनुभएको योगदानलाई सजिलै मनन गर्न सक्छौं। उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ। उहाँको सम्मानस्वरुप उहाँको जन्मजयन्ति मनाउन पाउनु हाम्रो निम्ति गर्वको कुरो हो। उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं। उहाँको नाउँमा लेखिएका पुस्तक, विशेषाङ्क, सोधपत्र,स्मृत्रि्रन्थ र मनोग्राफले वर्तमानमा उहाँलाई उज्यालोमा ल्याउँने र भविश्यको लागि इतिहास बनाइरहने छ। उहाँको नाउँमा स्थापना भएका पादरी गंगाप्रसाद प्रतिष्ठान, जन्मजयन्ति समारोह, जन्मजयन्ति पुरस्कार गुठी, लोचनगर पथलाई पादरी ‘गंगाप्रसाद पथ’ नामाकरण, कबरस्थानको पुननिर्माण, स्मारक र गींग मण्डली भवनलाई ‘गंगाप्रसाद प्रधान स्मारक मण्डली’ को नामाकरण गर्राई आदि कुराले हामी श्रधा गरिरहेकाछौ। त्यसैगरी अब उहाँको नाउँमा स्कूल, मिसन, प्रकाशन,गीति एल्वम, वृत्तचित्र र चलचित्र निमार्ण गरी उनको परिचय नेपाली संसारमा प्रकाशमा ल्याउनु हाम्रो दायित्व हो। पादरी ज्यूको योगदानमा समय समयमा औपचारिक, मण्डली, संघसंस्था अनि सरकारको पक्षमाबाट गोष्ठी,सेमिनार आदि आयोजना गरी चर्चा परिचर्चा थाल्नर्पर्छ। पादरीज्यूको जयञ्ती विशिष्ट साहित्यकार पत्रकार तथा प्राज्ञहरुको जमघट सहित र्सार्वजनिक रुपमा धुमधाम मनाऔं। जुलाई ४ तारिखलाई प्रत्येक नेपाली मण्डलीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पादरीज्यूको योगदानबाट नयाँ पुस्तालाई सिकाउने। उहाँको नाउमा विभिन्न पुरस्कार, सम्मान तथा छात्रवृत्तिको व्यवस्था गर्ने। उनले हामीलाई लगाएको गुण त तिरी सक्दैनौ तर उहाँलाई दिनको उज्यालोमा ल्याउने विभिन्न कार्यक्रमहरू गर्न त अवश्य नै सक्छौ नि होइन र ? नेपाली भाषामा रामायण उल्था गरेको कारण आज हामी भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकवि भनेर चिन्छौं र प्रत्येक बर्षभानु जयन्ती मनाउछौ। तर गंगाप्रसाद जसले सिंगो बाइबल नै उल्था गरे। नेपाली वाङ्मय-साहित्य, पत्रकारिता-प्रकाशन, अनुवाद, शिक्षा र परमेश्वरको विश्वमिसन दर्शनमा पुर्याएको योगदान छ। जसको बारेमा सम्झना समेत गरीदैन र उनका रचनाहरूलाई किन छायामा पारियो र उनलाई इर्साई समुदाय र राष्ट्रले अझै पनि गहनाको रूपमा स्वीकार गर्न नसक्नुको पछाडि के कारण छ भनी खोज्नु जरुरी भएको छ। त्यसैले आजसम्म जति नेपाली इर्साई पत्रपत्रिका र पुस्तकहरू लेखेर प्रकाशन भए प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उनै पादरी गंगाप्रसादको देन र प्रेरणा हो। नेपाली इर्साई जगतमा रहेका अग्रज स्रष्टा, लेखक,पत्रकार, सम्पादक, प्रकाशक, समाजसेवी, मिशनेरीहरूको योगदान र कृतिहरूको जर्गेना गरौं। ताकी भोलीको सुनौलौ इतिहास बनाऔं। आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन्। पादरी गंगाप्रसाद प्रधानको ३२ बर्ष पत्रकारिता-प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे। जीवनको अन्तिम स्वास सम्मै पवित्र कलम घोटिरहे। २० बर्ष बाइबल अनुवादमा लागिपरे। २० बर्ष पादरीको सेवकाइलाई प्रभावशाली बनाए। पादरी गंगाप्रसाद प्रधानको बहुआयमिक व्यक्तित्व, प्रभावशाली जीवन र दर्जनौ कृतित्वहरु नेपाली इसाइ जगतको लागि योगदान दिएकाछन्। सो समयमा लेखनबाट अगुवाई गर्नुभयो। हाल नेपाली इर्साई जगतमा पनि करिब १ दर्जन सशक्त कलमहरुले नेतृत्व गरी नेपाली मण्डलीलाई अगुवाइ र सेवा गर्नुपरेको छ। तर पादरी ज्यू एक्लैले विभिन्न पक्षबाट जीवनको पानी पिलाइरहे। अनि नेपाली बाइबल अनुवाद र प्रकाशन भएको पनि १०० बर्षभैसक्यो। विश्वको सवभन्दा बढी विक्रीहुने पुस्तक बाइबल नै हो। प्रत्येक ढुकढुकीमा २/३ वटा बाइबल वितरण हुन्छ। अब हामीले पनि बाइबल दिवस मनाउने की – बाइबल सोसाइटी लगायत सम्बन्धित निकायहरुले सोच्ने बेला यही हो। पादरी बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे। चम्किलो तारा झै चम्किरहे। महान् योगदान दिइरहे। तर अब हाम्रो पालोः के योगदान दिने ? र कस्तो इतिहास बनाउने?
धन्यवाद

नोट: ख्रीष्टिय अभिलेखा तथा संरक्षण केन्द्रका संस्थापक समयकुमारद्वारा प्रस्तुत लेख-पादरी गंगाप्रसाद प्रधानको जीवनी, कृति र योगदान।क्यानद्धारा आयोजित स्व. पादरी गंगाप्रसाद प्रधानको १६३ औ जन्मजयन्ति समारोह, ने.इ.म. चर्च धोविघाट,४ जुलाई २०१४।
प्रतिक्रिया तथा थप जानकारीको लागि ९८४१४२९८१६

सर्न्दर्भ सामग्री

• अधिकारी हेमाङ्गराज -प्र.सं.) र भट्टर्राई वद्रीविशाल-सं), प्रयोगात्मक नेपाली शब्दकोश-२०६८
• कार्थक शलोन, पादरी गंगाप्रसाद प्रधानका उपलब्ध रचनावली
• कार्थक शलोन, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान
• दाहाल, नरबहादुर र रोंगोंग एडोन-२०१२) अजम्बरी गंगाप्रसाद प्रधान-स्रष्टाहरुको दृष्टिमा),
एकता बुक हाउस प्रा.लि., सिलगुढी भारत, पहिलो संस्करण
• देवकोटा केशबराज, सञ्चारमाध्यको संगठन र व्यवस्थापन सिद्धान्तहरू
• र्राई राजु -सं) भेटघाट रजत जयन्ती विशेषाङ्क २००८ बर्ष२५ पूर्णाङ्क ७४
• र्राई राजु, पाद्री गङ्गाप्रसाद प्रधान र अस्पष्ट कुराहरू
• श्रेष्ठ श्रीओम -नि.सं.) मधुपर्क मासिक बर्ष४३ अङ्क ९ पूर्णाङ्क ५०० २०६७ माघ

लेखक परिचय

नाम : समय कुमार रम्तेल
सस्थापक : ख्रीष्टिय अभिलेखा तथा संरक्षण केन्द्र
मण्डली : सियोन रोफेका ए.जी. मण्डली
ठेगाना : उग्रचण्डी नाला -४, काभ्रे
मोवाईल नं. :  ९८४१४२९८१६
Email: krtime2004@gmail.com
कार्यालय :  सहयोग र सरोकार, धुलिखेल
धुलिखेल – ५, काभ्रे

153 Views

प्रतिक्रियाहरू

पादरी गंगाप्रसाद प्रधानको जीवनी, कृति र योगदान Reviewed by on .  - समयकुमार रम्तेल सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। जीवनको यस यात्रामा थुप्रै संस्  - समयकुमार रम्तेल सोच्नेले जे सोचे पनि हुन्छ। सोच र खोजले सत्य बदलिदैन। सत्यले सोच बदलिन्छ। सत्यता नै एक दिन बलियो इतिहास बन्दछ। जीवनको यस यात्रामा थुप्रै संस् Rating: 0
scroll to top