Tuesday, October 24, 2017

मेरो प्रेम…. (कथा)

September 16, 2014 2:12 pm by: Category: Literatures A+ / A-

love-photoबिहानैदेखि हिउँ परिरहेको थियो,अहिले दिउँसो अलिकति घाम लाग्यो,घाम लाग्दा बाहिर गएर सेताम्मे हिउँ छुन पाउनु कति मज्जा हुन्छ | बिहानै हिउँ पर्दा मलाई बाहिर जान मन लागेथ्यो तर नोजोले ‘नजाम्,साह्रै चिसो हुन्छ’ भन्यो | हुन पनि पोहोर साल हिउँ पर्दा हिउँको स्पर्शको अनुभव लिइसकेकी छु | त्यसैले यो पालीचाहिं हिउँ पर्दा बाहिर निस्किन,बरु भित्रै हिटर ताप्दै झ्यालबाट चियाएँ | बाक्ला बादलहरुले धेरै बाक्ला सिरक ओढेजस्ता अनि ती सिरक उध्रिएर कपासका स-साना भुव फुरफुर झरिरहेका,आहा ! देख्दै रमाइलो,छुँदै रमाइलो | पोहोर साल ती हिउँका भुवाहरुलाई छोएको अनुभव सम्झिदै म रोमान्चित भइरहे |

आज नयाँ वर्ष जनवरी १,२०१२ को पहिलो दिन, बिहानैदेखि हिउँ परेपनि अहिले दिउँसो घाम लागेकोले हामी सबै बाहिर आयौं |केटाकेटी र तरुण-तन्नेरीहरू हिउँका डल्ला एक-अर्कालाई हान्दै रमाइलो गर्न थाले | म पनि तिनीहरुको रमाइलो हेर्दै हाँस्न थालें | नोजु पनि मेरो व्हिल्चियर समातेर तिनीहरुको खेल हेर्दै हाँसिरहेका थिए,मैले पछाडि फर्केर उनलाई भनें-‘जानुस् न,तपाईं पनि स्नोबल खेल्नुस्,म हेर्छु के |’ उनले ‘नाइँ,मलाई हिउँ खेल्न मन छैन’ भन्दै थिए,मैले कर गरें | अनि उनी पनि भतिजाहरुसँग हिउँ खेल्न थाले,मैलेचाहिं हाँस्दै ती दृश्यहरु क्यामेरामा कैद गर्न थालें |

सेताम्मे हिउँले ढाकिएर गिफु सहर साँच्चिकै मनमोहक देखिएको थियो,सेतो घुम्टो ओढेकी प्रभुकी ख्रीष्टियान बेहुलीजस्ती | आज नयाँ वर्षको दिन म मेरो प्यारा श्रीमान्,नोजुसँग गिफु सहरमा उनका आमाबालगायत अरु आफन्तसाथ नयाँ वर्ष मनाउन आएकी हुँ | मेरा नयाँ वर्ष नेपालमै त्यति हर्षोल्लास भएनन्,जति अहिले जापानमा भएको छ | अँ,म तिनीहरुलाई हिउँ खेलिरहेको देख्दा आफ्ना अतीतका स्मृतिका पाना एकपल्ट फेरि सर्सर्ती पल्टाउन थालें |

मेरा श्रीमान्,नोजु निसिजिमा,एक विशुद्ध जापानी नागरिक जो मेरो जीवनसाथी बन्लान् भन्ने मैले सपनामा पनि सायदै सोचेकी थिएँ, तर प्रभुको लीला पनि अचम्मै प्रकारको हुँदोरहेछ,उहाँले अचम्म तरिकाले मेरो जीवनमा यी स्वर्गदूत पठाईदिनुभो | म आफू असक्त हुनाको कारण जीवनसाथीको कल्पना गर्दिन थिएँ किनकि मलाई थाहा छ एउटा असक्त अपांगको जिन्दगी प्रायः एक्लै बित्छ तर समग्र असक्त-अपांगको जमातमा प्रभुको कृपाले म अति सौभाग्यशाली सावित भएँ | म राजाहरुका राजालाई हृदयदेखि नै कोटीकोटी धन्यवाद दिन्छु |

वि,सं.२०३५,असोज २२ मा पश्चिम नेपाल,चितवनको श्रद्धानगर गाविस-४ मा म जन्मिएकी हुँ | तीन दाजु र तीन दिदीपछिकी कान्छी छोरी हुँ | मेरी जन्म दिने आमा म सानै हुँदा दैवले चुँडेर लग्यो | बाबा र दाजुदिदीहरुको छत्र-छायाँमा म हुर्कंदै गएँ | सानै उमेरबाट नै जीवनका थुप्रै आंधी-बेहरीको सामना गरियो तर एउटा अर्को ठुलो आंधी मेरो जीवनमा आयो | त्यतिबेला म भर्खर १४ वर्षकी थिएँ अनि कक्षा-८ मा पढ्थें | त्यसबेला वनमा साथीहरुसँग गएको त्यो एकदिनमा मेरो जीवनको ठूलो भवितव्य घट्यो | म रुखको डालीमा आफ्ना खुट्टा राखेर हंसियाले दाउरा काट्दै थिएँ | मेरो खुट्टा चिप्लिएला भन्ने मलाई के थाहा ? तर त्यस्तै भयो,अकस्मात् म चिप्लिएँ अनि भुइँमा ड्याम्म बजारिएँ | त्यसपछि म बेहोश भएँ |

होश खुल्दा ममा केही बल थिएन,वरिपरी आफन्त-जनबाट घेरिएकी थिएँ | उनिहरु मलाई हेर्दै चिन्तित मुद्रामा कुरा गर्दै थिए | मैले कुरा बुझ्न सकिनँ किनकि मेरो सम्पूर्ण शरीर अथाह पीडामा थियो | म उठ्न खोजें तर सकिनँ,मुस्किलले ‘दिदी पानी !’ भनें अनि दिदीले मलाई पानी खुवाईदिईन् |

मैले सोचेकी थिएँ,रुखबाट लोटेर मलाई चोट लागेकोले म बिरामी भएर उठ्न नसकेकी हुँला तर होइन रहेछ,म जिन्दगीभरी ओच्छ्यानबाट उठ्नै नसक्ने गरी थलिएकी रहेछु | अनेक अस्पताल धाइयो,डाक्टरी उपचार गरियो तर केही सीप लागेन,अन्तमा डाक्टरले नै ‘अब जिन्दगीभरी सुत्नुबाहेक अर्को विकल्प छैन’ भनेर फर्काइदिए | त्यसबेला मलाई कस्तो अनुभव भयो होला? के तपाई कल्पना गर्न सक्नुहुन्छ ? रुखबाट लडेकोले मेरो मेरुदण्डको नशा थला परेछ जसले गर्दा मेरो कम्मरमुनिको भाग पटक्क नचल्ने भयो | यस किसिमको समस्याको उपचारचाहिं समग्र आधुनिक चिकित्सा प्रणालीमै छैन |

म फगत जिउँदो लाश भएकी थिएँ | आफू बाँच्नुको कुनै अर्थ नै देख्दिन थिएँ,दिनरात रुन्थें,दिदी,दाइ र बाबालाई ‘..म मर्छु भो,मलाई विष खुवाईदेओ..’ भन्थेँ तर मेरा प्रियजनहरुले मलाई मारेनन् | पछि पोखराको अपांग पुनःस्थापना केन्द्रबारे सुनेर मेरा प्रियाजनले मलाई त्यहाँ लगे | प्रभुमा समर्पित विदेशी दाताहरुले खोलेको त्यो संस्थामा आफूजस्तै एक मुठ्ठी सास र एक मुठ्ठी आशको भरमा बाँचिरहेका कैयौं व्यक्ति देखें,अनि मलाई लाग्यो कि ममात्र दुःखी छैन,अरु कति झन् मभन्दा पनि दुखी छन् | सबभन्दा बढी त्यो संस्थाले मलाई प्रभुलाई चिन्न मदत गर्यो अनि व्हिल्चियर प्रयोग गर्न सिकाई आत्मविश्वासका साथ जिउने प्रेरणा दियो | म प्रभुलाई धेरै धन्यवाद दिन्छु,प्रभुले मलाई यस्तै अवस्थामा पनि मैले थेग्नै नसक्ने आशिषले भरिदिनुभो जसलाई सम्झंदामात्र पनि मेरा आँखाबाट आँसुका धारा बग्छन् | खासमा म आफ्नै खुट्टाले हिंड्न सकिनँ,वा हिँड्न पाइनँ तर जहाँ-जहाँ सद्देहरु पनि पुग्न सकेका छैनन्,प्रभुको कृपाले म ती ठाउँहरुमा पुग्न सकेकी छु | म त पक्षघात-पिडित एक अबला नारी,मलाई जीवनभरि कसै न कसैको सहाराको खाँचो हुन्छ |मेरा प्रेमिलो प्रभु त्यो जान्नुहुन्छ | मलाई मेरा दिदीहरुले राम्रैसित स्याहार-सुसार गरेकै थिए | मैले जीवनसाथीको कल्पना गरेपनि प्रभुलाई कहिल्यै मागिनँ | तर नेपालीमा एउटा उखान छ नि,दैवले यस्तो भन्छन् रे-‘तँ चिता,म पुराउँछु’ | ठीक मेरो जीवनमा त्यस्तै चरितार्थ भएको छ,मैले चिताएँ मात्र तर मेरा प्रभुले आफै पुराउनुभयो |

नोजु निशिजिमा,एकपल्ट जापानबाट पोखरामा हाम्रो पुनःस्थापना केन्द्रमा आएका थिए | उहाँ फिजिओथेरापिस्ट,अझ अपांगहरुको सेवामा समर्पित एक अत्यन्त दयालु स्वयंसेवक,त्यहीं केन्द्रमै हाम्रो चिनजान,बोलीचाली भयो | सबै अपांगलाई हौसला दिने उनको बानी साह्रै राम्रो,उनी जापान गइसकेपछि पनि हामीबीच च्याटमा कुराकानी चल्दै गयो | नजाने ममा त्यस्तो के थियो कि उनले एकदिन मसित बिहेको प्रस्ताव नै राखे | अकस्मात् एउटा विदेशीले यस्तो प्रस्ताव राख्दा मलाई त सपना हो कि झैं लाग्यो,तर त्यो सपना थिएन,म दोधारमा परें,यो प्रस्ताव स्विकारूँ? कि नस्विकरुँ? मैले प्रभुलाई प्रार्थना गरें अनि केही बेरपछि मेरा प्रभुले मेरो कानमा फुस्फुसाउनुभो-‘ छोरी,तँ नोजुसँग जा,यसैमा तेरो भलाई छ..|’ मेरा प्रभुको जवाब पाएपछि मलाई अरु के चाहियो?मैले प्रभुमा पूर्ण विश्वास राखी  अघिपछि केही पनि नसोची पूर्ण स्विकृती दिएँ |

एक अशक्त नारीलाई जीवनसाथीको रुपमा स्विकार्ने हिम्मत कुनै महापुरुषमा मात्र हुन्छ जुन मैले भेटें,यो समस्त चराचर जगत नै यति आश्चर्यमा पर्यो कि दैनिक अखबारका पानामा पनि मेरो प्रेमबारे प्रमुख समाचार छापियो,ठूल्ठूला अक्षरमा लेखियो-‘भूगोलले छेकेन,मायालाई…|’ एउटा फरक भाषा र संस्कारका मान्छे उनी,तर ख्रीष्टमा त मैले उनलाई मेरै सोचें किनकि हामी जुनै कुनाको,जुनै भाषा र देशको किन नहोऔं,हामी सबै उनै एउटै परमेश्वरका सन्तान हौं |

सन् २०१०,जुलाई १५ को दिन मेरो जीवनको अविश्मरणीय दिन बन्न पुग्यो किनकि त्यस दिन म सेतो ख्रीष्टियान बेहुलीको परिधानमा सिँगारिएँ अनि साक्षात परमेश्वरलाई साक्षी मानी नोजुसँग पवित्र विवाह गरें | त्यो स्वर्णीम पलहरुलाई मैले आफ्नो हृदयमा सुनौला अक्षरले कोरेर जतनसाथ राखेकी छु |

हिउँ परेर सेताम्मे जापानको गिफु सहर साँच्चिकै ख्रिस्टियान बेहुलीझैं सुन्दर देखिएको थियो | आज म परमेश्वरमा एकदम खुशी छु किनकि उहाँले मलाई यही अवस्थामा नै एउटा सम्पूर्ण जिन्दगीको अनुभव दिनुभो |

साँझतिर हामी दुई दम्पति सबैलाई ‘सायोनारा’ भन्दै बिदाइको हात हल्लाएर आफ्नो गन्तव्यस्थल,साइतमा सहर फर्कियौं,मैलेचाहिं मनमनै रमाउँदै परमेश्वरलाई धन्यवाद दिइरहें,निरन्तर…|

[सायोनारा-जापानी भाषामा ‘फेरि भेटौंला’ ]

(समाप्त)

{द्रष्टव्य-प्रभुमा विश्वासी मेरी प्यारी दिदी सीता केसीको आत्मकथामा आधारित]

ARUNA CHHANTYAL

767 Views

मलाई मनपर्यो l (19)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

मेरो प्रेम…. (कथा) Reviewed by on . बिहानैदेखि हिउँ परिरहेको थियो,अहिले दिउँसो अलिकति घाम लाग्यो,घाम लाग्दा बाहिर गएर सेताम्मे हिउँ छुन पाउनु कति मज्जा हुन्छ | बिहानै हिउँ पर्दा मलाई बाहिर जान मन बिहानैदेखि हिउँ परिरहेको थियो,अहिले दिउँसो अलिकति घाम लाग्यो,घाम लाग्दा बाहिर गएर सेताम्मे हिउँ छुन पाउनु कति मज्जा हुन्छ | बिहानै हिउँ पर्दा मलाई बाहिर जान मन Rating: 0
scroll to top