Monday, April 23, 2018

परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भन्दा कसरि हाम्रो मण्डलीका पास्टर, सेवक, विश्वासीहरुले ताली बजाउन सकेका होलान् ?

October 7, 2014 4:29 pm by: Category: Articles A+ / A-

म केहि त्यस्ता इसाई अगुवाहरुलाई चिन्दछु, र धेरैपटक उहाँहरुलाई नियाल्ने मौका पनि पाएको छु । उहाँहरुले आफ्नो नाम र ओहोदाको निम्ति अनि आफुलाई संसारिक दृष्टिमा चर्चित गराउनको निम्ति, धेरै गोप्य दुष्टकर्म गर्नुभएको छ । हात्तीको देखाउने र चपाउने दुइ थरि दाँत भए झैं उहाँहरुका दुई रुपका कारण सोझासाझाहरु यति सजिलै भ्रममा पर्छन कसैले आफैलाई चपाएर अरुले आफ्नो खोक्रो भुडी भरिराखेका पनि पत्तो पाउँदैनन् । येशूसँग वादविवाद/आलोचना गर्न तम्सिने फरिसिहरु झैँ धार्मिक कुराहरु लिएर मण्डलीको ढोकामा उहाँहरू नै उभिनुहुन्छ ।

उहाँहरूले आफ्नो नाम र पदका निम्ति धेरै गरिसक्नुभएको छ । आज मानिसहरुले उहाँहरूको सेवक हृदयको नभई उहाँ अर्थात व्यक्तिको आदर गर्छन । उहाँको पद, सम्पन्नता, ठुला मानिसहरुसँगको उहाँहरुको हेलमेल देखेर मानिसहरुले उहाँहरुलाई आदर गर्छन । सोझाहरुलाई निल्न सक्ने घाटी अनि जमाउन सक्ने, नपचाई साँच्न सक्ने भुँडी देखेर । लुकेर खाने इमान्दारिता देखेर, हो धेरैले आज उहाँहरुका यस्तै बिशेषताका कारण आदर गर्छन ।

उहाँहरुले पाएको आदर, नाम, पदले गर्दा नै हो, आज धेरैजना इसाई विश्वासीहरु बेसहारा बिधवाझैँ भएकाछन। बिधवाको घरमा बलियो खामो हुँदैन । बढ्दै गरेको छोरा पनि हुँदैन । अर्कोसँग विवाह गर्ने आशा पनि हुदैन । एकदम थोरै आशा भएको । संसारमा सबैभन्दा बढी बेसहारा सायद बिधवाहरुनै हुन्छन् ।

तपाईं र म यस्तो दुनियामा छौं जहाँ हाम्रा प्रचारक, सेवकहरु नै घमण्ड गर्दछन् । उनीहरु मन्चमा उभिन्छन् l TV मा आउछन् l ठिक फिल्मको स्टारहरू जस्तै । अनि उनीहरु आफ्नो बरदान, र प्रचारका कुराहरुलाई लिएर घमण्ड गर्न थाल्छन् । एकदम भावनामा डुबेर कुरा गर्छन् ।

हामी यस्ता प्रचारक र सेवकहरु देखी हामी होशियार रहनुपर्दछ । नत्रता हाम्रो दुलाहाको अगाडी नै हामीलाई साँच्चैको बिधवा नै बनाउनेछन् । सायद आज हामी कतिजना बिधवा झैँ नै छौँ र मोटाहरुले हाम्रो बिश्वासको केन्द्रलाई लुछेर हड्डी मात्र छोड्न खोजेकाछन् । हामी सावधान रहनुपर्छ । मोटाहरुले सिंगो जगत नै हात पारे पनि हामी चाँही आत्मा नगुमाउने विश्वासलाई पक्रेर बाँचौ ।

येशूले भन्नुभयो: यदि कोहि मेरो पछी आउन चाहन्छ भने त्यसले आफैलाई इन्कार गरोस् । यसको मतलव हामी आफैले आफैलाई म होइन भन्नसक्नुपर्छ । हरेक दिन त्यसले आफ्नो इच्छाहरुलाई त्यागोस् –इन्कार गरोस् । आफ्नो क्रुस उठाओस् र आफु-आफ्नै निम्ति मरोस् । त्यो इच्छा, अभिलाषाहरुको निम्ति मरोस् जुन हाम्रो शरीर भित्र छ, र हरसमय बाहिर आउन खोज्दछ ।

तर आजको हाम्रो इसाई जीवन र सेवकपनमा यस्तो जीवन जिउने मानिस कहाँ भेटिएला र ? हाम्रा गोठालाहरुनै खोल्सामा हराएका भेडाहरुको कुनै पर्वाह गर्दैनन् । तपाइँ र मलाई ज्योतिमा हिड्न मद्दत गर्नुपर्नेहरुको आँखा आत्मिकपन प्रति धमिलो भएको छ ।

कसो गरेर हुन्छ पद चाहिन्छ, नाम चाहिन्छ, आजसम्म नकमाएको इज्जत चाहिन्छ । हुँदाहुँदै आजकल त, उहाँहरुलाई नेताहरुसँगको संगति पनि चाहिन्छ ।

बाइबल कलेज उद्घाटन, मण्डली उद्घाटन, चंगाई कार्यक्रम, इस्टर, क्रिसमस, र बिशाल जागृति सभाहरुमा मैले धेरैचोटी सहभागी हुने अवसर पाएको छु । आजकलको गोठालाहरुलाई यी कार्यक्रम, सभाहरुमा कुनै पार्टीको नेता, सभासद, अर्थात् सिनेमा कलाकार नभई हुदैन । नाम चाहिन्छ, अनि नाम भएको मान्छेको उपस्थिति चाहिन्छ उहाँहरुलाई । बिस्तारै; अब गोठालोलाई भेडा चराउन लट्ठी नभएर बन्दूक चहिएला ।

आज हाम्रो बिचमा धेरै जना यस्ता पास्टर, सेवक, इसाईहरु छन्; जो ठुला नेता, सभासद, र ठुला ओहदाको मानिसहरु चाहन्छन् । ठुला मासहरुमा तिनीहरुलाई निम्तो दिएर परमेश्वरको उपस्थितिलाई बिटुलो पार्छन् । यी सेवक भनाउँदाहरुले बाइबललाई खाइसकेकाछन् । ठिक र बेठिक, गर्नहुने र नहुने कुराहरु सबैमा यिनीहरुले राम्रो ज्ञान पाएका छन् । तर पनि उनीहरुले गर्ने कामहरुमा कुनै पार्टीको नेता, सभासद, फिल्मी कलाकार भएन भने उनीहरुलाई आफ्नो पदको ताकत घटेको महशुस हुनेरहेछ । त्यसैले बाइबल कलेज उद्घाटन होस् या मण्डली उद्घाटन, चंगाई कार्यक्रम, इस्टर, क्रिसमस, र बिशाल जागृति सभाहरुमा होस्, कुनै न कुनै नेता, सभासद, फिल्मी कलाकार एकजना त चाहिन्छ, चाहिन्छ । नत्रता त्यो संगतिमा परमेश्वरको उपस्थिति नभएको अनुभव हुन्छ आयोजकहरूलाई । उहाँहरुलाई अर्को परमेश्वरको उपस्थिति चाहिन्छ त्यहाँ ।

मण्डलीको सोझा इसाईहरुले जब सभा-सम्मेलनमा बाहिरबाट आएका नेता, कुनै पार्टीका सदस्यहरुलाई देख्छन्; तब के सोच्छन् ? उनीहरूले सोच्न थाल्छन्: वा …वा … हाम्रो पास्टरले पनि ठुला मानिसहरुलाई चिनेका रहेछन् । हाम्रो चर्चमा त नेताहरु पनि आउछन् ।

म तपाईंलाई एउटा सभाको बारेमा बताउन चाहन्छु । काठमाडौँमा भएको एउटा ठुलो जागृति सम्मेलनमा एकजना सभासद्लाई बोलाएका रहेछन् । म पनि त्यहाँ थिए, म सानो शरीरको फुच्चे मान्छे पछाडी बसेर घाटी लम्काउँदै हेर्दै थिएँ । त्यत्तिकैमा आदरणीय पास्टरज्यूले निकै चर्को स्वरमा प्रवचन दिदै उपस्थित सभासद्को गुणगान गाउन थाल्नुभयो । तपाईं आइदिनुभयो, हाम्रो कार्यक्रमको शोभा बढाईदिनुभयो । धन्यबाद नेता जी ।उपस्थित भीडले चर्को ताली बजायो । त्यसबखत सभासदभन्दा पनि हाम्रा पाष्टरहरु निकै हर्षित खुशी मुद्रामा देखिनुहुन्थ्यो ।

अब सम्मेलनको शोभा बढाई दिनुहुने सभासद नेताज्यूलाई मन्तव्य राख्न त केहि समय दिनु नै पर्यो । सभासद पुल्पिटमा आएर भर्खरै सिकेको सम्भवत: नयाँ शब्द उचारण गर्दै सबैलाई जयमसिह भन्छन् ! अहो…त्यहाँ यस्तो ताली बज्यो कि स्वर्गीय दूतहरु नै घोडा चढेर पृथ्वीमा आउदैछन् कि भन्ने भ्रम पर्नालाग्यो । अनि सभासदले भन्न थाले मलाई यहाँ निम्त्याउनु भएको लागि धन्यबाद । आखिर इश्वर एकै हुन् । बाटोहरु अलग हुन् । परमेश्वरकहाँ जानका निम्ति धेरै बाटोहरु छन् । यो तपाईंहरुको इसाई बिश्वास पनि त्यो बाटोहरु मध्येको एक हो, म तपाईंहरुको धर्मलाई आदर गर्छु । यत्तिकैमा उहाँको मन्तव्य सकियो ।

जीवनको एकमात्र बाटो येशू मात्र हुनुहुन्छ भन्ने हाम्रो बिश्वास हो । तर त्यहि पुलपिटमा चढेर कोहि व्यक्तिले परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भन्दा कसरि हाम्रो मण्डलीका पास्टर, सेवक, विश्वासीहरुले ताली बजाउन सकेका होलान् ? अन्धकारमा पुर्याउने धेरै बाटोहरुको उपदेश सुन्नको निम्ति किन नेता, सभासद, र संसारिक ओहोदामा भएका मानिसहरुलाई मण्डलीका कार्यक्रमहरूको निम्ति निम्तो दिइन्छ ?
के तपाईं यो कल्पना गर्न सक्नुहुन्छ कि परमेश्वरकहाँ पुग्ने बाटाहरु धेरै छन् भनिएको ठाउँमा येशू प्रभुको उपस्थिति रहिरहन्छ भनेर ? तपाईं र मैले आराधना गर्ने ठाउँमा आएर कसैले परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भन्दै गर्दा हाम्रो विश्वासले कसलाई महिमा दिएको मानिन्छ? हामीले बजाएको तालीले कसको स्वागत र बढाई गरिरहेको छ ?

येशुले प्रचार गर्नुहुदा, हेरोद अनि पिलातस जस्ता शासकहरुलाई आएर प्रवचन सुनिदिनुहोस् भनेर आमन्त्रण गर्नुभएन । मैले बाइबलमा कहिकतै पनि, संसारिक ओहोदाका मान्छेलाई मण्डलीको शीरमा राखेर सेवकहरुले प्रचार गरेको देखेको छैन । अरुहरूलाई मण्डलीको उदघाटन दिनुहोस् भनेर अनुरोध गरेको कतै भेटाएको छैन । तर आज हाम्रो मण्डलीभित्र, इसाईहरुको मात्र सहभागी हुने मासमा, को हो, तिनीहरु जसलाई हाम्रो पाष्टरहरुले साथी बनाएर ल्याएकाछन् र हामीलाई परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भनेर सुनाइरहेछन् ।

हिजोसम्म पुरानै तरिकाले हामीलाई झुक्याएर गोठालोले हाम्रो रौँ बेचेका थिए ।आफुलाई न्यानो हुने कम्बल हाम्रै रौं बाट बनाएर ओढेका थिए यद्यपि हामीले ख्रीष्टको प्रेममा सबै कुरालाई ढाकेर प्रार्थना र प्रेममा सहँदै आयौं । तर आजको वर्तमान समयमा आफ्नो नामको निम्ति, मानिसहरुमा परिचित हुनको निम्ति अगुवाहरूले पुल्पिट नै बेच्न थालेका छन् ।

महान परमेश्वरको आराधना हुने ठाउँमा, परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भनेर भाषण गर्न हामी किन दिने ? परमेश्वरको उपस्थितिलाई हामी किन अपमान गर्ने ? ढुंगा र आत्माको भक्ति एकै ठाउँमा कसरि हुनसक्छ ? के नेताहरु नभए हाम्रो संगतिको अर्थ हुदैन हो ? हाम्रो सभाहरु पवित्र र अर्थपूर्ण हुन नेताहरुलाई उपस्थित गराउनै पर्छ हो ?

हाम्रो इसाई विश्वासलाई कसले पुर्न खोज्दै छ ? थाहा गर्नुहोस् ।

कतिजनाले भन्छन, यो उनीहरुलाई सुसमाचार सुनाउने राम्रो मौका हो । मैले पुल्पिटमा भाषण गर्ने नेताहरुले इसाई विश्वासलाई स्वीकार गरेको आजसम्म देखेको छैन । बरु टाढा ढोकामा उभिएर सुन्ने सर्बसाधारणले प्रभूलाई स्वीकार गरेका छन् । नेताहरु, अनि सभासदहरूलाई विभिन्न कार्यक्रम, उद्घाटनमा निम्त्याउनु भनेको हामीले आउने पिढिको लागि एउटा गलत परम्परा सुम्पनु हो जसमा उनीहरु सबैले पनि परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भन्ने कुरा सधै सुन्नुपर्नेछ ।

म यसमा हाम्रो बुद्धिजिबी विश्वासी, पाष्टर, अगुवाहरुको कमजोरी देख्छु । इसाई परिवार भित्र कै बृद्ध मानिसहरुद्वारा कार्यक्रम, नयाँ मण्डली, बाइबल स्कुल, सभा-सम्मेलनहरु उद्घाटन गर्न सकिन्न र । मण्डली भित्र किन चाहियो नेता ? तपाईको चर्चा-परिचर्चामा अलिकति बल थप्न ? अझैं बढी परिचित, लोकप्रिय हुन?

मण्डली सदस्यहरुलाई बाइबल अनुसार जिउनु पर्छ भनेर सिकाउनेले अबाइबलीय मानिसलाई, हाम्रो बिश्वास र आस्थालाई नबुझेको मानिसलाई के आधारमा पुल्पिट छोएर बोल्न दिने ? सिमित अगुवाजनहरूको स्वार्थको निम्ति नै यी कुरा भएका होइनन् र ?

मैले ७ बर्ष बिदेशमा बस्दा कहिल्ये पनि त्यहाको पास्टरले सरकारी ओहोदामा भएको मानिसलाई ल्याएर बाइबल कलेज उद्घाटन, मण्डली उद्घाटन, चंगाई कार्यक्रम, इस्टर, क्रिसमस, र बिशाल जागृति सभाहरुमा तपाईको मतव्य राखेर शोभा बढाई दिनु भनेर भनेको सुनिन। सायद कहीं कतै भयो पनि होला । तर म आफैं सहभागी भएको थुप्रै कार्यक्रमहरूमा कहिल्यै त्यो सुनिएन ।


अन्त्यमा आम विश्वासीजनहरुमा यहि कुरा राख्न चाहन्छु ;
तपाईंले गृहमन्त्रीलाई चिन्नुभएको छैन । नेता, सभासदहरुलाई पनि चिन्नुभएको छैन । तर तपाइँले निराश हुनुपर्दैन। म पनि उनीहरुलाई चिन्दिन; तर म येशूलाई चिन्दछु । तपाईंले पनि येशूलाई चिन्नुभएको छ ।

हामीले यसरि भन्न सक्नुपर्छ: प्रभू म यस संसारको कुनैपनि महान व्यक्तिलाई चिन्दिन; जब म कुनै समस्यामा लडिरहेको हुन्छु कुनै पनि ठुला मानिसहरुले आएर मलाई सहायता गर्दैनन् । तर तपाईं येशूमात्र हुनुहुन्छ जसले मेरा हरेक परिस्थितिमा मलाई साथ दिनुहुने; मलाई सहायता गर्नुहुने। प्रभु धन्यवाद!

श्रवन बम्जन

 

 

59 Views

प्रतिक्रियाहरू

परमेश्वरकहाँ पुग्ने धेरै बाटोहरु छन् भन्दा कसरि हाम्रो मण्डलीका पास्टर, सेवक, विश्वासीहरुले ताली बजाउन सकेका होलान् ? Reviewed by on . म केहि त्यस्ता इसाई अगुवाहरुलाई चिन्दछु, र धेरैपटक उहाँहरुलाई नियाल्ने मौका पनि पाएको छु । उहाँहरुले आफ्नो नाम र ओहोदाको निम्ति अनि आफुलाई संसारिक दृष्टिमा चर्च म केहि त्यस्ता इसाई अगुवाहरुलाई चिन्दछु, र धेरैपटक उहाँहरुलाई नियाल्ने मौका पनि पाएको छु । उहाँहरुले आफ्नो नाम र ओहोदाको निम्ति अनि आफुलाई संसारिक दृष्टिमा चर्च Rating: 0
scroll to top