Wednesday, September 26, 2018

अमेरिकी म्यामको गवाही

October 26, 2014 12:21 pm by: Category: Testimonials A+ / A-

अमेरिकी म्याम ‘डेब्बी रूड’सित मेरो चिनजान भएको तीन वर्ष भयो | आजभन्दा तीन वर्षअगाडि उहाँ अमेरिकाको क्यालिफोर्निया राज्यबाट सुसमाचारीय सिलसिलामा नेपाल आउनुभो | नेपाल आएर थुप्रै चर्च र चोक-चोकमा गई आफ्नो गवाही बाँड्ने र ख्रिष्टसम्बन्धि स-साना पर्चा बाँड्ने गर्नुभो | त्यस्तै क्रममा उहाँ हाम्रो चर्चमा पनि आउनुभयो | उहाँले कसरी आफूलाई येशुले मृत्युको मुखबाट जोगाउनुभयो भन्ने कुरा सबैलाई बताउनुभएछ | मचाहिं घरमै बसेकी थिएँ,मेरा बाबा चर्च जानुभएको थियो | बाबाले म्यामलाई ‘मेरो छोरी अशक्त छ’ भन्नुभएछ अनि कुन्नि किन म्यामलाई त्यतिबेलै मलाई भेट्न मन लागेछ अनि उत्निखेरै ‘म भेट्न चाहन्छु’ भन्नुभएछ | अनि चर्चमा संगती सकिएपछि उहाँ बाबा,गुरुबा र अरु दाजुहरुसँग मेरो घर आउनुभयो | मङ्सिर महिनाको चिसोचिसो मौसम थियो,म र मेरो सानो भाइ सिरक ओढेर टिभी हेर्दै बसिरहेका थियौं | उहाँ आएपछि अलिकति भलाकुसारी,इमेल आदान-प्रदान अनि फोटो खिंचाई भयो | त्यसपछि इमेलबाट नै मैले उहाँको गवाही थाहा  पाएँ |

उहाँले स्कुले शिक्षा पूरा गरेपछि घर छाड्नुभयो रे (किनकि अमेरिकी चलन नै यस्तै छ),उहाँले एउटा राम्रो कम्पनीमा जागिर पाउनुभयो अनि एक्लै स्वतन्त्र र स्वावलम्बी जीवन जिउन थाल्नुभयो | उहाँको प्रिय बाबाले उहाँलाई जानेबेलामा एउटा कार किनिदिएका थिए रे अनि उहाँ त्यसमा रवाफिलो सफर सुरु गर्न थाल्नुभयो | अमेरिकी छाडा वा स्वतन्त्र समाज न हो,आम संसारिक मानिसजस्तै उहाँ आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्नुभयो | किनकि उहाँको परिवार पुर्खौंदेखि क्रिश्चियन नै थिए तर कालान्तरमा यहुदीहरुले परमेश्वरलाई भुलेझैं उहाँ र उहाँको परिवार पनि ख्रिष्टदेखि अनभिज्ञ रहेछन् | म्यामले मलाई भन्नुभो-‘बहिनी ! मेरो परिवारमा सबै विश्वासी हुन सकुन् भनेर प्रार्थना गरिदेउ ल’,त्यसपछि मैले विश्वासी र ख्रीष्टियनमा के फरक रहेछ,खुट्याउन सकें | प्रभुलाई उहाँले पाएपछि क्रमश: उहाँको बाजे, बज्यै अनि आमाले पनि ग्रहण गरे रे तर बाबा चाहिं अझै विश्वासी नभएकाले प्रार्थनामा सम्झिदेउ भन्नुहुन्छ |

अँ त, उहाँले प्रभुलाई कसरी चिन्नुभो त ? यसबाट आजको बरालिएको युवापुस्ताले धेरै गतिलो पाठ सिक्न सक्छ |अँ त, म्याम बाह्र कक्षाको औपचारिक शिक्षा पूरा गरी आफ्नो आमाबा बस्नेभन्दा अलि टाढाको शहरमा गई स्वावलम्बी भएर जिउन थाल्नुभो | आफ्ना आमाबा साथमा नहुँदा नै बरालिने सम्भावना हुन्छ र म्याम पनि त्यस्तै गरी बरालिनुभायो | उहाँ स्वतन्त्रताको भुमरीमा पिल्सेर अनेक पुरुषसित सम्बन्ध गाँस्न पुग्नुभयो,औपचारिक विवाह नभएपनि ‘लिव इन रिलेसनसिप’ मा उहाँका धेरै पति भए तर कोहीसित पनि उहाँको सम्बन्ध टिकेन | कहिले उहाँले ब्वाईफ्रेन्डलाई धोका दिने त,कहिले ब्वाईफ्रेन्डले उहाँलाई धोका दिने क्रम चलिरह्यो | अनगिन्ती रीस,डाह र असन्तुष्टिको शिकार हुनुभयो,तीबाट छुटकारा पाउन रक्सी,चुरोट र लागू पदार्थको दुर्व्यसनी हुनुभयो अनि त्यसैले गर्दा उहाँले कमाएको सम्पत्ति पनि स्वाहा पार्नुभयो | अझ अन्तमा पापको सजाय पाउनुभो अर्थात् उहाँलाई प्राणघातक रोग ‘एड्स’ भयो | बिरामी अवस्थामा आमाबाले उहाँको रेखदेख गरे | ती दिनमा उहाँ आफ्नो मृत्युको दिन पर्खंदै हुनुहुन्थ्यो किनकि डाक्टरले नै उहाँलाई ‘अबको १५ दिनमा तिमी मर्छौ’ भनिसकेथे | त्यसबेला ओच्छ्यानमा अशक्त भएर लडिरहँदा उहाँको मनमा धेरै कुरा खेले,पीडाले असह्य भएर निराशामा धेरै रोए तर त्यतिन्जेल पनि उहाँलाई परमेश्वरलाई पुकार्ने आएन |

उहाँ पहिला आवारा हुँदा जहिले पनि टिभीमा प्रख्यात प्रचारक ‘जोएस मेयर’बोलिरहेकी देख्नुहुन्थ्यो तर प्राय वास्ता गर्नुहुन्थेन,तुरुन्तै च्यानल बदल्नुहुन्थ्यो वा कहिले त रक्सी पिउँदै जोएस मेयरको गफ सुन्नुहुन्थ्यो रे तर एउटा कानले सुन्ने,अनि अर्को कानले उडाईहाल्नुहुन्थ्यो | तर बिरामी छंदा त्यसबखत टिभीका च्यानल फेरिरहँदा उहाले फेरि जोएस मेयरलाई देख्नुभयो,त्यसबेला चाहिं च्यानल फेर्न उहाँको औंला अघि बढेन अनि उहाँले सुनिरहनुभयो |

सुनिरहँदा,हेरिरहँदा जोएस मेयरले कर्के आँखाले हेर्दै भनिन्-‘के तपाई रोगी हुनुहुन्छ ? के तपाईले ख्रिष्टलाई चिन्नुभएको छ ? के तपाई मृत्युको नजिक पुग्नुभएको छ ?’ आदि यस्ता प्रश्न गर्दै घुरेर हेर्दा म्यामलाई साँच्चै आफैलाई नै हेरेकोजस्तो लाग्यो | त्यस प्रवचनमा जोएस मेयरले हामी सबले परमेश्वरलाई सम्झिन सिक्नुपर्छ भनेर सिकाईन् अनि म्यामले सोंच्नुभयो-‘साँच्चै,मैले त प्रभुलाई एकचोटी पनि सम्झेको छैन |’ अनि उहाँले त्यस्तो बिरामी अवस्थामै सुतेरै प्रार्थना गर्नुभयो | उहाँले ‘मलाई निको पारिदिनु’ भन्नुभएन तर ‘हुन सक्छ भने मेरो पाप पनि क्षमा गरिदिनोस्’ भन्नुभयो | पहिलोचोटी प्रार्थना गर्दा नै उहाँलाई एकदम नौलो अनुभव भयो साथै कता-कता आफ्नो शारिरिक पीडा पनि केही कम भएजस्तो भयो | त्यसपछि जोएस मेयरको प्रवचन नबिराइकन सुन्ने क्रम चलिरह्यो | बेला-बेलामा उहाँ अस्पताल गइरहनुहुन्थ्यो,एउटा राम्रो ख्रीष्टियन डाक्टर पनि प्रभुले जुटाइदिनुभयो जसले प्रभुमा विश्वास गरे एड्स पनि निको हुन सक्छ भनी हौसला दिए रे | त्यसछि म्यामलाई बाँच्ने आशा जाग्यो,उहाँ यसरी प्रार्थना गर्न थाल्नुभयो-‘प्रभु ! यदि तपाईले मेरो जीवनमा आश्चर्यकर्म गर्न चाहनुहुन्छ भने म मेरो बाँकी सारा जीवन तपाईको सेवामा समर्पित गर्नेछु |’बिस्तारै-बिस्तारै उहाँको स्वास्थ्य-स्थिति धेरै नै सुध्रियो,पुरानो डाक्टरले १५ दिनमा मर्छौ’ भनेपनि उहाँ मर्नुभएन,बरु झन् निको हुनुभयो | डाक्टरी उपचार पनि चल्दै गयो | पछि फेरि उहाँको रगतको नमुना जाँचियो तर त्यसबेला एकदम आश्चर्य नै भयो,अर्थात् उहाँको रगत एच.आई.भी. नेगेटिभ निस्क्यो | त्यसपछि उहाँ एकदम परमेश्वरप्रति धन्यवादी हुनुभयो अनि अब उहाँ ठाउँ-ठाउँमा,देश-विदेश घुमेर सबैलाई आफ्नो जीवन-गवाही बाँड्दै प्रभुको सुसमाचार फैल्याउने कार्यमा समर्पित हुनुहुन्छ |

हाल,उहाँ ५२ वर्षकी हुनुभयो,क्यालिफोर्निया राज्यमा आफ्नो आमाबा भएकै ठाउँमा बस्नुहुन्छ तर उहाँको घर भिन्दै रहेछ | यदाकदा आमाबालाई भेट्न जानुहुन्छ रे | उहाँले सुसमाचार सुनाएर बाजेले १०१ वर्षमा ख्रिष्टलाई ग्रहण गरेर १०२ वर्षमा स्वर्गे हुनुभयो रे,बज्यै र आमा पनि विश्वासी हुनुभयो रे तर बाबाचाहिं अझै विश्वासी भएका छैनन् जसको लागि प्रार्थना गरिदिन मलाई पनि आग्रह गर्नुहुन्छ | ‘तपाईले आफ्नो बाबालाई सुसमाचार सुनाउँदा के भन्नुहुन्छ नि ?’ भन्ने मेरो प्रश्नमा उहाँ भन्नुहुन्छ-‘बाबालाई मैले सुसमाचार नसुनाएको होइन,चर्च आउन,बाइबल पढ्न पनि भन्छु तर उहाँ “तँलाई परमेश्वरले राम्रो गरे,ठीकै छ नि तर मलाई तँझैँ धार्मिक बन्नु छैन” भन्नुहुन्छ | के गरूँ,मेरा बाबाले पनि चाँडै प्रभुलाई चिन्न सकुन् भनी प्रार्थना गरिदेउ ल |’ जवाबमा मैले पनि ‘प्रार्थनामा सम्झिदिने’ कुरा जाहेर गर्छु | उहाँको दुई भाइ छन्,जेठा अविश्वासी,कान्छा विश्वासी | जेठाको लागि पनि प्रार्थना गरिदिन भनिरहनुहुन्थ्यो | ती जेठाचाहिंले तीनवटा छोराछोरी धर्म-सन्तानका रुपमा पालेका रहेछन् तर पछि केही कारणवश: दुई दाम्पत्य जीवनमा बाधा उत्पन्न भएछ अनि म्यामले ‘मेरो जेठो भाइ साह्रै बरालिन लागेछ,कृपया प्रार्थना गरिदेउ’ भनी मसित दुखेसो पोख्नुभयो | हामीले प्रार्थना गरिरह्यौं,लामो समय उहाँको मेल आएन,पछि आयो | त्यसमा खुशीको खबर थियो,मलाई प्रार्थनाको लागि धन्यवाद दिंदै जेठो भाइ पनि प्रभुमा आउन सकेको खबर दिनुभयो | भाइ पारिवारिक तनावका कारण हृदयघातमा परेछन्,अस्पतालमा आई.सी.यू.मा हुँदा उहाँले नजिकै गएर भाइको निम्ति प्रार्थना गर्नुभयो रे,त्यसको केही समयपछि अचम्मै तरिकाले भाइ निको भयो रे अनि पछि त भाइ आफैले ‘दिदी,म पनि ख्रिष्टलाई ग्रहण गर्छु’ भने रे | म्यामले ‘अरुना,आज म अति खुशी छु,मेरो भाइले प्रभुलाई ग्रहण गरिसक्यो,अब केही समयपछि बप्तिस्माको तयारी हुँदैछ’ भन्नुभयो | मैले पनि प्रभुलाई धन्यवाद दिंदै मेल गरें-‘प्रिय म्याम ! खासगरी रोगि-दुखी हुनु त दुर्भाग्य होइन,सौभाग्य पो हो रहेछ | हेर्नुस् न,आज म पनि अशक्त नभएको भए साँचो परमेश्वरलाई कुनै रीतिले चिन्दिनथें,तपाईको भाइलाई रोग लाग्यो अनि बल्ल उसले प्रभुलाई चिन्यो | अन्तत:रोगी हुनु त कस्तो सौभाग्य हगी ?’ जवाबी मेलमा उहाँले पनि सहमति जनाउनुभयो-‘हो अरुना,रोग त परमेश्वरकै वरदान हो,म पनि एड्स रोगी नभएको भए,साँचो परमेश्वरलाई कहाँ चिन्थें र ?’

हाल ती भाइले बप्तिस्मा लिईसके | परार मेरो कान्छो भाइ प्रभुमा सुत्दा  म अति निराश भएकी थिएँ,त्यसबेला मनको पीडा पोख्न मिल्ने मेरो कोही विश्वासी मित्र पनि थिएन,त्यसबेला म्यामले मलाई धेरै नै हौसला दिनुभयो,उहाँको मेल पढ्दै खुशीको आँसु बगेको क्षण मसँग ताजै छ | अचेल त यदाकदा च्याटमै भेट हुन्छ | कहिले म हसाउँछु,कहिले उहाँ,कतै टाढा सुसमाचार सुनाउन जान लाग्दा ‘म माछा मार्न गएँ है’ भन्नुहुन्छ अनि आएपछि ‘म माछा मारी आएँ है,मैले छोपेको माछा भनूँ कस्तो थियो ?..कोही भुराजस्तो,कोही व्हेलजत्रो,कोही तालु-खुइले,कोही चीलजस्तो,हाहाहा..|’मैले एकपल्ट सोधें-‘म्याम,तपाई बिहे नगर्ने ?’ उहाँले भन्नुभयो-‘मैले जीवनमा धेरै खराब काम गरें,अब म बाँकी जीवन प्रभुकै सेवामा बिताउन चाहन्छु,यदि प्रभुको इच्छा भए म विवाह गर्छु,होइन भने मलाई यस्तै ठीक छ |’ अनि मैले ठट्टा गरें-‘म्याम,नेपालमा त छोरी अविवाहित हुन्जेल आमाबासँगै बस्छे,एक्लै बस्नुभन्दा तपाई पनि उतै बसे हुन्न ?’ अनि म्याम हाँस्नुभयो-‘कस्तो तिमी त ? म छक्क परें,अमेरिकामा त्यस्तो कहाँ हुन्छ र,हाहाहा..|’ कतिखेर हामी अमेरिकी जीवनशैलीबारे कुरा गर्छौं,उत्तर आधुनिकताका कारण अमेरिकीहरु धेरै बरालिएका देखी म्याम दुखी बन्नुहुन्छ,सकेसम्म उहाँ हरेक युवालाई प्रभुका वचन बाँडेर असल मार्ग देखाउने प्रयास गर्नुहुन्छ तर पनि अमेरिका अझै सुध्रिन सकेको छैन | प्रभुलाई नचिन्दा म गोरा र गोराको जीवनशैली देखेर छि:छि: मात्र भन्थें तर म्यामलाई चिनेपछि मलाई अमेरिकी र अमेरिका प्रिय लाग्न थालेको छ | म अमेरिकाको लागि पनि निरन्तर प्रार्थना गर्छु अनि तपाईहरुले पनि गर्नुहोला | प्रभूको राज्यमा धनी-गरिब,सानो-ठूलो,कालो-गोरो,सबैले समान अधिकार पाउँछ,यस्तै नीति अमेरिकाले लिएको छ,त्यसैले नै त्यहाँ संसारका मानिसलाई अवसर छ,तर यसको समुन्नतिको लागि हामी सबैको प्रार्थनाको खाँचो छ |

एकपल्ट म्यामको एउटा साथी बिरामी परिछन् | उनी विवाहित थिइन् | एउटा १० वर्षको सानो छोरो पनि रहेछ | उनको परिवार राम्रै चल्दै थियो तर विश्व-आर्थिक मन्दीको चपेटामा अमेरिका पेलिएकोले क्रमश: ती दम्पतीलाई पनि असर पर्यो तर कस्तो फितलो मानसिकता रहेछ तिनीहरुको,परिआएको कष्टलाई दुवैले मिलिजुली सामना गर्नु त कहाँ हो,झन् पारपाचुकेको मनस्थितिमा पो पुगेछन् | म्यामले मसित दुखेसो पोख्नुभयो-‘हेर् न मेरो साथीलाई उसको लोग्नेले डिभोर्स दियो,ऊ बिरामीले थला परेकी छ,एउटा सानो छोरो पनि छ,यस्तो अवस्थामा लोग्नेले छाडेर गयो | उनीहरुको घर छैन,यो आर्थिक मन्दीको कारण ऊ बेसहारा छे,अहिलेलाई मैले उनलाई मेरो घरमा आश्रय दिएकी छु | बिरामी साथीलाई र उसको छोरोलाई म हेर्दैछु | कृपया,तिम्रो प्रार्थनामा सम्झिदेउ ल | साथीले पनि भर्खर मात्र ख्रिष्टलाई ग्रहण गरेकी छ |’ म अवाक भएँ,सामान्यज्ञानमा ‘विश्वमा धेरै पारपाचुके हुने देश-अमेरिका’ भनी पढ्दा त्यसै हाँसो उठ्थ्यो | म्यामको मेल पाएपछि ती बरालिएका आत्माप्रति मलाई पनि गहिरिएर सोंच्न बाध्य तुल्यायो |

म्यामले दुःख व्यक्त गर्नुहुन्थ्यो-‘हाम्रो देशमा खालि पारपाचुकेको समस्या छ,म दुखी छु बैनी |’ मैले त्यहाँ सबै प्रभुको वचनमा अडिग भएर बन्धनमा स्थिर होउन् भनी कामना गरें तर उहाँको आफ्नै आमाबा चाहिं बन्धनमा स्थिर रहन सकेकोमा खुशी व्यक्त गरें | उहाँले पनि भन्नुभयो-‘हो मेरा आमाबाले ख्रिष्टलाई नचिने पनि एक-अर्काप्रति धेरै गाढा प्रेम राख्नुभो,जबकी उहाँसंगसंगै बिहे गरेकाहरु कतिको परिवार टुक्रिसक्यो,यहाँका बालकहरु धेरैले आमाबा दुवैको माया पाउन सकेका छैनन् |’आज यस्तै उत्तर आधुनिकतामा हाम्रो युवा-पुस्ता पनि पिल्सिदै छ जसलाई बेलैमा आत्मिक सन्देशको धेरै नै खाँचो छ | अन्तमा मेरी म्याम र उहाँको देशको लागि पनि प्रार्थना गरिदिनुहुन बिन्ती गर्दै यो लेख यहीं टुंग्याउँछु | धन्यवाद,जय मसिह |

Aruna Chhantyal

95 Views

प्रतिक्रियाहरू

अमेरिकी म्यामको गवाही Reviewed by on . अमेरिकी म्याम ‘डेब्बी रूड’सित मेरो चिनजान भएको तीन वर्ष भयो | आजभन्दा तीन वर्षअगाडि उहाँ अमेरिकाको क्यालिफोर्निया राज्यबाट सुसमाचारीय सिलसिलामा नेपाल आउनुभो | न अमेरिकी म्याम ‘डेब्बी रूड’सित मेरो चिनजान भएको तीन वर्ष भयो | आजभन्दा तीन वर्षअगाडि उहाँ अमेरिकाको क्यालिफोर्निया राज्यबाट सुसमाचारीय सिलसिलामा नेपाल आउनुभो | न Rating: 0
scroll to top