Monday, April 23, 2018

झाँक्री देखि क्रूससम्म – नर बहादुर तामाङ

January 19, 2015 2:56 pm by: Category: Testimonials A+ / A-

नेपालको एक पहाडी जिल्ला दोलखा, भुषाफेदा गा. वि. स. बडा नं. ६ मा २०१८ 10937821_938043089539053_1614504041_nसाउन १ गतेका दिन मेरो जन्म भएको हो। मेरो पनि बाल्यवस्था अरुहरुको झैं सामान्य रुपमा याने गाई-बस्तु, गोठको विविध काम र घाँस दाउरामा नै बित्यो। पढ्ने अवसर पाइन भन्दा कक्षा २ सम्म आमाको आँखा छलि छलि पाटी र खरी बोकी जसो तसो पढियो। म सानै हुँदा बुबाको मृत्यु भएको थियो। घरमा आमा र तीन भाई छोरा गरी चार जनाको परिवार थियो। दिदीहरुको बिहे भेसकेको थियो। म लगभग ८-१० वर्षको हुँदा मेरो जेठो दाजु घर छोडी पर्देश लाग्नुभएको थियो। हालसम्म पनि उहाँको अत्तो-पत्तो छैन। सानै देखि घर परिवारलाई हेर्नु पर्ने हुँदा बाल्यवस्थामा नै व्यवहारिक कार्यहरुको जिम्मेवारी बहन गर्ने बाध्यात्मक अवस्थाको सामना मैले गर्नु पर्योल। भीर पाखाको त्यही न्यानो काखमा खेल्दै, दगुर्दै, दु:ख-सुखसंग हातेमालो गर्दै युवावस्था निकै रमाइलोसंग बित्यो। नाँचगान, दोहोरी, हाटबजार, मारुनीनाच आदिका साथ मैले मोजमज्जामा बिताएँ। गाउन थाले पछि ३-४ रात गएको थाहा हुँदैनथ्यो। मारुनी नाचमा म गाउँकै अग्रस्थानमा थिएँ।

गाउँ-घरको चलन अनुसार गोठका वस्तुभाउ रुङनका लागि राति गोठमै सुत्नु पर्ने हुन्छ। २०२८ साल असार सम्भवत २८ गते नै हुनुपर्छ, म पनि सदाझै गोठमा सुत्न गएँ। करिब ११ बजेको थियो, म सुतिरहेको ठाउँमा एक्कासी एक जना सानो प्राणी, देख्दा मान्छे जस्तो तरै पनि छायाँ जस्तो मसँगै सुत्यो। त्यसको शरीर निकै चिसो थियो। ३/४ दिनसम्म त्यो छायाँ वा मान्छे त्यसरी नै आउने र मसँग सुत्ने गरिरह्यो। गोठमा त्यसरी आउँदा कहिलेकाहिँ त्यसले आगो फुक्ने कार्य पनि गर्थ्यो। पाचौं दिनमा त्यस छायाँले मलाई साथमा सँगै लिएर गयो। मलाई थाहा भयो कि त्यो छायाँ अरु केही नभएर बन-झाँक्री थियो। त्यसले १७ दिनसम्म त्यसको ठाउँमा राखी मलाई प्रशिक्षण दियो। त्यस बन झाँक्रीको बासस्थान मेरो घरबाट लगभग ३ कि.मि. टाढा निकै डरलाग्दो भिर हुदै बग्ने खोलाको डरलाग्दो छाँगो मुनि रहेको तलाउ माथि थियो। घटना वास्तविक थियो जसलाई म स्वयंले अनुभूति गरेको थियो। त्यस बन झाँक्रीले मलाई १७ सम्म त्यही तलाउमाथिको पहराको डरलाग्दो चेपमा राखी आफ्ना तन्त्रमन्त्रहरु र अन्य धेरै कुराहरु सिकायो। त्यस छाँगामुनि सानो काठको फलेक थियो। मलाई त्यस फलेकमाथिबाट पारी लगिन्थ्यो। लैजाने क्रममा कहिले काहिँ मलाई फलेकको वीचैमा छोडिन्थ्यो। अनि मेरो सातोपुत्लो जान्थ्यो। त्यो अग्लो डरलाग्दो छाँगोमुनिको तलाउमा खसी मरिने डरले म अत्तालिन्थें। तर झट्टै बनझाँक्रीले मलाई समाति हाल्थ्यो। पारी लगेपछि मलाई मन्त्रहरु सिकाइन्थ्यो। कहिलेकाहिँ बनझाँक्रीले मलाई छोडेर जान्त्थ्यो। त्यस मौकामा बनझाँक्रिनी आएर मलाई जिस्काउँथ्यो। तर एउटा निश्चित घेरा नाघेर भने त्यो आउन सक्दैनथ्यो। त्यो हेर्दा रौं नै रौंले ढाकिएको होची होची कदको थियो। मलाई खाना पनि दिन्थ्यो। खाना हतकेलाको पछाडी राखी दिन्थ्यो। खाएजस्तो, अघाएजस्तो लाग्थ्यो।

मेरो घर र गाउँमा भने मेरो ब्यापक खोजी भएछ। अनि १७ दिन पछि बन-झाँक्रीले मलाई जुन ठाँउबाट लगेको थियो त्यही ठाउँमा ल्याइदियो। म केही दिन लाटो भईरहें। मानिसहरु मलाई थुप्रै प्रश्नहरु राख्दा रहेछन्। म बने केवल कापिंरहँदो रहेछु। अनि मानिसहरुले मलाई बनझाँक्रीले लगेको कुरा पत्ता लगाए। त्यही समय देखि मैले बन झाँक्रीको एक चेलाको रुपमा काम गर्नथालें। बिस्तारै- बिस्तारै झारफुकको काममा आफनो गाउँमा मात्र नभई अरु धेरै गाउँ र गाविसहरुमा समेत मेरो नामको चर्चा बढ्न गयो।

त्यो समयमा मेरो बौद्विक र आर्थिक स्थितिमा सुधारा आयो। गाउँको अल्लारे केटाहरुको म नेतृत्व गर्थें। मेरो समुहलाई जांडरक्सी खानमा कसैले पनि सक्दैनथे। मेरो बानी चाहिँ नराम्रो थियो। जसले मलाई जांडरक्सी खुवाउथ्यो त्यसैसंग मेरो झगडा पर्थ्यो। ताल पर्योट भने मुक्का मुक्की पनि परिहाल्थ्यो। गाउँमा अनेकौं राम्रा-नराम्रा कामहरु गर्दै मेरो जीवन अगाडी बढ्दै थियो। झाँक्री कामको सिलसिलामा मैले १२ वटा गुफा बसेको थिएँ। गुफा बस्ने क्रममा गाँउका झाँक्रीहरु बस्न नसकेको ठाउँहरुमा उनीहरुको योजनालाई बनझाँक्रीको निर्देशन अनुसार तोड्दै, आफ्नो स्थान बनाउँदै, गाउँका पहिल्यैदेखि नाम चलेको बुढा बुढा झाँक्रीलाई कायल बनाई उनीहरुको गुरुको रुपमा आफूलाई स्थापित गर्न सफल भएँ। बनझाँक्रीकै सहायताले मैले धेरै बिरामीहरुका साथै पशुहरुलाई एक मुठ्ठी माटो फ्याँकेको भरमा निको पार्थें। सायद भदौको १७ गते मैले आफ्नै हातले धूपवत्ती पनि खाएँ। त्यो वनझाँक्रीसँग भूमीको माटोले निको पार्ने वाचा पनि गरें। गाँउमा कसैले पनि निको पार्न नसकेका एकदम गम्भिर अवस्थाका विरामीहरुलाई त्यही वाचाका आधारमा माटोले फुकेर निको पारी दिन्थें। एकजना महिला जसलाई उसको परिवारले नै आश मारेको थियो र उनको परिवारले विरामीलाई मेरो जिम्मेवारीमा सुम्पिदियो। करिब साढें २ महिना पछि उनी सन्चो भई र उसको परिवारले दुहुनो भैंसी धन्यवादसहित मलाई उपहार दिएका थिए। यसरी धेरै नै कार्यहरु गर्दै अघि बढ्ने क्रममा मभित्र एक अहम् भावनाको जन्म भयो। गुरु थाप्दा सबैले परमेश्वरी, परमेश्वरी भन्दै मलाई सम्बोधन गर्दा एकाएक मनमा आफु नै परमेश्वर भएको र सर्वश्रेष्ठ रहेको मनोभाव बढ्थ्यो। आफैमा भएको धमण्डपूर्ण महशुस गरी म नै परमेश्वर रहेछु, र त अरुले मलाई परमेश्वर भन्दै छन् भन्ने लाग्थ्यो।

यसरी शैतानिक शक्तिको आडमा मैले लुसिफरले जस्तै अहमतारुपी पाप परमेश्वर विरुद्व गर्दै गएँ। तर परमेश्वर त येशू ख्रीष्ट हुनुहुन्छ जो साँचो अनि सत्य हुनुहुन्छ। उहाँ नै पापीहरुको मुक्तिदाता हुनुहुन्छ, यो कुरा बुझाउन हाम्रो सृष्टिकर्ता परमेश्वर जो राजाहरुको राजा, प्रभुहरुको प्रभु, जसले हामी मानिस जातिमा कृपा गर्नु भई आज भन्दा लगभग २००० वर्ष अधि हाम्रो पापहरु बोक्न यस संसारमा आउनु भयो र मारिनु भयो र तेस्रो दिनमा बौरिउठ्नु भयो। उहाँ जिवितै रुपमा स्वर्गमा उचालिनुभयो र अहिले पिताको दाहिने बाहुलीमा हुनुहुन्छ, उहाँले ममाथि कृपा गर्नुभयो।

कुरा लगभग २०५७ सालको हो। मेरो माइलो छोरा (सुसन लामा) एक्कासी विरामी भयो। पेट सम्बन्धि विरामी। छोराको अवस्था झन् झन् गम्भिर हुदैँ गयो तर म गाउँको सबैभन्दा ठुलो जान्ने अरुलाई त निको पार्थे तर आफ्नै छोरालाई काख लिई हेरिरहनुको विकल्प थिएन। आफूले बनझाँक्रीसँग पाएको ज्ञान, तन्त्रमन्त्र प्रयोग गरेँ तर केहि उत्तर आएन। त्यति बेला मेरो बसाई काठमाण्डौमा नै थियो। त्यसैले काठमाण्डौ उपत्यकाको सबै हस्पिटल धाएँ केही सिप लागेन। धेरै जान्नेहरुकहाँ लगेँ तर २/३ दिनभन्दा निको पार्न सकेनन्। काठमाण्डौ, ललितपुर र भक्तपुर साथै बनेपामा कुन मन्दिरमा कुन मुर्ति कस्तो छ? भन्ने कुरा मलाई सोध्नुस्। यसरी सबैतिर धाएँ उपाय केही पनि निस्केन। परमेश्वर आफ्ना जनहरुलाई उहाँकै इच्छानुसार चुन्नुहुन्छ, केवल हामीमा विश्वास हुनुपर्योा भन्ने कुराको एक प्रमाण म हुँ। विगत सांसारिक रमझममा साथी रहनु भएका तर अहिले ख्रीष्टको दूत बनेर प्रकाश थापा दाईले मलाई भेट्नु भयो। मैले आफ्नो छोराको विषयमा बताएँ र प्रकाश दाईले छोराको अवस्था हेर्नु भयो र त्यही समयमा प्रार्थना गरिदिनु भयो। तपाई विश्वास मात्र गर्नुस् परमेश्वरले तपाईको छोरालाई निको पार्न सक्नुहुन्छ भन्नुभयो र मैले निर्णय लिएँ र शनिबार चर्च लगेँ। मैले छोरालाई जुनसुकै मन्दिरमा लैजाँदा पनि जताततै मुर्तिहरु हुन्थ्यो तर चर्चमा त कहि थिएन। अहिले थाहा पाउँदा पाष्टर अनि अगुवाहरु हुनुहुदों रहेछ, उहाँहरुले मेरो छोराको निम्ति प्रार्थना गरिदिनु भयो र परमेश्वरले प्रार्थना सुनिदिनुभयो र अहिले म लगायत मेरो छोरी बाहेक सबै ख्रीष्टमा छौँ। म परमेश्वरलाई धन्यवाद चढाउन चहान्छु कि म जस्तो पापी अधर्मी, तन्त्रमन्त्र गर्ने अनि आफुलाई परमेश्वरको स्थानमा दाँज्न खोज्ने तुच्छ मान्छेलाई जो नरकको भागीदार थिएँ, आज स्वर्गमा बस्नुहुने परमेश्वर आफैंसँग रहनलाई मेरो पापहरुबाट बचाउनु भयो। मलाई अन्धकारबाट ज्योतीमा ल्याउनुभयो। ममा अहिले पूर्णत: शान्ति छ। तपाईहरुलाई पनि परमेश्वरको शान्तिभित्र प्रवेश गर्न र पापबाट पश्चताप गरि ख्रीष्ट मुक्ति पाउन आव्हान गर्दछु। यस संसार हाम्रो स्थायी घर हैन। संसारमा शैतानको शक्ति रहेको छ र यसले हामीलाई परमेश्वरको प्रेमदेखि अलग राख्न खोज्छ। निर्णय तपाईको हो अन्धकारलाई रोज्नुहुन्छ कि ज्योतीमा आउनुहुन्छ? नरक, कष्टका ज्वालाको भट्टीमा जान चाहनुहुन्छ? रोजाई तपाईको!

परमेश्वर भन्नुहुन्छ,हे सबै परिश्रम गर्ने र भारीले दबिएका हो, मकहाँ आओ, अनि म तिमीहरुलाई विश्राम दिनेछु, मेरो जुवा आफूमाथि राख र मबाट सिक, किनकि म नम्र र ह्रदयमा दीन छु; अनि तिमीहरुले आ-आफ्नो मनमा विश्राम पाउनेछौ किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ, मत्ती ११:२८-३०।


त्यसैले स्वर्गीय आनन्द पापबाट क्षमा मात्र केवल येशूमा छ। विश्वास गर्नुस् र पापबाट मुक्त हुनुहोस्। सर्वशक्तिमान परमेश्वर प्रेमी हुनुहुन्छ र उहाँले तपाईहरुलाई पनि आफ्नो प्रेममा बोलाउँदै हुनुहुन्छ। ढिला हुन अघि नै पश्चताप गरि ख्रीष्टमा फर्कनुहोस्। उहाँमा मात्र जीवन छ परमेश्वरको आशिष हामी सबैमा रहोस्। आमेन!

नर बहादुर तामाङ
Ebenezer Baptish Church,
Koteshwor- Kathmandu

781 Views

प्रतिक्रियाहरू

झाँक्री देखि क्रूससम्म – नर बहादुर तामाङ Reviewed by on . नेपालको एक पहाडी जिल्ला दोलखा, भुषाफेदा गा. वि. स. बडा नं. ६ मा २०१८ साउन १ गतेका दिन मेरो जन्म भएको हो। मेरो पनि बाल्यवस्था अरुहरुको झैं सामान्य रुपमा याने गाई नेपालको एक पहाडी जिल्ला दोलखा, भुषाफेदा गा. वि. स. बडा नं. ६ मा २०१८ साउन १ गतेका दिन मेरो जन्म भएको हो। मेरो पनि बाल्यवस्था अरुहरुको झैं सामान्य रुपमा याने गाई Rating: 0
scroll to top