Thursday, July 19, 2018

बोक्सी—-[लघुकथा]

September 16, 2014 1:20 pm by: Category: Literatures A+ / A-

Aruna Chhantyalकल्लीकुमारीलाई गाउँको चतुरे धामीले बोक्सी भनेर आरोप लगायो | अनि धनवीर मुखिया पनि के कम, आफ्नो १२ वर्षे प्यारो नाती ८ दिनसम्म बिरामी भएर ओच्छ्यान परेको दुःखमा रीसले आगो भएको थियो | गाउँमै साधारण ओखतीमुलो त गरेकै हो तर नाती नतन्ग्रिएपछि यो पक्का बोक्सीले चलाको हुनुपर्छ भन्ने उसले अनुमान लगायो | त्यसैले गाउँभरि खुब नाउँ चलेको चतुरे धामीलाई उसले जोखना हेरायो |

जोखना हेरेपछि चतुरेले भन्यो-“बोक्सीले साह्रै नराम्रो काबो हालेछ,त्यसलाई ठीक नपारी हुन्न..|” धनवीर त्यसै त रिसाहा,यो कुराले ऊ झन् बम्क्यो-“ ल,को हो त्यो बोक्सी?,छिटो भन त,म त्यसको बंगारो झारिदिन्छु |” अनि चतुरेले धनवीर को कानमा साउती मार्यो-“मुखिया बा! बोक्सी छ र त हामी छौं,त्यसको बंगारो झार्ने होइन त्यसको लुतो फालौं,मेरो मन्त्रले छोएपछि त्यसले मान्छे अनि हजुरको नाति भोलिदेखि च्वाट्ट |”

धनवीर झोंक्कियो किनकि उसले पहिले पनि धेरैचोटी लुतो फालिसकेको थियो |-“तेरीमा गधा! मेरो भुन्टे मर्न लाको तँलाई थाहा छैन? मैले कतिचोटी फाल्ने लुतो?बरु त्यही बोक्सीको मुन्टो भाँचिदिएपछि बल्ल त्यसले घरीघरी मेरो भुन्टेलाई आँखा लगाउन पाउँदिन,लौ छिटो भन् त्यसको नाम..नत्र तिनलाई यहीं गाडिदिनछु |”

आफ्नै ज्यान खतरामा परेपछि चतुरेले मनमनै मन्त्र जप्यो-“ज्प्स्त्प्स्ज्न्त्यउर…..|”(मतलब-हे बोक्सी देवी,मैले आज किटेको मान्छे मारिन सक्छ,त्यसैले हजुर अब अर्को मानिसको आत्मामा पसिबक्सियोस्..)

एकछिनपछि चतुरेले आँखा खोल्यो-“मुखिया बा! मेरो देउताले त्यो बोक्सीको नाउँ बक्ने अनुमति दियो,त्यो बोक्सी त्यो कल्लीकुमारी हो,हजुरको नातिलाई स्कुल जानेबेला त्यसले टुना लगाएकी हो |”

त्यसपछि आक्रोशित मुद्रामा मुखिया बा र गाउँलेहरु लाठो समात्दै कल्लीकुमारीको घरतर्फ लागे | धन्न माइला सार्कीले पहिल्यै उनीहरुलाई खबर गरेछ,त्यसैले ती कुट्नेहरु आउनभन्दा अघि नै उनीहरु सपरिवार भागिसकेछन् |

भाग्दाभाग्दै उनीहरु नुवाकोटदेखि काठमाण्डौं आइपुगे अनि ‘महिला तथा बालबालिका’ मन्त्रालयको शरणमा आए | म यस मन्त्रालयमा साधारण कर्मचारी,”लौन,दिदीबहिनी हो,मलाई न्याय दिनुपर्यो” भनी रुँदै कल्लीकुमारी बिलौना गर्दै थिई | “हामी तपाईलाई सक्दो सहयोग गर्नेछौं,ती पछ्यौटेहरुलाई कारवाही गरेरै छाड्नेछौं,तपाई चिन्ता नलिनुस् |”भनेर मन्त्रालयका महिलाहरु आश्वासन दिंदै थिए अनि पत्रकारहरु चाख मानी तात्तातो खबर टिप्दै थिए |

जनचेतना र शिक्षाको पहुँच त छँदै छ तर यसले बोक्सी आरोपमा निर्दोष महिलामाथि निर्मम प्रहारलाई रोक्न सकेको छैन | मैले मनमनै प्रश्न गरें ‘कसरी गर्ने यो समस्याको समाधान?”

अनि प्रभु मसित बोल्नुभयो-“सुसमाचार” | भोलिदेखि म कल्लीकुमारीलाई सुसमाचार सुनाउन कम्मर कसें,यसमा प्रभुको साथ मागें अनि तपाईहरुको पनि |

[समाप्त]

 

Aruna Chhantyal

73 Views

प्रतिक्रियाहरू

बोक्सी—-[लघुकथा] Reviewed by on . कल्लीकुमारीलाई गाउँको चतुरे धामीले बोक्सी भनेर आरोप लगायो | अनि धनवीर मुखिया पनि के कम, आफ्नो १२ वर्षे प्यारो नाती ८ दिनसम्म बिरामी भएर ओच्छ्यान परेको दुःखमा री कल्लीकुमारीलाई गाउँको चतुरे धामीले बोक्सी भनेर आरोप लगायो | अनि धनवीर मुखिया पनि के कम, आफ्नो १२ वर्षे प्यारो नाती ८ दिनसम्म बिरामी भएर ओच्छ्यान परेको दुःखमा री Rating: 0
scroll to top