Monday, April 23, 2018

के हामी साँच्चै एकता चाहान्छाै ? – डेविड लिम्बु

January 21, 2015 3:55 pm by: Category: Articles A+ / A-
10947625_601607146605706_223758843_n

– डेविड लिम्बु, बहराईन

एकता (Unity) : हाम्रो हरेक क्षेत्रमा आवस्यक छ  परिवार, समाज, मण्डली, व्यापार बिजनेस, राष्ट्रमा ‘बिना एकता’ अगाडी बढ्न कल्पना पनि गर्न सकिन्न , झन् हामी इसाईहरु त एकता बिना कसरि यस संसारमा रहन सकिएला ? तर बिडम्बमा, आज इसाई हरु माँझ मण्डली वा परिवारमा एकता एकदम न्यून पाइन्छ , र मैले यहि एकताको बिषयलाई थोरै भएपनि उठाउन खोजिरहेको छु, एकताको बारेमा स्पष्ट हुनको लागि पबित्र बाइबलको खण्ड (कलस्सी ३:१-१४) बाट हेरौंन ।

१.यदि तिमीहरु ख्रीष्टसंग जीई उठाईएका छौं भने माथिका कुराहरु खोजि गर, जहाँ ख्रीष्ट हुनुहुन्छ ।
२.तिमीहरुका संसारिक चाल चलन र स्वभाव त्याग ।
३. नयां स्वभाव धारण गर ।
४. कसैमा भेद भाव नगर..
५. ख्रीष्ट येशु सबैमा समान हुनुहुन्छ ।
६.एक अर्कालाई क्षमा गर्ने गर जसरि प्रभुले तिमीहरुलाई क्षमा गर्नुभएको छ ।
७.प्रेम धारण गर जसले सबैलाई एकतामा बाध्छ ।
हामीलाई यी पबित्र बाइबलको खण्ड (कलस्सी ३:१-१४) बाट स्पस्ट भैसकेको छ, एकतामा रहनको लागि हामी कहाँ चुक्छौँ ? र हाम्रा चुनौती हरु के – कस्ता छन, त्यसबारे थोरै बिश्लेष्ण गरौँ ।

पश्चतापी र क्षमाको हृदय:- यहि प्रसंगमा म एउटा घटना प्रस्तुत गर्दछु, एक दिनको कुराहो संगतिको सबै कार्यक्रम पछी २ जना विश्वासी बीच अति सामान्य कुरामा विवाद भयो, र मण्डलीका अगुवाहरु तथा सबै विश्वासी मित्रहरुले ति २ जना विवाद गर्ने विश्वासी हरुलाई एकार्कामा क्षमा दिई लिई मिल्न (एकतामा रहन) पहल भयो, त्यसमा म पनि सामेल थिए र २ जनामा एकजना आफुले कसैको मन दुखाउने कार्य गरेको भए आफु माफी माग्न तयार रहेको भनि व्यक्त गरे र उ तयार भयो तर अर्को भने आफ्नो ओहोदाको कारण यसरि क्षमा दिनु र माफी माग्नु शरमको कुरा हुने बताए, जसको कारण २ जनाको अति सामान्य बिबादको घटना मिल्न सकेन, त्यसको केहि समयपछि बिस्तारै संगतिमा र परिवारमा त्यसको असर देखिन थाल्यो र कुनै व्यक्ति एक अर्कामा भेट बार्ता गरे शंका उपशंका गर्ने, कुरा काट्ने र मोर्चा बन्दिमा लागे भनेर आरोप लगाउन पनि पछि नपर्ने स्थिति आयो, यस्तो कार्यले मण्डलीमा हुने क्रमिक क्रियाकलापमा कत्ति असर पर्दो रहेछ भन्ने मैले महसुस गरेको छु , यो त एउटा उदाहरण मात्रै हो, यस्ता धेरै क्रियाकलाप , पुरानो स्वभाव र ख्रीष्ट लाइ पूर्ण रुपमा धारण गर्न नसकेको कारण हाम्रो इसाई गतिबिधि पारदर्शी हुँदैनन् । त्यसकारण हामी, शान्ति, प्रेम र एकताको पक्षमा वकालत गर्ने हामी इसाईहरु संग नै अरुले गर्ने कत्तिपय प्रश्नको जवाफ हुँदैन ।

समस्या र चुनौतिको थुप्रो:- अहिले हालको परिपेक्षमा इसाईहरुको अगाडी समस्या र चुनौतिको थुप्रो माथि थुप्रो हाम्रो अगाडी खडा भएको छ, यस चुनौतिलाइ पार गर्न र समस्यालाइ हल गर्न परमेश्वर माथि भरोशा, इसाईहरु बीच एकता नभई सम्भव छैन, कति जना इसाई भएको कारण घर, समाजबाट निकालिएका छन, अहिले त देशबाट पनि निकाल्ने तरखर हुँदैछ ! कति जना इसाईहरु चरम शोषण, खेदो, निन्दा, गरिबी, अभाव र अशिक्षा, चेतनाको अभाव र बिभिन्न सुबिधा बाट बन्चित भएर जानु परिरहेको छ ! के यी इसाईहरुलाइ कसैको सहयता चाहिन्दैना ? के बाइबलले आराधना मात्र गर्न सिकाउछ? के बाइबलले व्यक्तिगत परिबर्तन, व्यक्ति बिकाश, समाज परिबर्तन, राष्ट्र बिकाशको बारेमा सिकाउदैन र ? अरुलाई प्रेम गर्न सिकाउदैन? यदि! यस्तो कार्यमा हामीले ख्रीष्टलाइ धारण नगरी, हाम्रो एकता बिना के सम्भव होला ? हामी इसाई समुदाय एकछिन मनन गरौँ कतै हरायौ कि ? आज हामीलाई ढोंगी अगुवाको शिक्षा चाहिएको छैन, हामीलाई त स्थापित गर्ने स्थिर शिक्षा दिने अगुवा चाहिएको छ, जसको शिक्षाले त्यो समाजमा गएर सच्चा ख्रीष्टको अनुयायी भएर एकतामा, प्रेममा र परमेश्वरको भरपुरिमा गर्वले जिउन र प्रस्तुत हुन सिकाउछ ।

ढोंगी, घमण्डी, लोभ र इमान्दारीता:- यो ढोंगी, घमण्डी र लोभी स्वभाव पनि आज इसाईत्वमा बाधा दिने मानवीय आचरण हो, आजका कत्तिपय इसाई समाजमा बुज्रुक, शिक्षित, सक्षम भनौदा इसाईहरुले, दुर्बल इसाईहरुलाई धेरै ठाउमा वेवास्ता, उपेक्षा गरेको पाइन्छ । हामीलाई अरुको निम्ति सहयोग र असल शिक्षक बनेर सेवा गर्न मन लाग्दैन, जसरि पनि हामी अग्र स्थानमा चर्चा हुने ठाउमा पुग्ने ध्याउनमा मात्र हामी लागि पर्छौ, हामीलाई कसैको वास्ता हुँदैन । नत! आफु भन्दा सिनियरको नत! आफु भन्दा जुनियरको ? चर्चा बटुल्ने कार्यमा र आफ्नो निहित स्वार्थको लागि हामी आँखा नहेरी हाम्फाल्न मात्र तत्पर रहन्छौं । केहि दिन अगाडी ‘हायविदेश मोह’ शिर्षकको लेखमा लेखकले धेरै वास्तविकता उजागर गरेका थिए, जसमा कसरि ख्रीष्टको राज्य विस्तार र ख्रीष्टका अनुयायीहरुको (देखावटी) गोठाला गर्ने ठेक्का (एल्डर वा पास्टर) बन्ने अनि थप “Theology” को रुपमा उच्च शिक्षा हाशिल गर्ने बहानामा कसैबाट (Scholarship) जुटाएर विदेश हुइकिने अनि २, ४ महिना पढेको वहाना बनाउने अनि भागेर उतै स्थापित हुने त्यो एउटा ट्रेन्डनै बसेको रैछ, यस्तो मलाई थाहा थिएन तर यो ‘हायविदेश मोह’ लेख पढेर भने म निकै स्तब्ध भए ।

एकदिन म एकजना विश्वासी दाइलाई भेट्न उहाँको रुममा गएको थिए, त्यो दाई संगै अ-इसाई साथी बस्दो रैछ, उनि संग पनि औपचारिक वार्तालाव भयो त्यहि क्रम आफुलाई इसाईत्वबारे धेरै जानकारी भएको कुरा मलाई बताए, म संग भएका बाइबल सम्बन्धि अडियो गवाही, भिडियो र तेस्तै केहि सामग्री म संग साथै त्यो विश्वासी दाई संग पनि लियो, अनि आफुलाइ ख्रीष्टयानीटी प्रति निकै रुचि भएको भन्दै कुराकानी लाई अगाडी बढाए, आफ्नो घर छेउमा एउटा चर्च भएको र त्यहाका पास्टरले चर्चको नाममा ब्यापक रकम संकलन गरि चर्चको नाममा जग्गा, जमिन जोडी अन्तत त्यो सबै जग्गा, चर्चनै हडपी आफ्नो नाममा बनाएका थिए र त्यहाँ संगति ठप्प भएको थियो र ती चर्चमा सेवकाई गर्ने धेरै विश्वासीहरु रनभुल्लमा परेका थिए, त्यसकारण बाइबल प्रति थोरै बिश्वास भएपनि इसाईहरु प्रति भने पट्टक्कै बिश्वास नरहेको भनि हामीहरु माझ ती अ-इसाईले आफ्नो विचार पोखे र अरु विश्वासीहरु बाट पनि त्यस्तै बाइबलिय सामग्री हरु त्यो साथीले संकलन गर्ने गर्दोरहेछ र साथमा अध्ययन गरि अरु व्यक्ति संग बाइबलमा चाही यस्तो लेखेको छ, तिमीहरुको आचरण चाही किन त्यस्तो (बाइबलको शिक्षा) भन्दा फरक ? भनेर प्रश्न गर्ने गर्दो रहेछ । अब हामी आफै विचार गरौँ, हामी इसाईहरुको इमान्दारिता प्रति कति धेरै प्रश्न रहेछ ?

चेतना र परिपक्व शिक्षाको अभाव:- प्राय गरि मण्डलीको पुल्पीटबाट हुने सेवकाईलाइ मात्र हामी साच्चो आराधना र परमेश्वरको सेवकाई ठान्दछौं र मण्डलीको पुल्पीटबाट गर्जेर बचन बाड्दा हामी आफुलाई साच्चै आत्मिकी, झन्डै – झन्डै, येशु ख्रीष्टकै दाजोमै आफुलाई धर्मी र योग्य भनेर उभ्याउन पनि पछि पर्दैनौ, कतै-कतै त सम्प्रदायलाई निकै महत्व साथ मण्डलीमा घोकाईन्छ, जुन शिक्षाको असरले हाम्रै ख्रीष्टियन दाजुभाई, दिदि बहिनीहरुलाइ अधार्मिक, तुच्छ नजरले हामी देख्न थाल्छौ ।

त्यसकारण होला, मण्डलीको ब्यबस्थापन, नीतिनियम, रुपान्तरण र बिकाशमा खासै ध्यान जादैन, कसैको असल कार्य वा असल व्यक्तित्वहरुलाई चिन्न सक्दैनौ, तत्पश्चात उनीहरु पलायन हुन् बाध्य हुन्छन, आज ति असल व्यक्तित्वहरुलाई सहि ठाउमा प्रयोग गर्न सकेको खण्डमा तिनीहरुले मण्डलीमा ठुलो योगदान पुर्याउन सक्छन र परमेश्वरको राज्य विस्तारमा हामी संगै सहयात्री बन्न सक्नेछन । र हालको माहोल यस्तो हुन थाल्यो कि ! हामी कति सम्म धर्मी भए भन्ने घमण्डले गाँजेको छ भने, विगतको कुरा हो, एकजना दास आफ्नो मण्डलीको निम्ति उपबासमा बसिरहेका थिए, त्यतिखेर उनि अलिक निस्क्रिय भएका थिए, केहि हुलनै उनीहरु माथि खन्निये, कत्ति त् उनको खोइरो खन्नमै आफ्नो समय व्यतित गर्थे । हामी कति सम्म भने अलिकति सकारात्मक पाटो बाट हेर्ने बानी या अभ्यासनै छैन यसरि नकारात्मक पक्ष र ढोंगीपनलाइ मात्रै विकास गर्दै जानेहो भने पक्कै एकदिन हाम्रो सेवकाई, आराधना केवल! हिन्दुहरुको झैँ धेरै-धेरै दान दक्षिणा, पुजा पाठ , तिर्थ, वर्त , धाम गएर धर्म कमाए, धर्मी भए भनेर घमण्ड गरेजस्तै हुने कुरामा कुनै शंका छैन ।

हामी कतिपय अवस्थामा धेरै मानिसहरुलाई सु-समाचार सुनाए भनेर नाक निकै ठुलो पार्छौ तर अब उनीहरु प्रतिको जिम्मेवारी लिने चै कसले ? यसबारेमा अलिकति सोचौं । ती ख्रीष्टमा आएको, चिनेको कारण घर, परिवार, समाजमा निलम्बनमा पर्ने त होइनन, उनीहरुको दाम्पत्य जीवन टुक्रिने त होइन ? उनीहरुलाई स्थापित र स्थिर हुने खालको शिक्षाको जरुरत छ कि छैन ? उनीहरुको ब्यतिगत विकास र उनीहरुलाई गोठाला गर्नु वा वास्ता गर्नु कति आवस्यक छ ? एक जना नयां विश्वासीले भन्दै थिए प्रभु नपाउदा र बप्तिस्मा नलीइन्जेल रात दिन फोन गरेर-गरेर हैरान पार्थे बप्तिस्मा लिई सकेपछि त कसैले पनि एक कल फोन गर्दैन, आफ्नो हालखबर सोद्धैन । यी त भए नयां, जो हामी संगै संगति गर्दै गरेका पुराना विश्वासी भाई, बहिनिहरु छन, जो अबिबाहित छन् , कतिपयको पाको उमेर सम्म पनि वर, वधु मिल्न सकेको छैन, कतिपयको घर भत्किएको छ, दाम्पत्य जीवन टुक्रिएको छ, आफैसंग भएका बच्चाहरु हुर्काउन, बढाउन र पढाउन बिदेशमा सघर्षरत छन् , कसैलाई इसाई भएको कारण घर निकाला गरिएको छ ! कहिले उनीहरुको वास्ता र भविस्यको चिन्ता तपाइलेहरुले गर्नु भएको छ ? कहिले ढाडस दिनुभएको छ वा उनीहरुलाई कुनै त्यस्तो परामर्स वा सल्लाह दिनुभएको छ ? भविस्यमा उनीहरुले कसरि सहजताको मार्ग अवलम्बन गर्नेछन ? तपाइले त्यस्तो के योजना बनाउनु भा छ, आफु संग भएका स्रोत र साधन लाइ आफ्नो बथानको निम्ति ? मेरो प्रश्न, ती आफुलाई येशुकै हाराहारीमा धर्मी र योग्य भनेर मण्डलीको पुल्पीट बाट कुर्लनेहरुलाई ।

सधै एउटा कुरा याद गर्नुस, जवसम्म । मण्डली र अगुवाले कुनै विश्वासी वा आफ्नो भेडाहरु प्रति आफ्नोपन वा अभिभावकको भूमिका निर्वाह गर्न सक्दैनन् र आफ्नोपनको भावना बिकाश गर्न सक्दैनन् तब सम्म तपाइले अपेक्षा गरे अनुसार कुनै पनि सहयोग, दशांस वा सेवकाईको अभाव सधै खड्कीनै रहने छ ।

समग्रमा: पुरातन सोच, विचार, बिकृति र विसंगतिलाइ चिर्दै ख्रीष्टलाइ धारण गरि बाइबलको शिक्षा मुताविक सकारात्मक र स्थिर भई प्रेम, मेलमिलाप र एकतामा रही धीरज साथ परमेश्वरको राज्य विस्तार गर्नको लागि सबै चुनाैतीलाई पन्साउदै अघि बढ्ने प्रयत्न गरौँ, किनकि ‘एकता’ बिना यो सबै कार्य गर्न असम्भव छ । त्यसैले एकतामा सधैं रहौं भन्ने कामना गर्दै, आफ्नो लेखलाई यहि बिट मार्न चाहन्छु । (हिब्रु १२:५)

धन्यबाद !
(यो लेख, लेखकको व्यक्तिगत धारणा हो ।)

 

156 Views

प्रतिक्रियाहरू

के हामी साँच्चै एकता चाहान्छाै ? – डेविड लिम्बु Reviewed by on . [caption id="attachment_988" align="alignright" width="210"] - डेविड लिम्बु, बहराईन[/caption] एकता (Unity) : हाम्रो हरेक क्षेत्रमा आवस्यक छ  परिवार, समाज, मण्डल [caption id="attachment_988" align="alignright" width="210"] - डेविड लिम्बु, बहराईन[/caption] एकता (Unity) : हाम्रो हरेक क्षेत्रमा आवस्यक छ  परिवार, समाज, मण्डल Rating: 0
scroll to top